७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

खोटाङ– खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो। 

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए। ‘परीक्षा केन्द्रमा प्रवेश गरेर परीक्षा बिथोल्न खोजेकाले पक्राउ गरिएको हो’, प्रजिअ उपाध्ययले भने, ‘हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएको छ।’ 

संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए। उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ। संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाति संघसंगठन आबद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ। 

पक्राउको विरोधमा दिक्तेलमा प्रदर्शन 

यसैबीच, आन्दोलनका क्रममा पक्राउ परेका चार जनाको रिहाईको माग गर्दै दिक्तेल बजारमा प्रदर्शन गरिएको छ। पक्राउ परेका चारै जनालाई विनाशर्त रिहाई गर्न माग गर्दै नारा जुलुससहित बजार परिक्रमा गरिएको हो। आदिबासी जनजाति महासंघ एबं आदिबासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले भवनगैराबाट सुरु गरेको जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा कोणसभामा परिणत भएको थियो। आन्दोलकारीलाई तत्काल रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष एबं संयुक्त संघर्ष आन्दोलन परिचालन समिति खोटाङका संयोजक हात्तिराम राईले बताए।

आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल, आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। पक्राउ परेका युवाहरुलाई अमानवीय हिसाबले दमन गरिएको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका चारै जना प्रहरी हिरासतमै अनसनमा बसेको महासंघले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०७६ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App