१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कान्छी ल्याउन, बिमा कुम्ल्याउन 'कन्ट्र्याक्ट किलर'

लक्ष्मी परियारको हत्यामा संलग्न उनका पति रमेश (बायाँबाट दोस्रो) सहित सञ्जय, चित्तरञ्जन र अनु परियार। तस्बिर ः उमेश पुन÷नागरिक

पोखरा - पोखरा महानगरपालिका–१५ का रमेश नेपालीले कान्छी ल्याउने योजनाअनुरूप २७ वर्षीया पत्नी लक्ष्मी परियारको हत्या गराएको रहस्य सार्वजनिक भएको छन्। उनले प्रेमिका अनु परियारको उक्साहटमा भारतीय कन्ट्र्याक्ट किलर प्रयोग गरी पत्नी हत्या गर्न लगाएको खुलासा भएको हो।

घटना गत असार १ गतेको हो। रमेशले पत्नी हराएको भन्दै खोजीका लागि असार २ गते कास्की प्रहरीमा निवेदन दिएका थिए। पेसाले मोबाइल बिक्रेता उनी निवेदन दिएयता दुई बालक छोरासहित दिनहुँ जिप्रका पुग्ने गर्थे। पत्नी चाँडो पत्ता लगाइदिन प्रहरी अधिकृतदेखि सिपाहीसम्मलाई अनुरोध गर्थे। उनले पत्नी हराएको भन्दै स्थानीय एफएम, टेलिभिजनमार्फत सूचना पनि प्रशारित गराए। युट्युबरहरूलाई बोलाएर लक्ष्मी हराएको सूचना पाएलगत्तै प्रहरी भने उनको खोजीमा खटिएको थियो। लगातार खोजीमा खट्दा पनि प्रहरीले लक्ष्मीको सुइँको पाउन सकेको थिएन। परिवार तथा स्थानीयसँग सोधपुछ गर्दा पनि लक्ष्मीको सुइँको नपाएकाले प्रहरी हैरान थियो। तर असार २५ गते घटनामा अचानक नयाँ ट्विस्ट आयो।

रमेशले युट्युबरहरूलाई बोलाएर पत्नी हराएको र सोही कारण छोराछोरीको बिजोग भएको भन्दै रुँदै बिलौनासमेत गरे। तर उनको बिलौना र रोइकराइ गर्ने नाटक प्रहरीसामु धेरै दिन टिकेन।

प्रहरीले लक्ष्मीको हत्या आशंकामा निवेदक रमेशलाई नै पक्राउ ग¥यो। शंकाको मुख्य कारण थियो लक्ष्मीको अन्य कोहीसँग सम्बन्ध नहुनु र उनले प्रयोग गर्दै आएको मोबाइल रमेशको मोबाइल पसलमै हुनु। चार महिनाअघि मात्र लक्ष्मीका नाममा एक करोड रुपैयाँको बिमा गरिएकाले प्रहरीको शंका रमेशतिर सोझिएको थियो। पत्नीको खोजी गरिदिन भन्दै दिनहुँ प्रहरी कार्यालय धाउने रमेश आफैंलाई प्रहरीले शंका गरेर पक्राउ गरेपछि आत्तिए। उनी प्रहरीको अनुसन्धानका क्रममा तुरुन्तै हायलकायल भए र हत्या आफ्नै योजनामा भएको स्वीकारे। उनको बयानका आधारमा कास्की प्रहरीले मृतक लक्ष्मीको कंकाल पोखरा–२२ पुम्दीभुम्दीस्थित कर्कले जंगलबाट बरामद ग¥यो।

रमेशको बयानअनुसार अनु परियारसँग उनको एक वर्षअघिदेखि प्रेम–सम्बन्ध थियो। अनु र लक्ष्मी नाताले टाढाका दिदीबहिनी हुन्। प्रेम झांगिँदै गएपछि दुईबीच भेटघाट बाक्लिनुका साथै शारीरिक सम्पर्कसमेत भयो। यो कुरा लक्ष्मीलाई थाहा भयो। उनले रमेशलाई अनुसँग टाढै बस्न दबाब दिइन्। तर दबाबका बीच उनीहरूको सम्बन्ध टाढिनुको सट्टा गाढिँदै गयो। यही बीचमा अनुले लक्ष्मीलाई ‘साइड’ लगाए आफू पत्नी बन्न तयार रहेको भन्दै रमेशलाई उकासिन्।

