१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

पानी नपरे पनि एकाएक बाढी

गत बुधार म्याग्दी खोलामा एकाएक आएको बाढी।

पोखरा/म्याग्दी - गुर्जाको लाच्थावाङ र घुर्म खोलामा बुधबार एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो। बुधबार दिउँसो नै लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।

प्रशासनले सिरान क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशंका गरेको छ। दोर्दीमा बाढी आउनुको खास कारण अहिलेसम्म यकिन नभएको लम्जुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। ‘सुरुमा हामीले थुनिएको नदी फुटेपछि बाढीको रूप लिएको हुनसक्ने अनुमान गरेका थियौं तर पछि हामीले त्यो अनुमानलाई नका¥यौं,’ भट्टराईले भने, ‘खोला थुनिएको भए बहाव घट्नुपर्ने थियोे तर घटेन। त्यही भएर खोला थुनिएको होइन भन्ने निष्कर्षमा पुग्यौं।’ सिरान क्षेत्रमा भीषण वर्षा भएकाले बाढी आएको अनुमान गरेको उनले बताए।

लम्जुङ र म्याग्दीका खोलामा एकाएक आएको बाढी र त्यसले पारेको क्षतिका यी उदाहरण मात्र हुन्। पछिल्लो समय वर्षा नहुँदा पनि माथिल्लो भेगबाट भीषण बाढीपहिरो आउने गरेको छ, जसले तल्लो तटमा क्षति पु¥याउने गरेको छ। म्याग्दीको गुर्जा गाउँका दुईवटा झोलुंगे पुलसमेत जोखिममा पार्दै खोलाले पश्चिम म्याग्दीदेखि बागलुङ, पर्वत हुँदै कालिगण्डकी नदी बग्ने जिल्लामा समेत क्षतिको सम्भावना बढाएपछि प्रशासनले खोला वरपरका बासिन्दालाई सुरक्षित र सर्तक रहन सूचना नै जारी गरेको थियो। जिल्लाको विकट गाउँका खोंचमा बग्ने खोलामा एकाएक आएको बाढीले मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार, बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि बनाइएको तटबन्ध नै कटान गरेको छ। डेढ दशकपछि दुवै खोलामा भीषण बाढी आएको गुर्जाबासी बताउँछन्।

तल्लो क्षेत्रमा सामान्य वर्षा भइरहेको अवस्थामा खोलामा एकाएक भीषण बाढी आउँदा सर्वत्र त्रास फैलिने गरेको छ। हिमाली क्षेत्रमा लगातारको वर्षासँगै जमेको हिउँलाई बगाएर ल्याउँदा बाढी आएको हुनसक्ने गाउँपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष झकबहादुर छन्त्यालको अनुमान छ। सिरान क्षेत्रमा भीषण वर्षा भएको र त्यसले बाढी निम्त्याएको अनुमान गरिए पनि बाढी आउनुको वास्तविक कारण कसैले खुट्याउन नसकेको उनले बताए। ‘हामीले थाहा पाएदेखि अहिलेसम्मकै भीषण बाढी यो पटक आयो,’ उनले भने, ‘१५ वर्षअघि पनि यसरी नै एकाएक बाढी आएको थियो तर अहिलेको जति भीषण थिएन।’ खासै वर्षा नहुने माथिल्लो क्षेत्रमा पछिल्लो समय लगातार वर्षा हुन थालेपछि तल्लो भेगका बासिन्दामा त्रास उत्पन्न हुने गरेको उनको भनाइ छ।

हिमाली क्षेत्रमा लगातार वर्षा हुन थालेपछि खोलाको सतह ह्वात्तै बढेको गुर्जाका स्थानीय खिमबहादुर छन्त्यालले बताए। ‘दुवै खोलामा एकैपटक बाढी आउँछ, तीन पटकसम्म यस्तै भएको छ,’ छन्त्यालले भने। हरेक १५ वर्षमा दुवै खोलामा तीन पटकसम्म भीषण बाढी देखेको बताउँदै यस पटकको बाढी सबैभन्दा ठूलो भएको छन्त्यालले बताए। गुर्जाबासीलाई लाच्थावाङ खोला पुग्न करिब एक घण्टा र घुर्मखोला पुग्न दुई घण्टा लाग्छ। बस्ती टाढाको उक्त ठाउँमा गोठ र खेतीपाती गर्ने क्षेत्र भएकाले स्थानीयले उर्लिएर आएको भेल देखेपछि गाउँमा खबर गरेका थिए। त्यस्तै मुदीसँग सिमाना जोडिएको गुर्जाकै फोल्डिङ खोलाको पहिरो पनि केहीबेर थुनिएको थियो। तीनवटै खोला उर्लिएर आएपछि म्याग्दी खोलामा करिब पाँच घण्टा रुख–दाउरा बगाएर ल्याएको थियो।

