१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कक्षा १–३ मा एकीकृत शिक्षा लागू गर्दै पाठ्यक्रम विकास केन्द्र

काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा १–३ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ। मिल्ने विषयवस्तुसँगै पढाउने उद्देश्यसाथ केन्द्रले एकीकृत पाठ्यक्रम बनाएको हो।

यसका लागि ६ वटा क्षेत्र तोकिएका छन्। नेपाली, अंग्रेजी, गणित, सामाजिक र सिर्जनात्मक कला, विज्ञान स्वास्थ्य शारीरिक वातावरण र स्थानीय भाषा वा स्थानीय विषय राखिएको छ। सिर्जनात्मक कला र सामाजिकलाई एकै ठाउँ समेटेर मेरो सेरोफेरो विषय बनाइएको छ। परीक्षण थालिएको पाठ्क्रममा स्थानीय तहले तयार गरेको एउटा विषए पनि समावेश गरिनेछ। सो विषयमा स्थानीय तहमा बोलिने भाषालाई प्राथमिक्ताका साथ राखिनेछ। साताको २६ घण्टा पढाउने गरी पाठ्यक्रम तय गरिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी तथा निर्देशक गणेश भट्टराईले बताए। 

उनका अनुसार २०७७ देखि कक्षा १ देखि ३ बाट नयाँ पाठ्यक्रम कार्यान्वयन थालिनेछ। सो पाठ्यक्रमको सिकाईलाई जीवनसँग जाडिन सहयोग पुग्नेछ। यसबाट विद्यार्थीले व्यवहारीक सिप सिक्नेछ भने साक्षरता, अन्तरवैयत्तिक सञ्चार गरी पाँच क्षेत्रका २९ सिपहरु सिक्न सक्ने भट्टराईको भनाई छ। केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका कुराहरु स्थानीय पाठ्यक्रममा समेटिने भट्टराईले बताए। साथै सो पाठ्यक्रम निर्माण गर्दा स्थानीय निकायले केन्द्रसँग स्विकृती लिन नपर्ने पनि उनले भने। उपत्यकामा गोकर्णेश्वर, शंखरापुर, चाँगुनाराएण, बुढानिलकण्ठ, ठिमी र भक्तपुर नगरपालिकाले सो पाठयक्रम लागू गरिसकेका छन्। यो प्रारम्भिक चरणमा रहेको छ। यसको सफल परीक्षण पश्चात् देशभर लागू गर्ने भट्टराईको भनाई छ। विश्वका धेरै देशहरुमा यस्तो किसिमको पाठ्यक्रमबाट पढाइ भइरहेको छ। यो एकदमै भिन्न र फरक खालको परीक्षण भएको उनले बताए।

प्रारम्भिक कक्षा पढाई कार्यक्रम

यसका साथै, अहिले साना विद्यार्थीहरुका लागि प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पनि लागू गरिदैछ। सो कार्यक्रम यूएसएडको सहयोगमा २०१४ मा शुरु भएको हो। उक्त प्रारम्भिक कक्षा पढाइ कार्यक्रम १६ जिल्लामा लागू भइसकेको छ। कार्यक्रमलाई निरन्तरता दिन र लोकप्रिय बनाउन ४ जिल्ला थपिएको छ। ताप्लेजुङ, धनुसा, रसुवा र तनहुका सबै विद्यालयमा लागू गरीने समेत उनले बताए।

विगतका दिनमा सो कार्यक्रम परियोजनाका रुपमा रहेको थियो। तर हाल नेपाल सरकारको मातहतमा रहदै आएको छ। यो विश्वव्यापी कार्यक्रम हो। विश्वका ८० वटा देशहरुमा उक्त कार्यक्रम भइरहेको छ। यसले ध्वनी, लेख्य वर्ण, शब्द भण्डार, पठन प्रवाह, बोध लगाएतका विषयलाई जोड दिनेछ। बच्चाले एक मिनेटमा ४० शब्द पढ्न सक्ने बनाउनु यस कार्यक्रमको उद्देश्य हो। हाल विद्यार्थीले १५ देखि २२ शब्द मात्र पढ्न सकेका छन्। नेपाल सरकारले सो कार्यक्रमका लागि पढ्ने सामाग्री पनि उपलब्ध गराउनेछ। हरेक शिक्षक र विद्यार्थीलाई एक एक वटा पढ्ने सामाग्री दिइनेछ। प्रारम्भिक चरणमा भएपनि यो कार्यक्रम सबै विद्यालयहरुमा प्रभावकारी रुपमा अघि बढिरहेको छ। शुरुवाती दिनमा ३४ प्रतिशत सिकाई थियो भने हाल ४८ प्रतिशत रहेको भट्टराईले बताए।

हाल धनकुटा, सप्तरी, पर्सा, भक्तपुर, रुपन्देही, कास्की, मनाङ्ग, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोल्पा, कैलाली, कन्चनपुर र डडेलधुराका सबै विद्यालयहरुमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले निरन्तरता पाइरहेको छ। 

 

 

प्रकाशित: १९ श्रावण २०७६ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App