१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय पाठ्यक्रमबारे विज्ञहरुसँग छलफल

उपमहानगरले विज्ञहरुसँग छलफलका लागि आयोजना गरेको संगोष्ठी कार्यक्रममा सहभागीहरू। तस्बिरः नागरिक

रुपन्देही– स्थानीय पाठ्यक्रम निर्माण गरेको बुटवल उपमहानगरपालिकाले शैक्षिक संगोष्ठी गर्दै विज्ञहरूबाट थप सुझाव लिन थालेको छ। स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र कक्षा–११, १२ का लागि प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षाका बारेमा विज्ञहरुको राय सुझाव लिनका लागि संगोष्ठी गरिएको हो।

स्थानीय तहले स्थानीय परिवेशअनुसारको पाठ्यक्रम निर्माण गर्दै गर्दा अबको शिक्षा कस्तो बनाउने र त्यसबाट उत्पादित जनशक्तिलाई कहाँ उपयोग गर्न गरी पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले छलफल र सुझाव लिनका लागि कार्यक्रम गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

संगोष्ठीमा मुलुकका शिक्षाविद्, विषयविज्ञहरू र यहाँका शैक्षिक सरोकारवालाहरूको सहभागिता थियो। विज्ञहरूले स्थानीय पाठ्यक्रमले बुटवलको चिनारी गराउने र यहाँको समृद्धिका लागि यहीँको समुदायबाट जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

बुटवलले स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाको मस्यौदा तयार पारेको छ। आउँदो शैक्षिक शत्रदेखि लागू गर्ने यीनै विषयका मस्यौदामा उपमहानगरपालिकाले विज्ञहरुको सुझाव संकलन गरेको हो। गोष्ठीमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताए। बुटवलले बनाएको स्थानीय पाठ्यक्रम यहाँका अरु स्थानीय तहका लागि पनि उपयोगी दस्तावेजको काम गर्ने मन्त्री बरालले विश्वास व्यक्त गरे।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी स्थानीय पाठ्यक्रममा समेट्ने विषयहरु र लक्षित विद्यार्थीहरुको उमेर समूहलाई हेक्का राख्दै पाठ्यभार निर्धारण गरिएको बताए। उनले शैक्षिक संगोष्ठीले बुटवलको नगर शिक्षा योजनालाई व्यवहारिक बनाउन विशेष मद्दत पुग्ने भन्दै सबैको सहकार्यमा योजनाहरुलाई कार्यान्वयन गर्दै व्यवहारिक बनाइने बताए।

शिक्षाविद् डा.विद्यानाथ कोइरालाले विद्यालयलाई बालबालिकाका लागि बहुज्ञान सिकाउने थलोका रुपमा विकास गर्न विकास गर्नुपर्ने र उनीहरुले रोजेको मातृभाषाका कक्षा पनि चलाउनुपर्ने सुझाव दिए। विद्यार्थीले खोजेअनुसारको सीप सिकाउने र त्यो सीपलाई बेच्ने ठाउँको पनि विकास गरिनुपर्ने डा. कोइरालाको सुझाव छ। बालबालिकालाई चुनौतीका बारेमा जानकार गराउने र चुनौतीसंग जुध्न पनि सिकाउनुपर्ने भन्दै विज्ञ कोइरालाले समुदायसंग जोड्ने र समुदायबाटै केही कुरा सिक्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिए।

विज्ञहरुका सुझावका आधारमा मस्यौदालाई अन्तिम रुप दिइने र आउँदो शैक्षिक शत्रदेखि लागू गरिने बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरी एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम तयार पारेको छ। बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृति, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

प्रकाशित: २९ असार २०७६ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App