खोटाङ– नेपाल दरुण दल खोटाङले अगेनामा परेर आगोले पोलेर गम्भीर घाईते भएका पाँच महिने शिशुको उद्धार गरेको छ। अगेनामा परेर दुई हात र निधारमा गहिरो घाउ लागेका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका शिशु प्रवीण राईलाई तरुण दलले १ लाख १३ हजार ३ सय ६५ रुपैयाँ सहयोग रकम जुटाएर उपचारका लागि काठमाडौं पठाएको हो।
५३ जना दाताबाट संकलन भएको रकम जिल्ला अस्पतालमै पुगेर तरुण दलका सभापति भिषण राईले घाईते शिशुका आमा निर्मला राईलाई हस्तान्तरण गरेका छन्। आर्थिक अभावमा सुविधा सम्पन्न अस्पताल जानबाट बञ्चित हुने अवस्था देखिएकाले सहयोग संकलन गरेर शिशुको उद्धार गरिएको तरुण दलका अध्यक्ष राईले बताए। जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन देबकोटा लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको हो। थप उपचारका लागि कान्ती वाल अस्पताल पु-याउनेगरी यातायात व्यवसायीमार्फत निशुल्क गाडीको व्यवस्था गरेर घाईते बच्चा र आमालाई काठमाडौं पठाएको तरुण दलले जनाएको छ।
गत शुक्रबार केटाकेटी अवस्थाका दाईको साथमा छाडेर घर बाहिरको काममा गएकोबेला प्रवीण अगेनामा परेको आमा निर्मलाले बताईन्। आगोमा पर्दा शिशुको दायाँ र वायाँ हातको हत्केलामाथिको भाग डढेको छ। दुबै हातको औंला डढेर खुम्चिएको छ भने हत्केला समेत डढेर घाउ बनेको छ। घटनाकै दिन घाईते शिशुलाई अस्पतालमा ल्याइए पनि उपचार नभएपछि रेफर गरिएको थियो। तर, खर्च अभावमा अन्यत्र जान नसकेको निर्मलाले बताईन्।
प्रकाशित: १२ श्रावण २०७६ १४:२५ आइतबार