८ वैशाख २०८१ शनिबार
समाज

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तिनाउ अम्लिहान पुल उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेल । तस्बिरः मुक्ति/नागरिक

पाल्पा– तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्। 

देशभर ठेकेदारले काम अलपत्र पारेर हिडिरहेको समयमा पाल्पाको अम्लिहान खोलामा काम सुरु गरेको ८ महिनामै पुल बनेको हो। पुल बनेपछि अहिले गाडी समेत गुड्न थालेका छन्। बाँसटारी–झडेवा–गोठादी–खैरेनी सडकखण्ड अन्तर्गत बनेको पुल सिद्धार्थ राजमार्गको बाँसटारीदेखी ५ दशमलव ५ किलोमिटर टाढा पर्दछ। 

२०७५ सालको असोज ८ गते शिलान्यास भएकोे पुलको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन्। पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माण कार्य गर्न सरकारले प्राथमिकता दिँदै आएता पनि यसको प्रगति ठेकेदार (निर्माण व्यवसायी) मा भर पर्ने बताए। उनी भन्छन्, ‘सरकार जनताको अपेक्षा पुरा गर्न तयार छ। यसप्रकारका निर्माण व्यवसायीलाई प्रोत्साहित गर्नपर्छ। सबैले आआफ्नो जिम्मेवारी पुरा गर्ने हो भने देशको विकास हुन समय लाग्दैन।’ मुख्यमन्त्री पोखरेलले आर्थिक क्रान्ति गर्न कृषि र देशको विकास गर्न शिक्षाको आवश्यकता पर्ने बताए। ‘एकातिर विकासका लागि पैसाको कमी छ। पैसा पर्याप्त छ। अर्कोतर्फ पैसा जति पनि छ भएको पैसा खर्च भैरहेको छैन। एक प्रकारले भन्ने हो भने निर्माण व्यवसायीहरुको निर्माणको क्षमता कमजोर छ, मुख्यमन्त्री पोखरेलले भने, जसले समयमा काम गरेको छ। उनीहरुलाई प्रोत्साहित गर्न प्रदेश सरकार उपस्थित छ। हामी धन्यवाद व्यक्त गर्छु जसले समयमा काम सम्पन्न गर्नुभएको छ।’

प्रदेश नं. ५ का भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रदेश नं. ५ अन्य सात प्रदेशभन्दा धेरै आर्थिक प्रगति गर्ने प्रदेश भएको बताए। ‘समय अगावै काम सकेर तिनाउको अम्लिहानमा पुल बनेको छ। सरकारले काम गर्ने ठेकेदारहरुको सूची बनाउँदैछ। काम नगर्ने ठेकेदारहरुलाई कालोसूचीमा राखेर काम नदिने प्रक्रियामा रहेको छ’, मन्त्री चौधरीले भने, ‘हामी सरकारले काम गरेन भनिरहेका छौं। कुनै व्यक्तिले सरकारलाई गाली गर्नुभन्दा सबैले मिलेर काम गर्न जरुरी छ।’

विश्व बैंकको एसएनआरटिपी कार्यक्रम अन्तर्गत ५ नं. प्रदेश सरकारको ६ करोड ५१ लाख ९७ हजार ४ सय ५९ रुपैयाँको लगानीमा तिनाउमा पुल निर्माण भएको हो। रसुवा कन्सट्रक्सन प्रालि धापासीले जय बिष्णु निर्माण सेवा मार्फत् पुल निर्माण कार्य सम्पन्न गरेको हो। ठेकेदार कम्पनीका प्रतिनिधि अनिल सिलवालले सबै पक्षको सहयोगमा समयमै काम सम्पन्न गरिएको बताए। उनी भन्छन्, ‘असारको २४ गते सम्झौता गरेका थियौं। हामीले यसलाई अवसरकार रुपमा लियौं। छिटो काम गर्न हामी आन्तरिक व्यवस्थापन गर्यौं। दिनरात खटेर विभिन्न बाधा अवरोधहरुका बीच पनि काम समयभन्दा छिटो नै सकेका छौं।’ ‘इन्टिग्रेटेड सिष्टमबाट काम गर्दा सफल भएका छौं’, सिल्वालले भने। सबै पक्षको सहयोग भए नेपालमा विकास सम्भव रहेको उनले बताए। 

पुल निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न आयोगित कार्यक्रममा पाल्पाका संघीय सांसद दलबहादुर राना र सोमप्रसाद पाण्डेले जनस्तरबाट निर्माण व्यवसायीलाई सहयोग तथा निरन्तर अनुगमन र रेखदेखकै कारण समयमै काम सम्पन्न भएको बताए। 

पुल निर्माणको समय २०७६ असार २३ गतेसम्म तोकिएकोमा १५ गते नै सम्पन्न गरि निवेदन कार्यालयमा प्राप्त गरेको पूर्वाधार विकास कार्यालय पाल्पाका इञ्जिनियर प्रेम बस्यालले बताए। ४८ पाइल १४ मिटर जमिनमुनी गाडिएको पुलमा एउटामात्र स्पान प्रयोग गरिएको छ। कुल ८ दशमलव ४ मिटर चौडाई रहेको पुलमा ८ दशमलव २ मिटरका २ प्याराफिट समेत राखिएको इञ्जिनियर बस्यालले बताए। पुल ४० मिटर लामो रहेको छ।

तिनाउ अम्लिहान पुल उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेल । तस्बिरः मुक्ति/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App