सर्वसाधारणले बजारमा ग्यास नपाएर सास्ती खेपिरहेका बेला काठमाडौंस्थित रेडिसन होटलले ठूलो परिमाणमा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको छ।
उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मार्दा होटल परिसरमा १८४ वटा ग्यास सिलिन्डर अनधिकृत रूपमा मौज्दात राखिएको फेला पारेको हो।
विभागका अनुसार अनुगमनका क्रममा होटलबाट नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा भरिएका सिलिन्डर बरामद भएका छन्। यसका साथै, होटलका चुलोमा थप करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको अवस्थामा फेला परेको विभागले जनाएको छ।
पर्याप्त मात्रामा आयात र आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव देखिएपछि विभागले ठूला होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमाथि निगरानी बढाएको थियो। सोही क्रममा गरिएको आकस्मिक अनुगमनका क्रममा रेडिसन होटलमा ग्यासको गैरकानुनी भण्डारण भटिएको हो।
उपभोक्तालाई ग्यास पाउन कठिन भइरहेका बेला पाँचतारे स्तरको होटलले ग्यास सञ्चित गरी कृत्रिम अभावलाई बढावा दिएको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै सर्वसाधारणलाई अभाव झेल्न बाध्य पार्ने होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणकर्ताहरूविरुद्ध अनुगमन र कारबाहीलाई थप कडा बनाउने बताएको छ।
प्रकाशित: २८ श्रावण २०८३ १५:०६ बिहीबार



-600x400.jpg)

