coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आकासे पानीको भरमा पुनर्निर्माण

आकासे पानी संकलन गर्न खाल्डोमा प्लाष्टिक बिछ्याएर बनाइएको पोखरी। तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ) – बजेट सक्ने चटारोले जिल्लाभर धमाधम असारे विकासका काम भइरहेका छन्। असारे विकासको गुणस्तरीयताबारे प्रश्न उठ्ने गरे पनि जिल्लाकै प्रसिद्ध छिम्केश्वरी मन्दिरको पुनर्निर्माण भने जेठ असार नै पर्खिएर सुरु गरिएको छ।

तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित मन्दिरको काम बर्खायामको बेला आलोचना खेप्न र बजेट सक्ने रहरले नभई बाध्यताले गरिएको हो। बर्खाको समय काम गर्दा जोखिम भए पनि पानीको जोहो गर्न सजिलो हुने भएकाले बर्खा कुर्नु परेको स्थानीय बताउँछन्।

दुई हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित मन्दिरमा अरु बेला पानीको अभाव हुने कारण बर्खा लाएपछि धमाधम काम हुँदैछ। यतिबेला दैनिकजसो वर्षा हुने र आकासे पानी संकलन गरी काम गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन्।

आकासे पानी संकलन गर्न मन्दिरको नजिकै पोखरी निर्माण गरिएको छ। आकासबाट खसेको पानी उक्त पोखरीमा संकलन हुन्छ र त्यही पानी प्रयोग गरेर मन्दिर निर्माणको काम गर्नेे गरिएको छ।

‘मन्दिर भएको डाँडामा पानी अभाव छ, नजिक कतै पानीको स्रोत छैन,’ उनले नागरिकन्युजसँग भने, ‘खोलाबाट पानी बोकी साध्य हुन्न। बर्खाको बेला समयसमयमा पानी पर्छ। त्यही पानी संकलन गरेर काम गर्न सहजता हुने भएकाले जेठ असारमा काम थालिएको हो।’ 

आकासे पानी संकलन गर्न मन्दिरको नजिकै पोखरी निर्माण गरिएको छ। आकासबाट खसेको पानी उक्त पोखरीमा संकलन हुन्छ र त्यही पानी प्रयोग गरेर मन्दिर निर्माणको काम गर्नेे गरिएको उनको भनाइ छ।

पुरानो ढुंगाले छाएको मन्दिरलाई भत्काएर दुई महिना यता नयाँ पक्की मन्दिर निर्माणको काम जारी छ। ‘हिँउदको बेला काम गर्दा पानीको अभाव हुन्छ,’ उपभोक्ता समिति अध्यक्ष गुरुङ भन्छन्, ‘एक गाग्री पानी लिन साढे दुई घण्टा समय खर्चिनुपर्छ।’

पानी लिन मन्दिरभन्दा तल लाब्दी गाउँको ठुलो खोलामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय कुमार गुरुङले बताए।  उनका अनुसार सानो एक ग्रागीमा लाब्दीबाट मन्दिरसम्म पानी पु¥याएको ज्याला ५० रुपैयाँ दिने गरिएको छ। उनले कामदारसमेत पाउन मुस्किल हुने गरेको सुनाए।

गाउँमा युवापुस्ता कम भएका कारण ज्याला मजदुरी गर्ने कामदारको अभाव छ। गाउँभर महिला र बूढापाका छन्। ‘अहिले जसोतसो कामदार जुटाएर मन्दिरको काम गरिएको छ,’ उनले भने, ‘बर्खाको बेला भएकाले आकासे पानी संकलन गरेर काम गर्दा केही सजिलो भएको छ।’

आँबुखैरेनी गाउँपालिकामा पर्ने छिम्केश्वरी मन्दिरसम्म हालसम्म मोटरबाटो पुगेको छैन। आँबुखैरेनी बजारदेखि १९ किलोमिटर पर लाब्दी गाउँसम्म मोटरबाटो छ। त्यहाँबाट १२ किलोमिटरमाथि डाँडामा रहेको मन्दिरसम्म सबै निर्माणका सामग्री मजदुर लगाएर बोक्नुपर्ने समस्या छ।

गोरखाको प्रसिद्ध मन्दिर मनकामना माईको जेठी दिदीको रुपमा छिम्केश्वरीलाई चिनिन्छ। तसर्थ पुरानो मन्दिर भत्काएर गोरखा मनकामना मन्दिरको शैलीमा छिम्केश्वरीको पुनर्निर्माण थालिएको हो। मन्दिर बनाउन गाउँपालिकाले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। आगामी वर्षको बजेटमा २५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। हाल मन्दिरको भुइँ ढलान सकिएको निर्माण उपभोक्ता समिति अध्यक्ष तुलबहादुरले बताए।

बहुवर्षीय योजना बनाएर मन्दिर निर्माणको काम सक्ने गाउँपालिकाको लक्ष्य छ। मन्दिरको निर्माण सम्पन्न गर्न ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

प्रकाशित: २३ असार २०७६ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App