१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

मध्यरातमा खोसिएको खुसी

दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा साउन १७ गते राति गएको पहिरोमा हराएका १८ वर्षीय निसान खड्काको परिवार र घर। तस्बिर: रमेश/नागरिक

जुँगु (दोलखा) - छोराको मृत्यु संस्कार (काजकिरिया) सकिने दिन मंगलबार अबेरसम्म पनि उनीहरूको घरमा सान्त्वना दिन आउनेहरुको आउजाउ चलिरहेको छ।  एकतले घरको आँगन भएर आफन्त इष्टमित्र ओहोरदोहोर गरिरहेका थिए।  संस्कार र रित त पूरा भयो।  तर नियतिले ठगेको यो परिवारमा साउन १७ गते मध्यरातले मुटु नै निचोरिने नमीठो पीडा दिएर गएको छ।  त्यो बज्रपातपछि परिवारका प्रायः सदस्यका आँखा अहिलेसम्म ओभाएका छैनन्।

दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगु गाउँको माझगाउँका ३५ वर्षीया लोकेन्द्रप्रकाश खड्काको एकतले घरमा त्यो दिन मध्यरातमा चुँडिएको खुसी फर्किन्छ कि भन्ने आशाले परिवारका सदस्य अझै बेलाबेलामा झस्किन्छन्।  तर गाउँको च्याँसेघारीबाट ठाडो जुँगुखोलो हुँदै वरपरको क्षेत्रसमेत तानेर तामाकोसी नदीमा लगेर मिसाइदिएको पहिरोमा हराएका लोकेन्द्रप्रकाशका १८ वर्षीया जेठा छोरा निसान नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्दा लोकेन्द्रले आफूलाई संसारकै अभागी बाबु ठाने।  मुटु निचोरियो।  मन कैयौं टनले थिचेजस्तो भारी भएर आयो।  जीवनमा १८ वर्ष हुर्काएको आफ्नो जेठो छोराबारे बुनेका अनेकन् सपना पनि कुशको शवसँगै पखालिदिएर फर्किए उनी।  त्यो घटनाले लोकेन्द्र क्षणभरमै भक्कानिन्छन्।  उनको गला अवरुद्ध भएर आउँछ।

साउन १७ गते राति करिब ११ बजे।  लोकेन्द्रको जेठो छोरो निसानले मस्त निद्रामा रहेका बुबालाई बोलाए।  लोकेन्द्रको फोन नउठेपछि छोराको मोबाइलमा फोन आएको रहेछ।  तल्लो घरबाट काकाकी छोरी ईश्वरीले गरेकी रहिछिन्।  ‘जुँगु खोलामा बाढी आएर बस फसेछ, कान्छो बुबा पनि बसभित्रै हुनुहुन्छ रे, तुरुन्त उद्धार गर्न जानुप-यो,’ ईश्वरीको फोन संवादलगत्तै उनी जुरुक्क उठे।  छोरो निसान बाबुको पछिपछि लागे।  तल्लो घरमा पुगेर तेजबहादुर खड्का, कमल जिरेलसहितलाई बोलाए।  माझगाउँबाट डोरी, नाम्लो बोकेर सातजना बस फसेको जुँगुखोलातर्फ लागे।

चरिकोटबाट नाम्दु, क्षेत्रपा हुँदै जुँगु आउँदै गरेको बस जुँगुखोलाको बाढीमा बेलुकी ८ बजेदेखि नै फसेको थियो।  खोलामा पानी बढेर बसको हेडलाइटका माथिल्लो भागसम्म डुबेका कारण बस खोलाको बीच भागमै अड्किएको थियो।  भित्र रहेका १५ जनाजति यात्रु चिच्याइरहेका थिए।  बस फसेको स्थान पुग्न अर्को सानो खोलो पार गर्नुपथ्र्यो।  त्यसमा समेत बाढी आएका कारण निसान, तेजबहादुर र कमल डोरीको सहायताले बल्ल बल्ला पारी तरे।  खोलो बढेकाले लोकेन्द्रसहितका गाउँले खोलाभन्दा वारी माझगाउँ तर्फै अडिए।

