बागलुङ - जिल्लाको तमानखोला गाउँपालिका—४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। गएराति करिब डेढसय मिटर माथिबाट झरेको पहिरोका कारण तमानखोला—४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, सोही ठाउँकी वर्ष ७० की अन्सारी सिर्पाली र सोही स्थानका १२ वर्षका प्रविण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
अरु दुई जना सम्पर्क बिहीन भएका छन्। घटना स्थलपमा प्रहरी पुगेर उद्धार सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता झपिन्द्रप्रसाद भट्टराईले बताए। पहिरोका कारण पाँच घर पुरिएको तमानखोला—४ अध्यक्ष उदिम छन्त्यालले जानकारी गराए। पहिरोमा अन्य ६ जना समेत घाईते भएको स्थानीयले जानकारी दिएका छन्।
यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ। वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ।
बढेको बडिगाड खोलाका कारण मध्येपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ। अहिले बुर्तिबाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा बुटवलका लागि छुट्ने सवारी साधनहरु बुर्तिबाङमै रोकिएका छन्।
बुर्तिबाङ जानका लागि छुटेका सवारी साधनहरु खाल बजारमै रोकिएको बताइएको छ। लोकमार्गको अधिकाँस भाग पहिरोले बगाएको र कुनापट्टी ठूलो चट्टान कटान गर्नुपर्ने भएकाले लोकमार्ग सुचार हुन समय लाग्नसक्ने स्थानीयले बताएका छन्। वर्षाका कारण खार बजारमा समेत माथिपट्टीबाट पहिरो झरेका कारण सडक अवरुद्ध छ। तुरतुरेमा गतवर्ष चट्टानी पहाडसहितको पहिरो झरेपछि करिब एक सय मिटर गहिरो र एक किलोमिटर भन्दा लोमा ताल बनेको थियो।
प्रकाशित: २० श्रावण २०७६ ०५:०२ सोमबार