१५ आश्विन २०७७ बिहीबार
समाज

'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई छ। एसइईपछि विद्यार्थीले कसरी विषय रोज्न सक्छन् भनेर नागरिक न्यूजकर्मी सुभद्र धितालले कुराकानी गरेकी छन् ।

एसइई दिएका विद्यार्थीहरुलाई भावी अध्ययनको लागि के सुझाव दिनुहुन्छ?         

के पढ्ने भन्दा पनि कसरी पढ्ने भन्ने महत्वपूर्ण विषय हो। किनभने अहिले के पढ्ने भनेर कुनै विषय पढेर त्यसमा दक्षता हासिल हुन्छ भन्ने छैन। जस्तै विज्ञान पढेर त्यसमा मात्र माथी बढ्यो भने त्यसलाई सामाजिक थाहा हुँदैन। सामाजिक पढ्यो तर अर्थशास्त्रीय ज्ञान थाहा नहुन सक्छ। अहिलेको प्रमुख समस्या नै यहींहो। त्यसैले विद्यार्थीलाई यही पढ भन्न सक्ने अवस्था छैन। विद्यार्थी आफैले पढेको ज्ञानलाई कसरी उयोग गर्ने त्यो महत्वपूर्ण हो। तर अभिभावकको मनसायले चाहेको विषय यही हो भन्छ, विद्यार्थीले पनि रहरले यही हो भन्छन् र बजारले पनि मेरोमा फलानो विषय छ, राम्रो छ, भनेर प्रचार गर्छ जसले गर्दा विद्यार्थीले के पढ्ने भन्नेमा अन्योल भएको मात्र हो। जे पढे पनि हुन्छ।

अभिभावकले विषय छान्नका लागि बच्चालाई दवाव दिनुहुँदैन। त्यो अभिभावकको बदमासी हो। दवाव दिने भनेको उनीहरुले आफ्नो सत्ता प्रयोग गरेको मात्र हो। किनभने अहिले अभिभावक भन्दा विद्यार्थी जान्ने छन् तेज छन्।

एसइई दिएका विद्यार्थीले विषय कसरी छान्ने त?

मुलतः आफुलाई रुची लाग्ने विषय छान्नु पर्छ भन्ने मेरो धारणा हो। रुची संगसंगै बाबुआमाको खल्ती पनि हेर्नु पर्छ भन्ने मेरो दृष्टिकोण हो। त्यसो भन्नुको तात्पर्य के भने, विद्यार्थी आफैं पैसा कमाएर पढ्न सक्दैन। अभिभावकले तिर्ने परिस्थिती हो भने अभिभावकले चाहना अनुसार विषय छान्ने हो। नभए विद्यार्थीले पैसा पाउँदैन। यसकारण अभिभावक र विद्यार्थी बिच सन्तुलन विद्यार्थीको लागि ठूलो समस्या हो। त्यसले गर्दा यही अनुसार उसले विषय छान्ने हो। संगसंगै अर्को वाध्यता के रहेछ भने, पहाड तथा भित्री मधेस तिर गएर हेर्यो भने केटाकेटी साथै विषेश गरेर छात्राहरुलाई नजिकको ठाउँमा पढोस् भन्ने बाबुआमाको चाहना हुँदो रहेछ। एउटा त सुरक्षाको हिसावले अर्को काममा सघाउँछ भन्ने स्वार्थले, यी दुवैलाई हेर्ने हो भने यसरी पनि विद्यार्थीले विषय छान्नु पर्ने हुन्छ, जस्तो लाग्छ मलाई।  

अहिलेको यो ग्रेडिङ प्रणालीलाई कसरी हेर्नुहुन्छ?

अङग्रेजीमा गार्वेज इन् र गार्वेज आउट भनिन्छ। अहिलेको ग्रेडिङ प्रणालीको अर्थ पनि त्यही नै हो। किन भन्दा ग्रेडिङ प्रणाली हाम्रो संस्कृति भन्दा भिन्नै हो। संस्कृतिले पास र फेल जान्यो, शिक्षकले फेलवालालाई वेवास्ता गरी पासवालालाई स्यावास भन्न मात्र जान्यो। ग्रेडिङ प्रणालीले निरन्तर रुपमा विद्यार्थीमा सुधारात्मक पक्ष जान्यो। शिक्षकले विद्यार्थीलाई अनुसन्धान गरी उसमा कस्तो सुधार चाहिन्छ भन्ने ग्रेडिङ प्रणालीले खोज्यो। जस्तै ई ग्रेड आएको विद्यार्थीलाई कसरी ए ग्रेड ल्याउन सक्ने बनाउने र ए आएको केटाकेटीले गरेर खान्छ भन्ने चिन्तन गर्नु पर्ने हो। ग्रेडिङ प्रणालीमा पनि यसरी चिन्तन ल्याइयो तर व्यवहारमा उदारकक्षउन्नती भयो। यसले गर्दा सुधार भएन उदारकक्षउन्नती मात्र भयो। उदारकक्षउन्नतीले विद्यार्थी पनि मारमा परे, अभिभावकमा पनि बच्चाले पास गरेर के भयो त केही जान्दैन् भन्ने प्रवृतीको सिर्जना भयो।

