५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घाँटीबाटै तानेर सिक्री लुटपाट

गोरखा– गोरखा नगरपालिका–९ स्थित तीनवटा घरमा चोरी भएको छ। ठिगुरेस्वाँरास्थित बन्दना बस्न्यात (दानी), कमलकुमारी श्रेष्ठ र सानुमायाँ कुँवरको घरबाट नगद र सुनको गहना चोरी भएको हो।

‘बुधबार बिहान ४ बजेतिर सुतिरहेका बेला ढोकाको ताला फुटाई मुख थुनेर घाँटीको सिक्री तानेर चोर भाग्यो,’ पीडित बस्न्यातले भनिन्। घाँटीमा लगाएको सुनको सिक्री तान्दा आधा चुँडिएर चोरको हातमा र आधा सिक्री गलामा रहेको उनले बताइन्। उनको एक तोला सुन चोरले लगेको प्रहरीमा उजुरी गरेकी छन्। त्यसअघि नजिकै रहेको सानुमायाँ कुँवरको घरमा नगद ५० हजारसहित एक तोलाको तिलहरी चोरी भएको थियो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले एकै समूहले तीन ठाउँमा चोरी गरेको बताए। कुँवरको घरमा सुन, पैसा रहेको दराजको ताला खोलेर चोरी भएको छ।

कमलकुमारी श्रेष्ठको घरमा भ्यान्टिलेसनको झ्यालबाट घरभित्र छिरेर सुतिरहेको बेला मुख थुनेर चोरले गलामा लगाएको दुई तोलाको सिक्री तानेर लगेको उनले बताइन्। भित्रबाट ढोकाको चुकुल खोलेर चोर भागेको प्रहरीले जनाएको छ। एकै रातमा यसरी सुनका गहना र पैसा चोरी भएपछि प्रहरीले निगरानी बढाएको छ।

डिएसपी महेन्द्र नेपालले शंकास्पद व्यक्ति देखेमा वा चोरी भएको मिनेटमै प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोधसमेत गरेका छन्। उक्त चोरीको घटनामा स्थानीय व्यक्तिको संलग्नता रहेको आशंकामा प्रहरीले खोजी तीव्र बनाएको जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App