  निसान, तेजबहादुर र कमल त्यहाँ सानो खोलो त तरे त्यहाँबाट बस फसेको ठूलो खोलातर्फ अगाडि बढ्नै सकेनन्।  बसको आधा भाग डुबिसेको थियो।  बाढी आएकाले जान सक्ने अवस्थै थिएन।  उनीहरूसमेत त्यही रोकिए।  केही बेरपछि छिमेकी गाउँबाट मगाइएको डोजर आइपुग्यो।  डोजरको सहायताले बस र यात्रुको उद्धार हुँदा रातको करिब १ बज्यो।  बस र यात्रु बस आएको स्थानतर्फै फर्काएर उद्धार गरियो।

मुसलधारे वर्षा झन् बढ्दै थियो।  निसान, तेजबहादुर र कमल दुईवटा खोलाको बीचमा फसे।  उनीहरू चिच्याउँदै थिए।  खोलाको आवाज बढ्दै गएका कारण स्वर सुनिँदैनथ्यो।  त्यो मध्यरातमा केही बेरपछि पहाड नै उर्लिएजस्तो आवाज सुनियो।  आवाजसँगै पहाडका ठूला ढुंगाहरू पल्टिएर जमिन हल्लिँदै कराएको आवाजले लोकेन्द्रको होस उडाइदियो।  उनी खेतमा बसे।

च्याँसेघारीबाट सुरु भएको पहिरो जुँगु खोला वरपर काट्दै बाढी तामाकोसीसम्मै पुगेको थियो।  बीचमा फसेका कमल तुरुन्तै सम्पर्कमा आए।  पहिरोले २० मिटर तल फालिका तेजबहादुरलाई बिहान ४ बजे सकुशल निकालियो।  तर १८ वर्षीया निशान भेटिएनन्।  जमिन हल्लीएर सिङै गाउँ थर्काएर गएको पहिरोपछि गाउँमा भागाभाग चल्यो।  ज्यान जोगाउन भागेका माथ्लो गाउँका जगतबहादुर खत्री पनि पुरिए।  झगडे टोलका १३ घर भत्किए।  हेर्दाहेर्दै मध्यरातको त्यो विपत्तिले सिंगै जुँगुगाउँ उजाडियो।

१८ गते बिहान देखी हराइरहेका निसान र जगतबहादुरको खोजी सुरु भयो।  सांसद जिपछिरिङ लामा र छिमेकी वैत्येश्वर गाउँपालिकाले पठाइदिएको दुईवटा डोजरले पाँच दिनसम्म खोजी निरन्तर राख्यो।  नेपाली सेनाको तालिमप्राप्त कुकुरसहितको टोलीले दुवैलाई सात दिन खोज्यो।  तर तामाकोसीसम्मै पुगेर मिसिएको त्यो ठाडो पहिरोमा उनीहरू भेटिएनन्।

निसान पहिरोमा परेपछि परिवारभित्र रुवाबासी छ।  आमा कल्पनाका आँखा १३ दिनदेखि ओभाना छैनन्।  निसानको कान्छो भाइ निर्मल दाजुको सम्झनामा रोएको रोयै छ।  चारजनाको यो सुन्दर परिवारमा खोसिएको खुसी फर्किने आशा मरिसकेको छ।  निशानका बाबु लोकेन्द्र स्थानीय नीलकण्ठेश्वर माविका सरकारी शिक्षक हुन्।  लोकेन्द्रका अनुसार प्लस टु सकेर जुनियर कम्प्युटर असिस्टेन्ट पढेको छोरो साह्रै तेजिलो थियो।  गाउँमै ठुलो सहकारीमा कम्प्युटर नेटवर्किङको काम गरिरहेको थियो।  ‘त्यो मध्यरातको विपत्तिले मेरो एउटा खुसी खोसेर लग्यो,’ लोकेन्द्रले भक्कानिँदै भने, ‘यस्तो विपत्ति कसैलाई नपरोस्। ’

प्रकाशित: ३० श्रावण २०७६ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App