१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

पानी नबगेरै भत्किएको नहर

लुंग्री माडी सिँचाइ आयोजनाद्वारा निर्माणाधीन नहर।

रोल्पा - व्यवस्था पञ्चायत थियो। पञ्चहरूले २०४२ सालमा प्युठानको ठूलो भूभाग सिँचाइ हुने भन्दै रोल्पाको लुंग्री खोलाबाट १२ किलोमिटर नहर निर्माण सुरु गराए। तर तीन दशकमा पनि काम सकिएन। प्युठानको लुंग्री माडी सिँचाइ आयोजना अहिले पनि अन्योलमा छ। सिँचाइ अभावमा यहाँका स्थानीयले वर्षामा समेत सजिलो गरी धान रोप्न पाएका छैनन्। स्वर्गद्वारी नगरपालिकाका तीनवटा वडाका साढे सात सय घरधुरीको १२ सय हेक्टरबढी जग्गामा सिँचाइ पुग्ने यो आयोजना अलपत्र परेको जानकारी पाएकाहरूसमेत मौन बसेको स्थानीयको गुनासो छ।

३४ वर्षअगाडि निर्माण सुरु गरिएको लुंग्री माडी सिँचाइ आयोजना कार्यालय र निर्माण व्यवसायीको लापर्बाहीका कारण हालसम्म पनि अलपत्र परेको हो। रोल्पाको लुंग्री खोलाबाट १२ किलोमिटर नहर निर्माण सुरु गरेको तीन दशकमा ७५ प्रतिशत मात्र काम सकिएको छ। पहिला निर्माण गरिएको नहर पनि भत्किन सुरु गरिसकेको छ भने लुंग्री खोला धसिएर नहरभन्दा तल पुगेको छ। यो आयोजना प्युठानका साविकका सारी, बेलबास र बर्जिबाङ गाविसमा सिँचाइ गर्ने उद्देश्यले थालनी गरिएको थियो।

अहिलेसम्म यो आयोजनामा १३ करोड रुपैयाँ खर्च भइसकेको छ। पछिल्लो २ वर्षयता आयोजनाका लागि कतैबाट बजेट आएको छैन। ‘आयोजना अन्योलमा छ। जति भने पनि सुनुवाइ हुँदैन। फेरि डिजाइन गर्ने पनि भन्छन्,’ स्वर्गद्वारी नगरपालिका–५ सारीका अध्यक्ष हिरामणि भण्डारीले भने, ‘फाँट छ तर सिँचाइ छैन। राज्य जहिल्यै उदासिन भयो। स्थानीय तहको बजेटले पुग्दैन। माथिबाट आउँदैन। करिब १०/१५ करोड अझै चाहिन्छ होला।’

निर्वाचित प्रतिनिधिहरूले आयोजनाबारे कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। ठूलो आयोजना भएकाले नगरपालिकाले काम सम्पन्न गर्न नसक्ने भन्दै बाँकी काम सक्न प्रदेश सरकारलाई गुहारेको छ। तर प्रदेश सरकारले ध्यानै दिएको छैन। उता नहरको निर्माण जिम्मा पाएको सिँचाइ डिभिजन कार्यालयका प्रमुख विष्णु खरेलका अनुसार आयोजनाका लागि पर्याप्त बजेट आउन छाडेको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App