coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्मदिन मनाएरै चल्छ विद्यालय

पाल्पा– तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए। कोही कुर्सीमा थिए। कोही भूइँमै लडिरहेका थिए। कसैको हातमा किताब थियो। कसैसँग कपी। कसैले बल खेलाइरहेका थिए।

कसैले गोटी गन्दै थिए। कसैले मम्मिको काखमा लडिबुडी खेलिरहेको दृश्य निकै मर्मस्पर्धी थियो। धेरै मानिसहरूका जन्मदिन मनाउने आ–आफ्नै तरिका हुन्छन्। जन्मदिन मनाउँदा धर्म हुन्छ भन्ने विश्वास एकातर्फ छ भने अर्कोतर्फ जन्मदिनको दिन सामाजिक काम गर्नुलाई आत्मसन्तुष्टिसँग पनि जोडेर हेर्ने गरिन्छ।

सामान्यतः विद्यालय सञ्चालनका लागि सरकारले ठूलो लगानी गरेको हुन्छ। कतै लगानीकर्ताहरूले विद्यालयका लागि लगानी गरी संस्थागत विद्यालय चलाएका छन्। तर, जिल्ला सदरमुकाम तानसेन नगरपालिका–२, मेहलधारामा रहेको समुदायमा आधारित पुनस्र्थापना केन्द्र (सिबिआर) ले जन्मदिन मनाएरै विद्यालय चलाउँदै आएको छ। बिहीबार (साउन २३ गते) वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको जन्मदिन। उनले साथीभाइसँग रमाइलो गर्न छाडेर अपाङ्गता भएका विद्यार्थीको विद्यालयमा जन्मदिन मनाएका छन्। अपाङ्गता भएका विद्यार्थीहरूको पढाईका लागि केही खर्च प्रदान गर्ने, फलफूल तथा लड्डु बाँडेर बस्यालले आफ्नो जन्मदिन मनाए।

उनी मात्र यहाँ जन्मदिन मनाउने पात्र होइनन्। नारायण युवा क्लबका सचिव प्रविणराज शाक्य पनि जन्मदिन मनाउन सिबिआरको विद्यालयमा आएका थिए। उनले पनि त्यसै गरेर आफ्नो जन्मदिन मनाएर फर्किए। 

तानसेन नगरपालिका क्षेत्रमा धेरै बालबालिका अपाङ्गता भएकै कारण विद्यालय जाँदैनन्। आफूजस्तै साथीहरू आफ्नै आँगनको बाटो भएर विद्यालय ओहोरदोहोर गरेको टुलुटुलु हेरेर बस्नु उनको दिनचर्या जस्तै भइसकेको छ। अरूले जस्तै विद्यालय गएर पढ्ने मन भए पनि चिन्तित भएर घरमै रहनु बाहेक अर्को विकल्प छैन, उनीहरूसँग।

यस्तै बालबालिकाहरूलाई ध्यानमा राखेर अहिले जन्मदिनमा खर्च हुने रकम छुट्याएरै जेसीजको पहलमा सिबिआरमा विद्यालय सञ्चालनमा आएको छ। २०७५ सालदेखि सञ्चालनमा आएको विद्यालयमा अहिले १० जना विद्यार्थी अध्ययनरत छन्। तर, विद्यालय जन्मदिन मनाउनेहरूको सदासयतामा सञ्चालन हुँदै आएको छ। मस्तिष्क पक्षघात भएका विद्यार्थीहरूको पढाइ हुने फरक किसिमको विद्यालय आफूहरूले सञ्चालनमा ल्याएको विद्यालयको व्यवस्थापन गरिरहेका कृष्ण गहतराज बताए।

‘बहिरा, दृष्टिविहीन तथा सामान्य सुष्त मनस्थितिका बालबच्चाहरूका लागि नेपाल सरकारले पनि विद्यालय सञ्चालन गराउँदै आएको छ। विशेष गरी मस्तिष्क पक्षघात तथा न्युरोलोजिकल अन्य समस्या भएका बच्चाहरूका लागि कसैले ध्यान पु-याएको छैन,’ गहतराजले भने, ‘जो जीवनभर आफ्नो खुट्टाले टेकेर हिँड्न सक्दैनन्। आफैं सबै निर्णय गर्न नसक्ने छन्। पढेर १, २ कक्षा पास गर्न सक्दैनन् ती विद्यार्थीहरूलाई हेरेर हामीले यो विद्यालय सञ्चालनमा ल्याएका हौं।’

तानसेन बजारभित्र मात्र ३६ जना विद्यार्थी विद्यालयबाहिर छन्। स्रोत अभावमा हामीले ल्याउन नसकेको व्यवस्थापक गहतराजले बताए। ‘विद्यालय अहिले जन्मदिन मनाएरै चलेको छ, कसैले आएर अक्षयकोष राखिदिनुहुन्छ,’ उनले भने, ‘कसैले के दिनुहुन्छ, त्यसैको भरमा छौं।’

विद्यालयका अध्यक्ष राजेन्द्रमुनि शाक्यले सबैको सहयोग र साथ मिलेमा अपाङ्गता भएका बालबालिकाहरूलाई प्रभावकारी ढङ्गले व्यवस्थापन गर्दै जाने बताए।

अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक अपाङ्गता, दृष्टिविहीन अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण–दृष्टिविहीन अपाङ्गता, स्वर–बोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता र बहुअपाङ्गता गरी ७ प्रकारमा वर्गीकरण गरिएको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App