‘तल्लो क्षेत्रमा वर्षा नहुँदा पनि एक्कासि खोला उर्लिएर आउँछ, हिमाली क्षेत्रबाट समयमै सूचना नआउँदा तल्लो भेग जोखिममा छन,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘पानी परेको छैन भनेर तल्लो तटीय क्षेत्रमा ढुक्कले बस्ने अवस्था छैन। तल पानी नपरे पनि सिरानबाट एकाएक बाढी आउँछ, जसले जनजीवनमा जोखिम बढाएको छ।’ सिरान क्षेत्र धेरै उचाइमा रहेको र बस्तीभन्दा निकै टाढा भएकाले पनि बाढी आउँदा थाहा नपाइने अवस्था रहेको उनले बताए।

उनका अनुसार साँधुरो खोंच भएर बगेकाले पहिरोले खोला थुनिने समस्या पनि उत्तिकै छ। गत बुधबार यस्तै बाढी आएको माथिल्लो भेगका केही बासिन्दाले थाहा पाएर तल्लो भेगमा पूर्वसूचना दिँदा क्षति नभए पनि भविष्यमा यस्ता समस्या समाधानका लागि माथिल्लो भेगका बस्तीमा पूर्वसूचना प्रणाली राख्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ। प्रजिअ भट्टराई लम्जुङमा तल्लोभन्दा पनि माथिल्लो भेगमा जोखिम बढ्दै गएको बताउँछन्। ‘अनुमान गरेभन्दा फरक तरिकाले खोलामा बाढी आउन थालेको छ। यो अध्ययनको विषय हो,’ उनले भने, ‘माथिबाट एकाएक भीषण बाढी आउँछ, अनि तल्लो भेगमा क्षति पु¥याउँछ।’

भूगर्भका जानकारहरू भने भूकम्पले समेत चर्किएका पहाड अब पहिरोसँगै बग्ने जोखिममा रहेको र त्यसले खोला थुनिने सम्भावना रहेको बताउँछन्। भूगर्भविद् श्रीकमल द्विवेदी तल्लो तटीय क्षेत्रका बासिन्दा पछिल्लो समय सिरान क्षेत्रबाट आउने बाढीका कारण जोखिममा रहेको बताउँछन्। उनका अनुसार हिमाली क्षेत्रमा जमेर बसेको हिउँ जलवायु परिवर्तनको असरले वर्षासँगै पग्लिएर बाढी आउने र तल्लो क्षेत्रमा जोखिम निम्त्याउने गरेको उनले बताए।

लम्जुङको दोर्दीमा एकाएक बाढी आउनुको कारण पनि हिमपहिरो हुनसक्ने अनुमान गरिएको छ। माथिल्लो भेगमा हिमचुली रहेको र हिमपहिरोको कारण तल्लो क्षेत्रमा बाढीको विनाश निम्तिने गरेको छ। ‘पहिरोका कारण हो भने खोला थुनिनुपर्ने हो। खोला थुनिएपछि खोलामा पानीको बहाव घट्नुपर्ने हो,’ द्विवेदीले भने, ‘दोर्दीमा त्यो समस्या छैन। सिरान क्षेत्रमा भीषण पानी परेको पनि छैन। त्यसबाहेक सिरान क्षेत्रमा हिमताल पनि छैनन्। त्यसैले हिमपहिरोको सम्भावना बढी छ।’

जोखिमपूर्ण ठाउँमा संयन्त्र
पछिल्लो समय हिमाली क्षेत्रमा अधिक वर्षा हुन थालेको र वर्षाले हिउँ बगाएर ल्याउँदा एकाएक बाढी आउने गरेको छ। लमजुडको दोर्दीमा जस्तै म्याग्दीमा पनि एक्कासि बाढी आएको थियो। हिमाली क्षेत्रबाट बाढीका रूपमा कुनै पनि बेला विपत् आउनसक्ने भएकाले दुर्गम क्षेत्रमा बस्नेहरूसँग नियमित सम्पर्क हुने संयन्त्र बनाउनुपर्ने भूगर्भविद् द्विवेदीको सुझाव छ। तल्लो भेगमा पानी परेको र चुप लागेर बस्ने अवस्था नरहेको र हिमाली क्षेत्रमा सतर्कता जगाउन जरुरी रहेको उनले बताए। माथिल्लो भेगका जनतासँग सम्पर्क अभावले पछिल्लो समय बाढीपहिरोले धेरै मानवीय क्षति पु¥याउने गरेको छ।

