६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिकाका प्रमुख र एन्फा अध्यक्ष, खेलकुद प्रशिक्षण केन्द्र निर्माण सम्बन्धी सम्झौता पत्रमा अदानप्रदान गर्दै । तस्विर: नरहरि/नागरिक

गोरखा– गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

‘प्रशिक्षण केन्द्रका लागि गोरखा नगरपालिकाले कार्यपालिकाको बैठकबाट आर्थिक वर्ष ०७६/७७ का लागि ६० लाख बिनियोजन गरेको छ’, नगरप्रमुख पन्तले भने। एन्फाले पनि ६० लाख बरावरको बजेट बिनियोजन गरेर गोरखा नगरपालिका १० को दरौँदी किनारमा रहेको छेवेटार खेलमैदान सँगै खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘जग्गा उपलब्ध, नक्सा लगायतका काम नगरपालिकाले छिटो गरिदिएको खण्डमा हामीले एक वर्षभित्र प्रशिक्षण केन्द्र निर्माण गर्नेछौँ।’

गोरखामा एउटा पनि प्रशिक्षण केन्द्र नहुँदा यहाँका खेलाडीको क्षमता बिकास हुन नसकेको, राष्ट्रिय खेलाडी यहाँ आउने, प्रशिक्षण गर्ने, खेल्ने अवस्था नभएको भन्दै नगरपालिकाले एन्फासँग साँझेदारी गरेको नगरप्रमुख पन्तले बताए। गोरखामा ११÷११ जना खेलाडी खेल्न मिल्ने मैदान थिएन। गोरखा सदरमुकामको हरमटारी खेलमैदान सहरको बिचमा रहेको, बिस्तार गर्ने ठाउँ नभएको, नौ÷नौ जना मात्रै खेल्नुपर्ने अवस्था थियो। गोरखा नगरपालिकाले गत वर्ष बजेट बिनियोजन गरेर दरौँदी किनारमा रहेको खाली जग्गामा स्तरीय मैदान निर्माण गरेको हो। उक्त मैदानको आसपासमा खाली जग्गा रहेकाले त्यहाँ प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना बनेको नगरप्रमुख पन्तले बताए। नगरपालिकाले चालु वर्ष पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा ‘पृथ्वी गोल्डकप’ गर्ने बताउँदै उनले भने, ‘जग्गा अधिकरण गरेर भए पनि एन्फाले सहयोग गरेको खण्डमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न तयार छौँ।’ 

स्तरीय फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न नगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एन्फाले गण्डकी प्रदेशमा निर्माण गर्ने दोस्रो केन्द्र गोरखामा बनाउने आश्वासन एन्फा अध्यक्ष शेर्पाले दिए। गण्डकी प्रदेशको माछापुच्छ्रे गाउँपालिकामा पनि एन्फाको साँझेदारीमा प्रशिक्षण केन्द्र निर्माणको क्रममा छ। ‘फुटबलमा पहिलो आवश्यकता पूर्वाधार हो, त्यसपछि मानसिक रुपमा खेलाडीलाई बलियो बनाउने गरी एन्फाले कार्यक्रम ल्याएको छ’, अध्यक्ष शेर्पाले भने। महिला फुटबल प्रशिक्षणलाई पनि एन्फाले प्राथमिकतामा राखेको उनले बताए। 

छेवेटारमा बन्ने खेलकुद प्रशिक्षण केन्द्रमा चार सय भन्दाबढि ग्रासरुटका खेलाडीलाई आलोपालो प्रशिक्षण दिन सकिनेछ। त्यहाँ सुविधा सम्पन्न चेन्जिङ रुम, कार्यालय, जिम हल, कफि सप पनि निर्माण हुनेछ। पार्किङ, प्याराफिट निर्माणको लक्ष्य रहेको एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए। एन्फा उपाध्यक्ष कृष्ण थापाले प्रशिक्षण केन्द्र मात्रै निर्माण गरेर नहुने बताउँदै एन्फाले केन्द्रको प्रयोग गरेर दक्ष खेलाडी उत्पादनलाई समेत जोड दिने बताए।

अहिले केन्द्र निर्माण हुन लागेको ठाउँ गोनपा १० को सुर्योदय युवा परिवारले मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याएको ठाउँ हो। क्लबले सार्वजनिक जग्गा फिर्ता गरेर खेलमैदान निर्माणको योजना बनाएको र नगरपालिकाले गत दुई वर्षमा ५० लाख भन्दाबढि खर्च गरेर स्तरीय मैदान तयार भएको परिवारका अध्यक्ष प्रदिप कुँवरले बताए। ‘क्लब र स्थानीयको श्रमदान, नगरपालिकाको लगानीमा अहिले तारवार सहित स्तरीय मैदान बनेको छ, हामी स्थानीय खुसी छौँ, यसको संरक्षण हामीले सधैं गर्छौँ’, उनले भने। प्रशिक्षण केन्द्र निर्माण हुने भएपछि थप जग्गा उपलब्ध गराउने विषयमा नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने सुर्योदय युवा परिवारका अध्यक्ष कुँवरले बताए।

एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, एन्फा केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले फुटबलको लगानीले खेलाडीलाई मेहनती, अनुशासित र दक्ष बनाउन मद्दत पुग्ने धारणा राखे।

प्रकाशित: २२ श्रावण २०७६ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App