coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

दिव्यज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरु । तस्विरः नागरिक

पाल्पा– बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ। पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो। 

सामुदायिक (सरकारी) विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ। देववाणी जस्तै यहाँको दमकडा नमूना माध्यमिक विद्यालयका लक्ष्मण पाण्डे र प्रविण भट्टराईले ३ दशमलव ९६ जीपिए प्राप्त गरेका छन्। यस विद्यालयले पनि यी दुई विद्यार्थीलाई प्राविधिक तर्फको जिल्ला प्रथम भएको दावी गरिएको छ। सामुदायिक विद्यालय पनि संस्थागत (बोर्डिङ) विद्यालयभन्दा कम छैनन् भन्ने उदाहरण एसइई नतिजाले दिएको छ। जिल्लाका तानसेनको देववाणी माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, माथागढी कसेनीको दिव्यज्योति मावि, तानसेन मदनपोखराको दमकडा मावि, रामपुर नगरपालिकाको रामतुल्सी मावि, रामपुरकै दरैठाँटी र गंगा मावि उदाहरणीय बन्दै गएका छन्।

विद्यालयमा शिक्षकहरुको जागिरे प्रवृत्ति नहुँदा नतिजा राम्रो ल्याउन सम्भव भएको देववाणी स्कुलका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए। उनी भन्छन्, ‘हामी २४ अ‍ैं घण्टा विद्यालयका बारेमा बोल्छौं, सुन्छौं र विद्यालयका काममा हुन्छौं। विद्यार्थीहरुलाई अतिरिक्त कार्यहरु बिहीबार हाजिरी जवाफ, विदाका समयमा टेष्ट परीक्षा, कोचिङ, साँस्कृतिक कुराहरु पनि सिकाउँछौं। बाल क्लबहरु सक्रिय छन्। त्यसैले नतिजा राम्रो आउनु आवश्यक छ।’ हामी कहाँबाट ४२ जना विद्यार्थीहरु परीक्षामा सम्मिलित भएका थिए सबै राम्रो नतिजाका साथ उत्तिर्ण भएका छन्। देववाणीबाट ३/३ जना ए प्लस र ए, १३ जना बी प्लस, ८ जना बी,  १० जना सी प्लस र ५ जनाले सी ग्रेड प्राप्त गरेका छन्।  

दमकडा नमूना माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्यले राम्रो नतिजाका लागि शिक्षकहरुको व्यवहार परिवर्तन हुन आवश्यक भएको बताउँछन्। ‘विद्यालयले असारको विदा सकिएपछि ‘डे बोर्डस’ बिहान ६ देखि साँझ ६ सम्म विद्यार्थीहरुका लागि गर्ने गरेको छ। यहाँका सबै शिक्षकका विद्यार्थी सामुदायिक विद्यालयमै अध्ययन गर्छन्। व्यक्तित्व विकासका लागि २० बढी क्लवहरु मार्फत् विभिन्न शिक्षण अभ्यास सम्बन्धी काम गर्दछन्, आचार्यले भने, रेडियो शिक्षा हाम्रो नमूना अभ्यास हो। विद्यालयकै बालबालिकाहरुले विद्यालय भित्रका कठीनाईहरु खोजी गर्ने र आफै समाधानको पहल गर्ने र नभए सम्बन्धित निकायसँग ध्यानाकर्षण गर्ने गरि रेडियो कार्यक्रम समेत सञ्चालन गरेको छ।’ विद्यार्थीहरुलाई पढाउने तरिका घोकन्ते भन्दा पनि व्यवहारिक अभ्यासलाई कक्षाकोठामा प्रयोग गरिएका कारण राम्रो नतिजा आयो। दमकडा विद्यालयका ९ जनाले ए प्लस र १० जनाले ए जीपिए हासिल गरे। विद्यालयबाट परीक्षामा सम्मिलित ७७ जना परिक्षार्थी उत्तिर्ण भएका छन्। 

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जिल्लामा विगतको तुलनामा यसवर्ष सामुदायिक विद्यालयको नतिजा निकै सुधार भएको बताए। उनी भन्छन्, ‘लेजर अपलोड भएको छैन। सबै नतिजा विश्लेषण हामी आईतबारसम्म प्रस्तुत गर्ने छौं। संस्थागत विद्यालयको अहिलेसम्म सामुदायिक विद्यालय जति राम्रो नतिजा आएको यसवर्ष सुनेका छैनौं।’