लमजुङको दोर्दी खोलामा आएको बाढीको सूचना समयमै उपलब्ध गराउन नसक्दा मानवीय क्षति भएको उल्लेख गर्दै द्विवेदीले भने, ‘कम्तीमा टेलिफोन सम्पर्क हुने गरी जिल्ला सदरमुकामदेखि दुर्गम क्षेत्रसम्म संयन्त्र बनाउनुपर्छ।’ पछिल्लो तीव्र सूचनाले मानवीय क्षतिलाई रोक्न सकिने एक दशकयताको तथ्यांकले समेत देखाएको छ। विज्ञहरूका अनुसार बाढी भविष्यवाणीको प्रभावकारी प्रणाली, बाढीसम्बन्धी प्रकोपबाट निम्तिने जोखिम क्षेत्रको नक्सांकन तथा व्यवस्थापन, नदी बहावको नियमित अनुगमन, नदी किनारका बस्तीको व्यवस्थापन, सुरक्षित आश्रयस्थलको अग्रिम व्यवस्थापन, बाढी व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास तथा जनचेतना अभिवृद्धिलगायत उपायद्वारा बाढीको जोखिम कम गर्न सकिन्छ। म्याग्दीको हिमाली क्षेत्रमा बसोबास गर्ने जनतासँग सहजै सञ्चार सम्पर्क अभावले समेत समस्या हुने गरेको अवस्थामा टेलिफोनको सेवा विस्तारसहित सूचनालाई प्रभावकारी बनाउन सके मानवीय क्षति न्यूनीकरण गर्न सकिने विज्ञको सुझाव छ।

पूर्वसूचनाले ट-यो संकट
म्याग्दी खोलामा एक्कासि बहाव बढेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई फोन आयो। प्रजिअ अधिकारीले काठ–दाउरासँगै उर्लिएर म्याग्दी खोला बग्न थालेको जानकारी तत्कालै प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीमार्फत स्थानीय प्रहरी युनिटलाई गराइयो। धवलागिरी वरपरका क्षेत्रबाट आएको सूचनालाई आधार बनाएर मिनेटमै पश्चिम क्षेत्रको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरियो। धवलागिरी गाउँपालिकाको मुदी वरपरका क्षेत्रमा पहिरो गएपछि खोला थुनिएको खबरसँगै दरबाङलगायत नदी किनारका क्षेत्रमा उच्च सर्तकता अपनाउन सहज भएको थियो।

‘हामी सूचना पुष्टि गर्नेतर्फ लागेनौं, तत्कालै प्रहरीमार्फत सूचना प्रवाह भयो,’ प्रजिअ अधिकारीले भने। मुदी हुँदै दरबाङसम्म खोला उर्लिएर आएपछि मंगला गाउँपालिका, बेनी नगरपालिकामा पर्ने तटीय क्षेत्रमा काम गरिरहेका र बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा जान अनुरोध गरिएको थियो। ‘तटीय क्षेत्रमा सूचना नपुगेको भए मानवीय क्षतिको सम्भावना थियो, विपद्बाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो,’ प्रनाउ मरासिनीले भने। प्रहरीको टोलीसँगै जनप्रतिनिधिले समेत सचेतना प्रवाहका लाागि सामाजिक सञ्जालसहित विभिन्न माध्यममार्फत् सक्रियता देखाएका थिए।

अविरल वर्षासँगै झरेको पहिरोले खोला थुनिएको खबरपछि पश्चिम म्याग्दीमा नदी क्षेत्रमा काम गरिरहेका सर्वसाधारण सुरक्षितस्थलतर्फ लागेका थिए। बर्खायाममा म्याग्दी, कालीगण्डकी र सहायक नदी मानिने गुर्जा, रघुगंगा खोलाको बहावमा उतारचढाव देखिने भएकाले पनि दाउरा र माछा खोज्न जानेलाई रोक्न प्रहरीले स्थानीय तह तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App