९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले ढाल्यो चार नयाँ सीमास्तम्भ

कपिलस्तुको बिजयनगरको सीमाक्षेत्र चरंगहाव नदीमा बाढीले ढलाएको सीमा स्भम्भ।

साउन – नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।

विजयनगर–७ ठकुरापुरस्थित चरगाहवा नदीमा आएको बाढीले सीमास्तम्भ (पिलर) ढालेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए। उनले नेपाल–भारत सिमाना कपिलवस्तुको पश्चिम–दक्षिण भेगबाट बग्ने चरगाहवा नदीमा यसै वर्ष बनाएका५७७/७, ५७७/९, ५७८/७ र ५७८/१० नम्बरका पिलरहरू नदीको बाढीले क्षतिग्रस्त भएको बताए। नेपाल–भारत सीमा सर्भे टोली–३ ले यसै वर्ष सो क्षेत्रमा बनाएका तीन सय ६ वटा पिलरमध्ये कपिलवस्तु खण्डमा बनाइएकामध्ये भारतले बनाएको दुईवटा र नेपालले बनाएको दुईवटा पिलरहरू ढलेका हुन्। नेपाल–भारत सीमा सम्झौताअनुसार नेपालले बिजोर नम्बरका र भारतले जोर नम्बरका पिलरहरूको मर्मत तथा निर्माण गर्ने कार्य गर्दै आएका छन्।

सिमानामा सीमा सुरक्षा एवं पिलरहरूको रेखदेखको काम नेपालले सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय र भारतले सीमा सुरक्षा बल (एसएसबी) लाई मुख्य जिम्मेबारी दिएको छ। कमसल सामग्री प्रयोग गरेका कारण बाढीले पिलरलाई सहजै ढालेको विजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीले आरोप लगाए।

सर्भे नापी टोलीले रुपन्देही र कपिलवस्तुमा यस वर्ष ठूलो जंगी, मझौला र साना स्तम्भसहित तीन सय ६ वटा सीमास्तम्भ मर्मत भएको सहायक प्रजिअ रामेश्वर अर्यालले बताए, जसमा भारतले जोर नम्बरका एक सय ३० वटा सीमास्तम्भ मर्मत–सम्भार गरेको थियो। नेपाली टोलीले बिजोर नम्बरका एक सय ७६ वटा सीमास्तम्भ निर्माण गरिएको थियो। नेपाली टोलीले यसवर्ष रूपन्देही जिल्लामा ४१ वटा र कपिलवस्तुमा एक सय ३५ वटा विभिन्न साइज र आकारका सीमास्तम्भको मर्मत–सम्भार गरेको थियो। टोलीले मंसिरदेखि जेठ महिनासम्म सीमास्तम्भ मर्मत गर्नुका साथै सुर्की र सेतो चुन लगाएर रंगरोगन गरेका थिए।
 

प्रकाशित: ३ श्रावण २०७६ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App