तानसेन नगरपालिकामा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अहिले झण्डै एक हजार छ सय जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विद्यार्थी धेरै हुने भएपछि प्रवेश परिक्षा गराएरै नयाँ विद्यार्थी भर्ना गरेको छ। जनता विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले नयाँ शैक्षिक सत्र २०७६÷७७ मा २ सय ४ जना नयाँ विद्यार्थी भर्ना गरेको बताए। उनी भन्छन्, ‘अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुन्छ। अहिले विद्यार्थी राख्न नसकिने भएकोले २ सय जनाको लागि नयाँ भर्ना खुलाएका थियौं। छात्रवृत्ति, कम्प्युटर ल्याव, इलाईब्रेरी, कक्षा ५ सम्म छुट्टै लाइब्रेरी र अन्यको लागि छुट्टै लाईब्रेरीको व्यवस्था गरेका छौं।’ जनता माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, विज्ञान शिक्षा, सिभिल इञ्जिनियरियको पढाई हुँदै गाएको छ। प्राधानाध्यापक पौडेलले सिभिल इञ्जिनियरिङ्ग ९ कक्षादेखी सुरु हुन्छ जसमा शिक्षण शुल्क लाग्दैन अहिले विद्यार्थीको आकर्षण बढेको छ। नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ। हरेक वर्ष २ सय बढी निजी तथा अन्य सरकारी विद्यालय छाडेर यहाँ भर्ना हुन आउने गर्छन्। ‘अहिलेसम्म विद्यार्थी र अभिभावकले माया गरेको विद्यालय हो,’ विद्यालयका प्रअ मेघराज पौडेलले भने, ‘निजी छाडेर आउनेको संख्या सय भन्दा बढी नै हुन्छ।’ तानसेनमा नाम चलेका निजी विद्यालय छाडेर कक्षा, ८ र ९ मा भर्ना हुन आउने गर्छन्। 

माथागढी गाउँपालिकाकोकसेनीस्थित दिव्यज्योति माविमा यो वर्ष १ सय ५० जना नयाँ विद्यार्थी भर्ना हुन आए। विद्यालयका प्रअ नारायणप्रसाद अधिकारीका अनुसार अझै केही विद्यार्थी भर्ना हुन आउन बाँकी छन्। विद्यालयमा अहिले ९ सय ९६ जना विद्यार्थी अध्ययनरत छन्। ‘नर्सरीदेखि युकेजीसम्म अंग्रेजी माध्यम चलाउँदा भर्ना हुन आउनेको संख्या पनि धेरै भयो,’ उनले भने, ‘अर्को वर्ष कक्षा बढाउँदै लग्न पर्ने अवस्था छ।’ निजी विद्यालयबाट भर्ना हुन आउनेहरु पनि छन्। प्राविसम्म निजीमा पढाएर अरु सरकारीमा पढाउनेहरु धेरै छन्, प्रअ अधिकारीले भने। रामपुरको बेझाडस्थित रामतुल्सी माविमा पनि विद्यार्थी संख्या जनता विद्यालयमा जत्तिकै छन्। यहाँ हरेक वर्ष झण्डै एक सय जना बोर्डिङ् छाडेर भर्ना हुन आउने गरेको विद्यालयले जनाएको छ। लेकको बस्तीबाट बसाइसराइ साथै बोर्डिङ छाडेर यहाँ आउछन्। अंग्रेजी माध्यममा नर्सरीदेखि ९ कक्षासम्म पढाइ हुन्छ। रामपुरको दरैठाँटी माविमा झण्डै १ हजार विद्यार्थी छन्। पछिल्लो एसईइको नतिजाले पनि विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या बढेको छ।

गुल्मीको एक संस्थागत विद्यालयमा पढेका समीर क्षेत्री पाल्पा आएर सामुदायिक विद्यालयमा भर्ना भए। अहिले उनी जिल्ला प्रथम भए। अंग्रेजी माध्यमबाट सरकारी विद्यालयमै पढ्न पाउने भएपछि जिल्लाका धेरै सामुदायिक विद्यालयमा संस्थागत विद्यालय छाडेर आउनेहरु पनि बढेका छन्। जिल्लाको केही सरकारी विद्यालयमा बोर्डिङको पढाइ छाडेर भर्ना हुन आउनेको हरेक वर्ष संख्या बढदो छ।

समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो-याउन सहज हुने उत्कृष्ण नतिजा ल्याउने विद्यालयको अनुभव छ। प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सामुदायिक विद्यालयले आफूहरुलाई लालायित पारेको विद्यार्थीका अभिभावकहरु बताउँछन्। 

प्रकाशित: १४ असार २०७६ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App