५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सन्दर्भ बाघ दिवस : ‘थोरै क्षेत्रफलमा धेरै बाघ’

कञ्चनपुर - तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन्। क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ। विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार दुई सयभन्दा बढी दुर्लभ बाह्रसिङ्गा छन्। कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा आज ११औँ बाघ दिवस मनाइरहँदा शुक्लाफाँटाको बाघ संरक्षणका विषयमा जोड दिइएको छ।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको हो। “शुक्लाफाँटामा बाघका लागि सानो बासस्थान भए पनि क्षेत्रफलका हिसाबले धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “बाघका लागि पर्याप्त आहार भएकाले पनि यहाँ बाघ धेरै भएका हुन्।” आहारका कारण पनि यहाँ बाघको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ। निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। चोरी सिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवीदल गण खटिएको छ।


“सुरक्षा सतर्कता पनि मजबुत भएकाले यहाँ वन्यजन्तु सुरक्षित राख्न सकिएको छ”, पौड्यालले भने, “बाघसँगै शुक्लाफाँटामा पर्यटक लोभ्याउने धेरै कुरा छ।” यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमाना लगायतका जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ। सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ। सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ बाघ छन्। बाघ दिवसका अवसरमा भीमदत्तनगर बजारमा बाघ बचाउन सचेतना ¥यालीका साथै सडक नाटकसमेत गरिएको छ।
 

प्रकाशित: १३ श्रावण २०७६ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App