२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच हजार कुखुराको खोरमा चितुवा पसेपछि...(फोटो फिचर)

पोखरा–१६बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीको कुखुराको खोरमा पसेको चितुवा डार्टिङ गरेर उद्धार गरिँदै। तस्बिर सौजन्यः शालिकराम पराजुली

पोखरा-झन्डै ५ हजार कुखुरा रहेको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती चितुवा पसेको थियो।

चितुवालाई डार्टिङ (वन्यजन्तुलाई बेहोस बनाउन टाढैबाट सुइ हान्ने प्रविधि) गरेर बेहोस बनाएपछि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए। पराजुलीका अनुसार मंगलबार राती चितुवा खोरमा पसेको थियो। खोरमा चितुवा पसेकोबारे घरमुलिले विहान मात्र थाहा पाएका थिए। खोरमा चितुवा देखेपछि घरमुलिले खोरको ढोका बन्द गरेर चिुतवालाई भित्रै थुनेका थिए।

खोरमा चितुवा थुनेपछि घरमुलिले वन कार्यालयलाई जानकारी दिएको पराजुलीले बताए। त्यसपछि प्रहरी सहितको वन प्राविधिक टोली केसीको घरमा पुगेको थियो। तर, खोरको मुख खुला राख्दा पनि चितुवा निस्कन नमानेको उनले बताए। ‘घरमुलिले पनि धपाउने प्रयास गरेका रहेछन्। हामीले पनि सुरक्षित रुपमा बाहिर निकाल्न सकिन्छ की भन्ने प्रयास गर्‍यौ,’ पराजुलीले भने, ‘जर्बजस्ती बाहिर निकाल्दा मान्छेमाथि आक्रमण गर्न सक्ने त्रास भयो। त्यसैले जर्बजस्ती गर्न चाहेनौ।’

चितुवालाई नियन्त्रणमा लिनका लागि चितवनस्थित राष्ट्रिय निकुञ्जबाट डार्टिङ गर्ने प्राविधिक र चिकित्सक बोलाइएको उनले बताए। प्राविधिक टोली आएपछि बुधबार दिउँसो मात्र चितुवालाई बेहोस बनाएर खोरबाट बाहिर निकालिएको उनले बताए। ‘खोरमा पसेको चितुवाले केही नोक्सान गरेनछ। एउटा पनि कुखुरा नोक्सान गरेको रहेनछ,’ उनले भने, ‘कुखुरा डराएर च्याप्पिएर ५/७ वटा मरेछन्। अरु क्षति केही गरेको रहेनछ।’

डार्टिङपछि बेहोस भएको चितुवालाई उपचारपछि खोरमा थुनेर लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा पुर्‍याएर छाडेको उनले बताए। ‘डार्टिङ टिमले बेहोस बनाएर बाहिर निकाल्यो, चिकित्सकले चितुवाको शरिरमा रहेको घाउचोटको उपचार पनि गरे,’ उनले भने, ‘त्यसपछि खोरमा राखियो। खोरमा राखेपछि चितुवा होसमा आएको थियो।’ खोरभित्र थुनिएको चितुवा आत्तिएर यताउती गर्दा शरिरमा केही चोट लागेको पनि उनले बताए।

पराजुलीका अनुसार झन्डै ४ वर्ष उमेरको यो पोथि चितुवा हो। घरमुलि केसीले कुखुरासँगै नजिकैको खोरमा दुईवटा कुकुर पनि पालेका थिए। त्यही कुकुरको गन्धले पनि चितुवा खोरमा पसेको हुनसक्ने उनले बताए। ‘घर नजिकै जंगल भएकोले पनि आहाराको खोजिमा रहेको चितुवा बस्तीमा पसेको हुनसक्छ,’ पराजुलीले भने। पराजुलीका अनुसार यो मध्यपहाडी भेगमा मात्र पाइने चितुवा हो।

 

 

पोखरा–१६बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीको कुखुराको खोरमा पसेको चितुवा डार्टिङ गरेर उद्धार गरिँदै। तस्बिर सौजन्यः शालिकराम पराजुली
पोखरा–१६बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीको कुखुराको खोरमा पसेको चितुवा डार्टिङ गरेर उद्धार गरिँदै। तस्बिर सौजन्यः शालिकराम पराजुली
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App