१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चौतारामा बहुप्राविधिक शिक्षालय

सिन्धुपाल्चोक - महाविद्यालयको अवधारणाअन्तर्गत प्रदेश ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ। शिक्षालयले सिभिल र सूचना प्रविधि (आइटी) इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा तहको पठनपाठन तयारी थालेको हो। ‘पहिलो वर्षको भर्ना प्रक्रिया अघि बढेको छ। विद्यार्थीबाट आवेदन संकलन गरिराखेका छौं,’ शिक्षालय प्रमुख रामचन्द्र दाहालले नागरिकसँग भने।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले गत असारमा बहुविद्यालय सञ्चालनको सम्बन्धन प्रदान गरेको थियो। दुवै विषयमा ४८/४८ विद्यार्थी कोटा निर्धारण गरिएको प्रमुख दाहालले जानकारी दिए। उनका अनुसार सिभिल इन्जिनियरिङमा पूर्णशुल्क ७२ र सहुलियत शुल्क ४२ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै सूचना प्रविधितर्फ पूर्णशुल्क ६० र सहुलियत शुल्क ४२ हजार रुपैयाँ कायम गरिएको छ। ‘अन्यत्रभन्दा यो निकै सस्तो शुल्क हो,’ उनले भने। बहुविद्यालयले प्रदेश सरकारबाट अनुदान पाउने भएकाले सुलभ शुल्क निर्धारण गरिएको हो। एसइई र टिएसइई उत्तीर्णले दुवै विषयमा भर्ना पाउनेछन्।

आफ्नै स्थायी संरचना तयार नहुन्जेल बहुविद्यालय चौतारा बहुमुखी क्याम्पसमा सञ्चालन हुने भएको छ। यसका लागि क्याम्पस र बहुविद्यालयबीच सम्झौता भइसकेको छ। साउन २२ गते प्रवेश परीक्षा लिई पठनपाठन सुरु गर्ने प्रमुख दाहालले बताए। उनका अनुसार सिन्धुपाल्चोकसहित आसपासका काभ्रे, दोलखा, रामेछापलगायतका विद्यार्थीले बहुविद्यालयबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्। जिल्लाका १२ स्थानीय तहलाई एक÷एक विद्यार्थी कोटा छुट्याइएको छ।

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजनाअन्तर्गत मकवानपुरको हेटौंडा र सिन्धुपाल्चोकको चौतारामा दुईवटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आवमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजनाअन्तर्गत मकवानपुरको हेटौंडा र सिन्धुपाल्चोकको चौतारामा दुईटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रारम्भमै महाविद्यालय स्थापना गर्न खोजिए पनि प्रदेश सरकारबाट यससम्बन्धी छुट्टै कानुन नबनिसकेकाले हाललाई सिटिइभिटीको सम्बन्धनमा बहुप्राविधिक शिक्षालयको नामबाट पठनपाठन सुरु गर्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए। महाविद्यालय नै स्थापना गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन पूरा गरेर भौतिक संरचना र पूर्वाधार विकासको प्रक्रियासमेत अघि बढाइएको छ। मन्त्री दुलालकै अगुवाइमा महाविद्यालय स्थापनाको पहल थालिएको थियो।

‘आगामी २०८० भित्र कृषि विज्ञान, पशु विज्ञान र हाडजोर्नीलगायत पाँच विषयको पठनपाठनका लागि पूर्वाधारको क्षेत्रमा काम अघि बढाउँदै छौं,’ मन्त्री दुलालले भने। तत्काललाई शिक्षालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले १७ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार यसै वर्ष टेन्डर प्रक्रियामा गएर पूर्वाधार विकासको काम सुरु हुनेछ।

सदरमुकाम चौताराको छाप र आहालडाँडा सामुदायिक वन क्षेत्रको ९५ रोपनीमा शिक्षालय बन्ने भएको छ। ‘मन्त्रालयले भौतिक संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिरहेको छ,’ उनले भने।

१० वर्षे ‘जनयुद्ध’ मा मारिएका जनमुक्ति सेनाद्वय कमल शर्मा (दिनेश) र गोविन्द बजगाईं (रामजी) को स्मृतिमा चौतारामा बहुप्राविधिक शिक्षालयको नाम जुराइएको हो। चौतारा, कुभिन्डे घर भएका उनीहरू २०६१ मा सिरहाको बन्दिपुरमा भएको भिडन्तमा मारिएका थिए। त्यतिबेला कमल बटालियन कमान्डर र गोविन्द कमिसार थिए। तत्कालीन माओवादी युद्धमा जिल्लाबाट सहभागीमध्ये सबैभन्दा माथिल्लो तहमा पुगेर उनीहरूले ज्यान गुमाएका थिए। महाविद्यालय स्थापनाको अगुवाइ गरिरहेका मन्त्री दुलालसमेत बन्दिपुर भिडन्तमा सरिक थिए।

प्रकाशित: १५ श्रावण २०७६ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App