६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न ‘दबाब’

बेइजिङ - लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ। काठमाडौं पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो।

केही दिनअघि चीनमा नेपाली ४४ महिला बिचल्लीमा परेको समाचार नागरिकमा छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन्। घिमिरे र कार्कीले आइतबार समूहसमूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाब दिएका हुन्। घिमिरे र कार्कीले फरकफरक समूहमा राखेर उनीहरुस“ग कुराकानी गरेको एक महिलाले नागरिकलाई बताइन्। ‘हामी नेपालबाट अरु मान्छे यहाँ काम गर्न पठाउँदैछौं। तिमीहरु फर्कियौ भने हाम्रो प्रतिष्ठा बिग्रन्छ’, कुराकानीका क्रममा कम्पास मेनपावर कम्पनीका सञ्चालकलाई उद्धृत गर्दै ती महिलाले भनिन्।

कम्पास मेनपावरका सञ्चालक घिमिरेले टेलिफोनमा नागरिकसँग ‘नेपाली चेलीलाई यहीं काम गर्ने वातावरण मिलाउन आएको’ बताए। धेरै मान्छेसँग एकै ठाउँ कुरा गर्ने अवस्था नभएकाले छुट्टाछुट्टै राखेर कुरा गरेको उनले बताए। आफूहरुले दबाब नदिएको तर केही महिलाले अरुलाई भड्काउने काम गरिरहेको पनि उनले बताए।

चीनम आउने सबै खर्च चिनियाँ कम्पनीले बेहोर्दाबेहोर्दै कामदारबाट पैसा लिएको कुरा घिमिरेले स्वीकार गरे। उनले प्रतिकामदार ४५ हजार लिएको बताए तर पीडितले ६० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म मेन पावरलाई बुझाएको बताउँदै आएका छन्। चीनमा काम गर्ने नेपालीले मासिक २५० डलर पाउने घिमिरेले बताए। सम्झौतामा ३५० डलर उल्लेख भए पनि काम नजानेकाले घटाइएको उनले बताए। यता मेनपावरले जतिसुकै दबाब दिए पनि आफूहरुले कुनै पनि हालतमा काम नगर्ने एक पीडित महिलाले बताइन्। उनले भनिन्, ‘अरु त थाहा छैन तर हामी २४ जना दुई सातादेखि काममा गएका छैनौँ। कमसेकम हामी २४ जनाचाहिँ नेपाल फर्कन चाहन्छौँ।’ उनीहरुले जतिसुकै सुविधा दिए पनि आफूहरुले सिलाइको काम गर्न नसक्ने बताए।

चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तस्थित तानतोङ सहरस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनेर मे १२ तारिख र ३१ तारिखमा दुई चरणमा ४९ नेपाली महिला ल्याइएका थिए। उनीहरुमध्ये पाँचजना चीनमा आएको केही दिनमै नेपाल फर्किसकेका छन् भने ४४ जना ल्याउनिङमै बिचल्लीमा परेका छन्। नेपालबाट कपडा प्याकिङको सजिलो काम भनी आएका ती नेपाली महिलालाई चिनियाँ कम्पनीले ज्याकेट सिलाउने काममा लगाएको छ। कहिल्यै सिलाइको काम नगरेका उनीहरुले काम गर्न नसक्ने भनी २४ नेपाली महिला विगत दुई सातादेखि काममा गएका छैनन्।

बेइजिङस्थित नेपाली दूताबासका मिनिस्टर सुशील लम्सालले श्रम विभागका महानिर्देशकलाई कम्पास मेनपावरमाथि कारवाही गर्न दूताबासले दोहो¥याएर पत्राचार गरेको बताए। पहिलोपत्र तीन साता अगाडि दूताबासले पठाएको र फेरि अर्को पत्र चारदिनअघि पठाएको उनले स्पष्ट पारे।

प्रकाशित: २३ असार २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App