१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कहिले बन्छ निकोसेराको सडक

भक्तपुर - मध्यपुर थिमी निकोसेरा पुग्नेबित्तिकै सबैको मनमा एउटा प्रश्न उठ्छ, कहिले बन्छ होला यो सडक ? भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी पुग्ने निकोसेराको मूल सडकको केही भाग बिग्रेको एक दुई मात्र होइन वर्षौं भइसकेको छ।

फरकिलो यो सडकको निकोसेरा खण्डको करिब एक सय मिटर चौडाइको बाटोको हाल भनिसक्नुको छैन।  सल्लाघारी पुरानो थिमी पुग्ने सडकमा लोभलाग्दो गरी फराकिलो पिच भए पनि सडकको निकोसेरा खण्डमा भने आवतजावत गर्न ठूलै महामारी हुने गरेको छ।

निकोसेरा खण्डको सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्।  खाल्डोयुक्त सो सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।  अधिकतर समय सडकका खाल्डो पानीले भरिएको हुन्छ।  सो खाल्डे सडक भएर जाने ठूल्ठूला सवारीले जमेको हिलो पानी हुत्याउँदा सडक छेउका जनता हैरान छन्।  सो सडकको वारिपारिका पसले बिग्रेको सडकले गर्दा साह्रै नै सास्ती भएको बताउँछन्।  स्थानीय पुण्यराम द्यौवञ्जारले सडक बिग्रेपछि हैरान भएको बताए।  बाटोमा ठूलो गाडी आउने बेलामा पसलसम्म पानी आउने उनले बताए।  मान्छेहरु आवतजावत गर्न पनि समस्या भएको उनी बताउँछन्।  पहिला भए असार साउनमा मात्र पानी जम्ने गथ्र्यो अहिले बाह्रै महिना पानी जम्ने गरेको उनले सुनाए।

सडकमा जहिले पनि पानी जमिरहने भएकाले सडक बिग्रेको हो।  जहिले पनि पाइपलाइन फुटेर चुहावट हुँदा पानी जमिरहने भएकाले सडक बिग्रेको स्थानीय बताउँछन्।  स्थानीयका अनुसार सो सडक वर्षमा दुईतीन जहिल्यै मर्मत हुने गरेको छ।  अहिलेसम्म सो सडक दर्जनौं पटक बनाइसकिएको छ।  सडक मर्मतमा हालसम्म लाखौं रुपैया पनि खर्च भइसकेको पनि बताइएको छ।  जति नै खर्च भए पनि सडकको अवस्था भने जस्ताको तस्तै छ।

निकोसेरा सडक खण्ड भक्तपुर–काठमाडौं आउजाउ गर्न अरनिको राजमार्गको वैकल्पिक सडक हो।  अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आउजाउ गर्न यो एउटै मात्र वैकल्पिक बाटो हो।  सल्लाघारीबाट नयाँ ठिमी गठ्ठाघर, कौशलटार, लोकन्थली, जडीबुटी चोक भएर अरनिको राजमार्गबाट काठमाडौं पुग्न सकिन्छ भने सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी पेप्सीकोला हुँदै जडीबुटी चोक भएर यो वैकल्पिक मार्गमार्फत काठमाडौं पुगिन्छ।  यो सडक महत्वपूर्ण भएर पनि सम्बन्धित निकायले निर्माणमा बेवास्ता गर्दा स्थानीय आक्रोशित छन्।  वर्षैभरि सडक बनाएर कमिसन खानका लागि सडक राम्रोसँग नबनाइएको स्थानीयको आरोप छ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ मा पर्ने निकोसेर खण्डको सडक बिग्रनुको कारण पानी व्यवस्थापन र ढल व्यवस्थापन गर्दा भएको गल्तीले भएको वडाअध्यक्ष रामकाजी चक्रधरले बताए।  उनले मुख्य सडकको रुपमा रहेको यो सडक फराकिलो गरी राम्रोसँग पिच गर्ने क्रममा पानी व्यवस्थापन र ढल व्यवस्थापन नहुँदा चार वर्षदेखि यो समस्या आइपरेको बताए।  पिचभन्दा मुनीको सतहबाट जहिले पनि पानी निस्कने भएर यो समस्या आएको उनले बताए।  ढलसहितको पानीको निकास मिलाएर सडक मर्मत गर्न सडक विभाग लागिरहेको उनले बताए।  अब पहिलाजस्तो फेरि सडक नबिग्रने र जनताले सास्ती भोग्नु नपर्ने पनि बताए।

प्रकाशित: २४ श्रावण २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App