४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

'धर्तीमाता' बताउने कुँवरलाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं - सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ।

महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप भएकाे हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी आफूलाई धार्तीमाता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थपिएको हो । उनले भने,‘ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो।’

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छ।

डिएसपी बोगटीका अनुसार कुँवरले आफूलाई देउता चढेकाले ‘त्यस्तो’ गरेको बयान दिएकी छिन्। ‘देउताले अह्राएअनुसार काम गर्ने हो,’ कुँवरलाई उद्धृत गर्दैै डिएसपी बोगटीले भने, ‘देउता चढेपछि म के गर्छु, के भन्छु मलाई नै थाहा हुँदैन। जे गरें देउता चढेपछि गरें।’ कुँवरले देउता चढेपछि खुकुरी पनि नचाउने गरेको बयान दिएको बोगटीले बताए। माता चढेका बेला आफूबाट युवतीमाथि हातपात हुन गएको  भन्दै उनले प्रहरीसमक्ष माफी मागेकी छन्।

हिरासतमा पनि माता चढेको भन्दै कुँंवर काम्ने र उफ्रिने गरेकाले थप बयान लिन समस्या भएको जानकारी बोगटीले दिए। यसै कारण प्रहरीले उनलाई सार्वजनिक गर्न सकेको छैन।

बुटवलबाट असार १ गते काठमाडौं आएकी कुँवरले ५ गते भद्रकाली मन्दिरमा बोक्सी भगाउने नाममा एक युवतीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। भिडिओको आधारमा नागरिक दैनिकले खोजी गर्दा आफूलाई ‘धर्तीमाता’ का रुपमा चिनाउने विष्णु कुँवर युवतीलाई बोक्सी भगाउने नाममा कुटपिट गरेको खुल्न आएको थियो। नागरिकमा यस विषयमा समाचार  छापिएपछि प्रहरीले कुँवरको खोजी गरेको थियो।

कुँवर ‘तँ को होस् ?  छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सार्वजनिक स्थलमा युवतीमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा कुँवरविरुद्ध अनुसन्धान थालिएको जानकारी दिए।

कुँवरले त्यहा माताको मण्डप नै तयार पारेको र उनलाई भेट्न÷देखाउन देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्। सामाजिक सञ्जालमा भने धर्तीमाता भनिने कुँवरले युवतीमाथि आक्रमण गरिरहेको अवस्थामा साथै रहेका प्रहरी र उपस्थित सर्वसाधारण मुकदर्शक बनेको विषयलाई लिएर व्यापक आलोचना भएको छ।

अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।

बुटवलका दुई व्यक्तिलाई पनि धारिलो हतियार प्रहार गरेको आरोपमा कुँवरलाई बुटवल प्रहरीले पक्राउ गरेको थियो। प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई व्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टि गरे। गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छिन्।

प्रहरीका अनुसार उनले बटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरीष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहार गरेकी थिइन्। धारिलो हरियार प्रहारबाट घाइते भएका उनीहरुले प्रहरीसमक्ष उजुरी गरेका थिए।  पीडितको उजुरी आधारमा कुँवरलाई पक्राउ गरियो। तर पीडितले नै उनीविरुद्ध हालिएको उजुरी फिर्ता लिएपछि छाडिएको प्रहरीको भनाइ छ।

बुटवलको घटना मंसिर ११ को हो। सो घटनापछि माताको भेषमा जे गर्दा पनि हुन्छ भनेर उनमा आत्मबल बढेको देखिन्छ। प्रहरी निरीक्षक केसीले कुँवरविरुद्ध उजुरी पर्ने क्रम पछिल्लो समय ह्वातै बढेको बताए। उनका अनुसार माताले कुटेको, निको पार्छु भनेर ठगेको भन्ने जस्ता उजुरी आएका छन्। उजुरीमाथि गम्भीर रुपमा अनुसन्धान गरिरहेको केसीले बताए। ‘कुँवरविरुद्ध सर्वसाधारणबाट थरीथरी उजुरी परेका छन्’, उनले भने, ‘उहाँलाई बोलाएर सोधपुछ गर्ने प्रक्रियामा थियौं। काठमाडौं गएकाले सोधपुद्ध गर्न सकिएन। प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको छ।’

कुँबर २०५८ सालदेखि गुल्मी छाडेर हिडेकी हुन्। आफूलाई माता चढेपछि गाउँ छाडेर बुटवल आएको उनले बताएको बुटवल प्रहरीको भनाइ। कुँवर वुटवल आएपछि चौराह (बेस क्याम्प) प्रदर्शनी मण्डपमा बस्दै आएकी थिइन्। बुटवलमा उनी माता उत्रने नाममा एकसरो लुगा लगाएर ध्यानमा बस्थिन्।  कुँवरले माताको काम पनि त्यहींबाट सुरु गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनलाई करिब एक वर्षअघि प्रदर्शनी मण्डपबाट स्थानीयले बल प्रयोग गरेर हटाएको थिए। स्थानीयले प्रदर्शनी मण्डपबाट हटाएपछि उनी कालिनकानगर, लखनपथमा डेरामा बस्न थालेकी हुन्। कुँवरले लखनपथपस्थित डेराबाट माताको काम गर्दै आएको उनका भाइ विजयले बताए। विजयका अनुसार कुँंवर बुटवलमा माता भेष धारण गरेको तीन वर्ष भयो। ‘धेरै भयो गाउँ छाडेको। म तपाईसँग सबै कुरा भन्न सक्ने अवस्थामा छैन,’ विजयले भने।

कुँवर केही महिनाअघि गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगा पुगेर ध्यान बसेको गुल्मी प्रहरीले बतायो।  वैशाखमा रेसुंगामा एक महिना ध्यान गरेर उनी बुटवल फर्केकी थिइन्। गुल्मी छाडेपछि उनी काठमाडौं आएकी थिइन्। काठमाडौंबाट उनी बुटवल गएर बस्न थालेकी हुन्।  काठमाडौंको मित्रनगरस्थित गोधुली रोधीघरमा  उनले गायिकाको रुपमा काम गरिन्। भाइ विजयले कुँवरले काठमाडौंको रोधीघरमा गीत गाउने गरेको स्वीकारे तर कुन रोधीघरमा  कति सालमा काम गरेको हो भन्ने खुलाउन चाहेनन्। काठमाडौंबाट बुटवल गएपछि पनि कुँवरले सुरुसुरुमा रोधीघरमा नै गीत गाउने काम गरिन्। रोधीघरमा गाउने काम गर्दागर्दै माता उत्रिएको भन्दै उनले गाउन छाडेको प्रहरी अधिकारीको भनाइ छ। विजयका अनुसार कुँवरले काठमाडौं छाडेको पाँच वर्षभन्दा बढी भएको छ।

बुटवल प्रहरीका अनुसार कुँवरलाई हेराउन÷देखाउन नेता, व्यापारी,  कलाकार, सरकारी उच्च अधिकारीलगायत उनको लखनपथस्थित डेरामा पुग्छन्। विजयका अनुसार पछिल्लो समय उनलाई भेट्न आउनेको संख्या ह्वातै बढेको थियो। उनका भक्त पनि बढेका थिए। भक्तले नै उनको खर्च जुटाइदिन्थे।

प्रकाशित: १५ असार २०७६ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App