४ आश्विन २०७७ आइतबार
समाज

गाउँमै तरकारी किन्न पुग्छन् एकाबिहानै व्यापारी

जुम्ला– जुम्ला लिही गाँउका हर्कबहादुर रावत यो समयमा निकै व्यस्त छन्। उनी गाउँघरमा उत्पादित तरकारी खरिद गर्न लागेका हुन्। एकाबिहानै गाउँका किसानको बारीमै पुगेर तरकारी खरिद गर्नु र सदरमुकाम खलंगामा ल्याएर व्यापारीलाई बिक्रि गर्नु उनको दैनिकी जस्तै हो। यो समयमा जुम्लामै गोलभेडा, खुर्सानी, काउली, बन्दा, प्याज, लसुन, मुला र काक्रा तयार भइसकेको छ।

कर्णाली सडकसँग जोडिएका गाउँबस्तीका तरकारी किसानसँग उनको निकै हेलमेल बढेको छ। किसानलाई तरकारी बोकेर बजारसम्म पुग्नु परेको छैन्। बारीमा तरकारी उत्पादन गरे भईहाल्यो। खरिद गर्न व्यापारी दैलोमै पुग्छन्। गाउँमा हरियो खुर्सानी एक सय २० रुपैयाँ, काउली ७० रुपैयाँ केजी, गोलभेडा ८० रुपैयाँ केजीमा बिक्रि भईरहेको छ।

यो समयमा तिला गाउँपालिकाको लिहि लर्मी, तातोपानी गाउँपालिकाको तातोपानी, राँका र श्रीनगर, चन्दननाथ नगरपालिकाको तलिचौर, पातारासी गाउँपालिकाको उर्थु चौतारामा हरियो तरकारी टन्न पाईन्छ। यो समयमा जुम्लाको बजार स्थानीय तरकारीले धान्दै आएको छ। तर हिउँदमा भने विषादीयुक्त तराईको तरकारी खान बाध्य भएको स्थानीय बताउँछन्।

जुम्ला कुडारीका कर्णबहादुर हमालको बारीमा एक साता अघिसम्म काउली निकै धेरै थियो। अहिले बजारसम्म पुगिसकेको छ। उनकोमा गा्ेलभेडा, खुर्सानी, बन्दा, काउली यो समयमा प्रसस्त छ। उनले बारीमै पुगेका व्यापारीलाई सस्तोमै बेच्छन्। बेमौसमी तरकारी गाउँगाउँमा पुर्याउनु पर्छ। उनले भने, ‘सिजनमा व्यापारी गाउँमै तरकारी खरिद गर्न आउँछन्। किसानलाई न झन्झट, नत बिक्रि गर्न चिन्ता नै। आफ्नो उत्पादनप्रति निकै गर्भ गर्छन्।

तातोपानी गाउँपालिकाकी शोभा डाँगीको बारीमा तरकारी उत्पादन राम्रो छ। उनी बिहानै आफै बजारसम्म पुग्छिन्। आफुले भनेको मुल्यमा तरकारी बेच्छिन्। तरकारी बेचेर परिवारको खर्च धानेको अनुभव सुनाउँछिन्। यो समयमा जुम्ला बजारमा तरकारी पसलमा स्थानीय अर्गानिक तरकारी मात्रै भेटिन्छ। कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानिक कृषि क्षेत्रका रुपमा विकसित गर्ने तयारी थालेको छ। यहाँका उत्पादिन कुनै पनि कृषिजन्य वस्तु रासायनिक बिषादीयुक्त हुन नहुने भन्दै अर्गानिक उत्पादन तर्फ ध्यान केन्द्रित गरेको बताउँछ।

जुम्लाका तरकारी किसानले यहाँको उत्पादनलाई सस्तो ढुवानीमा सुर्खेत, नेपालगञ्जका बजारसम्म लैजाने वातावरण सिर्जना गर्न माग गरेका छन्। जुम्लालाई १९ औं जिल्ला परिषदले अर्गानिक जिल्लाका रुपमा घोषणा गरिसकेको छ। त्यो भएको कारणले पनि यहाँको तरकारीमा विषादीको गन्धसम्म आउदैन्। तर धानमा भने लुकिछिपि ब्युटाकोलर नाम रासायनिक विषादी राख्ने गरिएको छ।

तातोपानी गाउँपालिका धौलापानीका किसानले गाँजार खेति गरेका छन्। त्योसँगै मुला लगाएका छन्। गाँजरको गाना र बीउ बेचेर मनग्गे आम्दानी गर्न थालेका हुन्। हिउँदमा प्लाष्टिक हाउसभित्र तरकारी लगाउने र वर्षायाममा बारीमा तरकारी लगाउने गरिन्छ। चन्दननाथ नगरपालिकाका तरकारी किसान पुर्णप्रसाद न्यौपाने तरकारी मात्रै उत्पादन गर्न सके आर्थिक समृद्धि हासिल हुने बताउँछन्। उनले भने, ‘यहाँका किसानले बेमौसमी र मौसमी खेती मात्रै व्यवसायिक रुपमा गर्न सके लुगाफाटो फेर्नकै लागि कालापहाड जानु पर्दैन्। बरु कालापहाड जाने युवालाई जिल्लामै रोक्न सकिन्छ। मात्र तरकारी बेच्ने बजार र ढुवानी गर्ने ढुवानीको साधनको अभावले समस्या छ।

अहिले तरकारी खेती गर्न स्थानीयले निव्र्याजी क्रृण उपलव्ध गराउँदै आएका छन्। कृषि ज्ञान केन्द्र जुम्लाले पनि तरकारी खेतीका लागि किसानलाई बीउ औजार, उपकरण उपलब्ध गराउँदै आएको छ। तरकारी खेती सम्बन्धी प्राविधिक ज्ञान पनि दिलाउँदै आएको छ।

अहिले सदरमुकाम खलंगादेखि तरकारी व्यापारी गाउँगाउँमा पुगेका छन्। गाउँका किसानसँग सहकार्य गरेर बजारसम्म होलसेलमा तरकारी पुर्याउने गरिरहेको स्थानीय बताउँछन्। किसानले तरकारी फलाईदिनु पर्यो, स्थानीय जीवनबहादुर बुढाले भने, ‘व्यापारी गाउँमै आएर लगेर जान्छन्। नगद गनेर किसानलाई बुझाउँछन्। ’ आलु सिमि त यहाँका कोसेली घरमा बाह्रै महिना पाईन्छ। त्यो बाहेक अन्य तरकारी मौसममा मात्र पाईन्छ।

प्रकाशित: ६ श्रावण २०७६ १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App