८ वैशाख २०८१ शनिबार
समाज

७० हजार परिवार छानामुनि

पुनर्निर्माणपछि रंगीन बनेर ठडिएको हिमाली गाउँपालिका जुगलको गुम्बा गाउँ। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक - २०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।

जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) व्यवस्थापक लक्ष्मणकुमार सेठले हाल कायम लाभग्राही संख्याको आधारमा झन्डै ८० प्रतिशत पुनर्निर्माण सकिएको बताए। ‘अभियानकै रूपमा पुनर्निर्माण जारी छ,’ उनले भने, ‘यसलाई अझै तीव्र बनाउने कोसिस गरिरहेका छौं।’ जिमालीका अनुसार तेस्रो किस्ता लिने संख्याको आधारमा ६९ हजार नौ सय ४९ घरको पुनर्निर्माण सकिएको हो। थप १६ हजार घरको पुनर्निर्माण जारी छ। त्यसमध्ये साढे ११ हजार घरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। दुई हजार तीन सय परिवारले मात्र घर बनाउन सुरु गरेका छैनन्। भौतिक क्षतिका आधारमा जिल्लाको पुनर्निर्माण उत्साहजनक रहेको आयोजना व्यवस्थापक सेठ बताउँछन्। हाल कायम लाभग्राही सूचीमा ८८ हजार दुई सय २३ परिवार समेटिएका छन्। उनीहरूमध्ये झन्डै ८६ हजारले पहिलो र साढे ८१ हजारले दोस्रो किस्ता पाइसकेका छन्।

मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको थियो। झन्डै शतप्रतिशत घरसंरचना ढलेका थिए। पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म अझै पुनर्निर्माणकै चटारो छ। भूकम्पको चार वर्ष र पुनर्निर्माण अभियान थालनीको तीन वर्षमै सिन्धुपाल्चोक ठडिएको छ। जिल्लाका गाउँबस्ती भूकम्पअघिकै पूर्ववत् अवस्थामा मात्र पुगेका छैनन् झन् बलिया, राम्रा, चिटिक्क र सुन्दर भएका छन्। जिल्लाको जुनसुकै भूभागबाट नियाल्ने हो भने चारैतिर रंगीन बनेर ठडिएका गाउँबस्ती देख्न सकिन्छ। भूकम्पको वर्ष दिनपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले आशातीत गति लिन सकेको थिएन। २०७४ वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समयसीमा तोकेपछि पुनर्निर्माण अभियान ह्वात्तै अघि बढिरहेको छ।

१९ हजार गुनासोकर्ता
भूकम्पप्रभावित लाभग्राहीमा समेटिन छुटेको भन्दै १८ हजार नौ सय ९४ परिवारले गुनासो गरेका छन्। गुनासो सम्बोधनबाट लाभग्राही संख्या अझै थपिने भएको छ। जसले पुनर्निर्माण अभियान अझै लम्बिने प्रस्ट छ। अन्तिम पटक भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो पटक असार १५ गतेसम्म गुनासो भर्ने समय दिएको थियो। यो अवधिमा थप १० हजार गुनासा संकलन भएको आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ।

भूकम्पलगत्तै गरिएको सर्भेबाट जिल्लामा ७८ हजार परिवार लाभग्राहीमा समेटिएका थिए। अन्तिम पटक गुनासो गर्ने अवसर दिनुअघि १८ हजारले गुनासो भरे। तीमध्ये १० हजार गुनासो सम्बोधनबाट नौ हजार थपिँदा लाभग्राही संख्या बढेर ८७ हजार नाघेको हो। सम्बोधन हुन बाँकी पुराना आठ हजारसहित पछिल्लो पटक थपिएका १० हजार गुनासाको अहिले छुट तथा पुनः सर्भे भइरहेको छ।

प्रकाशित: २७ असार २०७६ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App