१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोली लागेका घाइते भन्छन्–‘बल्लतल्ल ज्यान जोगाएँ, उनीहरू दक्षिणतिर भागे’

कपिलवस्तु– लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत सुद्दोदन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टी नेपालका जिल्ला नेतामाथि गोली प्रहार भएको छ। गाउँपालिका–५ बिचौवापुरका ४० बर्षिय राम नयर यादवमाथि बिहीबार दिउँसो करिब १ बजे गोली प्रहार भएको हो। आफनो लु १९ प ४४४३ नम्बरको मोटरसाईल चढेर लम्बिनीबाट तौलिहवा जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो।

आधा दर्जनको संख्यामा रहेका व्यक्तिहरुले आफुमाथि गोली चलाएको यादवले बताए। गोली उनको बायाँ हातको पाखुरामा लागेको छ। यादव समाजवादीका जिल्ला कार्य समति सदस्य हुन्। गोली प्रहारबाट घाइते भएका यादवको तौलिहवा अस्पतालमा उपचारपछि उनी अहिले समाजवादीको तौलिहवास्थित कार्यालयमा रहेका छन्।

घाइृते यादवले आफुमाथि गाउँपालिका– ५ शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी, वडा नम्बर ४ बिठुवाका अनिल चौधरीलगायतका आधा दर्जनको समुहमा रहेको टोलीले गोली हानेको बताए। ‘बल्लतल्ल ज्यान जोगाएँ, गोली हानेपछि उनीहरु दक्षिणतर्फ भागे’ उनले नागरिक न्यूजसँग भने। उनले आफुमाथि गोली प्रहार गर्र्ने माथि किटानी जाहेरी दिने बताए।

उता समाजवादी पार्टीले आफ्नो जिल्लास्तरीय नेतामाथि गरिएको गोली प्रहारको निन्दा गरको छ। पार्टी जिल्ला अध्यक्ष शैलेन्द कुमार यादवले विज्ञप्ति निकाल्दै गोली प्रहार गर्नेलाई तत्कालै पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन्।  प्रहरीले दोषीलाई पक्राउ नगरे आफुहरु आन्दोलनमा जाने चेतावनी समेत अध्यक्ष यादवले दिए।

स्थानीय अनुसार घाइते र गोली प्रहार गर्ने समुहबीच तत्कालीन माओवादी युद्धकालदेखि नै आपसमा दुश्मनी रहँदै आएको थियो। गोली प्रहार गरेकाे आरोप लागेका समुह तत्कालीन माओवादी पार्टीमा आबद्ध थिए। घाइते यादव भने प्रतिकार समुहमा लागेका थिए। त्यही युद्धकालीन समयमा लालाका बुवा शिवपुजन चौधरीको हत्या गरिएको थियो। त्यसैको बदला स्वरुप नै यो घटना भएको हुन सक्ने स्थानीय बताउँछन। तर घाइते यादवले आफनो कसैसँग कुनै दुश्मनी नभएको दाबी गरेका छन्।

एक वर्ष अघि शुद्धोधन गाउँपालिकाका दीपेन्दै चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो। राजाबाबु नेकपाका नेता थिए। उनी पनि गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेशसभा निर्वाचनको उम्मेद्वार थिए।

प्रकाशित: १६ श्रावण २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App