अनुको कुरालाई रमेशले गम्भीर रूपमा लिँदै मनमा राखे। अनुसँग घरबार गर्ने कुरा दिमागमा राखेर रमेशले पत्नी लक्ष्मीको हत्या गर्ने योजना बनाए। योजना उनले साथी सञ्जय शर्मालाई सुनाए। हत्या योजना सुनाउँदा रमेशले सञ्जयले आफूले पत्नी मार्न लागेको कुरा नगरी कुनै एक धनी महिलाको हत्या गर्नुपर्ने र हत्या गरेबापत ठूलो रकम आउने नाटकीय कथा बनाए। पैसाको लोभमा सञ्जय पनि हत्या योजनामा सहभागी हुन सहमत भए।

सल्लाहबमोजिम सञ्जयले पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सर्लाही ईश्वरपुर घर भएका चित्तरञ्जन शाहमार्फत १० लाख रुपैयाँमा भारतबाट तीनजना कन्ट्र्याक्ट किलर मगाए। भारतबाट आएका कन्ट्र्याक्ट किलरहरू जेठ ३० गते पोखरा आए र पृथ्वीचोकस्थित कोसी होटलमा बास बसे। जेठ ३१ गते रमेशले ती भारतीय कन्ट्र्याक्ट किलरलाई एक लाख रुपैयाँ एडभान्स दिए। सोही दिन रमेश, सञ्जय, चित्तरञ्जनसहित भारतीय कन्ट्र्याक्ट किलर गएर हत्या गर्ने ठाउँको अवलोकन गर्नुका साथै हत्याको बाँकी योजना बनाए।

हत्या भएको दिन असार १ गते रमेश र सञ्जयले लेकसाइडस्थित पोखरा बाइक रेन्ट प्रालिबाट ग११प ८००३ नम्बरको स्कुटर भाडामा लिए। पोखरा नयाँबजारस्थित दीपक कार डेकोरबाट ग१च २३६३ नम्बरको कार पनि भाडामा लिए। सोही कारमा सञ्जय शर्माले कोसी होटलबाट चित्तरञ्जनसहित तीनैजना कन्ट्र्याक्ट किलरलाई लिएर पोखरा–२२ पुम्दीभुम्दीस्थित कर्कले जंगल पुगे। लगत्तै रमेशले पत्नी लक्ष्मीको खुट्टामा भएको घाउमा जडीबुटी लगाएर निको पार्ने भन्दै जडीबुटी खोज्न लक्ष्मीलाई लिएर कर्कले जंगल पुगे। जंगलमा पुगेपछि रमेशले ‘मलाई पिसाब लाग्यो एकैछिनमा आउँछु तिमी झार खोज्दै जंगलतिर जाऊ’ भने।

जडीबुटीसम्बन्धी झार खोज्दै केही तल पुगेकी लक्ष्मीलाई योजना मुताविक लुकेर बसेका भारतीय कन्ट्र्याक्ट किलरले मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटेर हत्या गरे। हत्या गरेर जंगलबाट निस्केका कन्ट्र्याक्ट किलरले सोही दिन थप पाँच लाख लिएर बाँकी चार लाख चित्तरञ्जनमार्फत पछि लिने भन्दै भारततर्फ लागे।
घटनापछि प्रहरीले रमेश, सञ्जय, चित्तरञ्जन र अनु परियारलाई नियन्त्रणमा लिएको छ। बाँकी भारतीय तीनजना कन्ट्र्याक्ट किलरको भने खोजी भइरहेको तर पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए। पक्राउ गरिएका चारै जनालाई बुधबार सार्वजनिक गरिएको छ। उनीहरूलाई मानव हत्यासम्बन्धी मुद्दा चलाइने उनले जानकारी दिए।

प्रकाशित: २ श्रावण २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App