ग्रेडको आधारमा अभिभावकले विषय छान्नका लागि दवाव दिने प्रवृतीलाई के भन्नुहुन्छ?

अभिभावकले विषय छान्नका लागि बच्चालाई दवाव दिनुहुँदैन। त्यो अभिभावकको बदमासी हो। दवाव दिने भनेको उनीहरुले आफ्नो सत्ता प्रयोग गरेको मात्र हो। किनभने अहिले अभिभावक भन्दा विद्यार्थी जान्ने छन् तेज छन्। एउटा प्रविधीको कारणले हो भने अर्को वंशाणुका कारणले, अघिल्लो पुस्ता भन्दा अहिलेको पुस्ता बढि जानकार हुन्छ। यो जानकार पुस्तालाई दवाव दिनु भनेको वेइमानी हो। यो वेइमानी नगरौं। यसको साटो आफ्ना केटाकेटीसंग खुलेर उनीहरुको क्षमता, दक्षता  र मनसाय बुझेर समझदारीमा जादाँ उत्तम हुन्छ।

कति ग्रेड आएको विद्यार्थीले कुन विषय पढ्ने त?

ग्रेडसंग पढाईको त्यती ठूलो सम्बन्ध छैन्। म यसलाई दुईवटा बाटोबाट हेर्छु, पहिलो भनेको पश्चिमी देशहरुले ग्रेडिङ कति ल्यायो भनेर सोध्दैन आईईएलटीएस, टोएफलमा कति ल्यायो भनेर सोध्छन्। यसरी नै नेपालले पनि शिक्षालाई डिजाइन गर्नुपर्छ। विदेशमा विद्यार्थीको ग्रेड खोज्दैन् उसले चाहेको न्यूनतम कति भनेर हेर्छन्। दोस्रो भनेको विद्यार्थीले ए ग्रेड ल्यायो भने विज्ञान नै पढ्नु पर्ने जुन खालको मान्यता छ त्यसरी पनि हुन्छ। किनभने विज्ञान पढेमा कृषि, वन, स्वास्थ्य जस्ता जुनसुकै विषयमा गए पनि हुन्छ। जसले गर्दा उनीहरुलाई राम्रो हुन्छ। अब राम्रो ग्रेडले राम्रो र कम ग्रेडले सजिलो विषय भन्ने मान्यता छ, त्यसलाई म मान्दिन। किनभने हिजो जस्तो विषयको आधारमा जागिर पाउने समय छैन् अहिले। क्षमता अनुसार जागिर खाने हो। त्यसकारण जहाँ आफ्नो क्षमता देखाउन सकिन्छ त्यसरी नै विषय राजेर पढ्नु पर्छ।

अहिलेको ग्रेडिङ प्रणालीले विद्यार्थीको सहि मूल्यांकन गर्न सकेको छ कि छैन्?

छैन्, किनभने  ग्रेडिङ प्रणालीमा पढ्दा जुन प्रयोगात्मक गरिन्छ त्यसमा शिक्षकको धरातल ज्यादै कमजोर देखिन्छ। उनीहरुले मनपरि ढँगले प्रयोगात्मक परीक्षाको नम्बर दिने गर्छन्। परिणाममा नम्बर बढि देखिन्छ तर क्षमता कम हुन्छ। यसकारण यस्तो कृयाकलापमा सन्तुलन हुन जरुरी देखिन्छ। यो प्रणालीले हामीलाई राम्रो ठाउँमा पुर्याएको छैन्। सुधारात्मक कक्षा राख्ने र हाम्रो शिक्षकको ईमान्दारीता बढाउन सके सम्भव छ नभए छैन्।

एसएलसी र एसईईमा तपाईलाई कुन उपयुक्त छ, जस्तो लाग्छ?

हिजोको एसएलसी पास गरेको मान्छे अब्बल दर्जाको मानिन्छ। किनभने विषयगत रुपमा जानकारी प्रयाप्त थियो। नेपाली होस् या अङग्रेजी उनीहरुको लेखन शैलीमा ताकत थियो। तर अहिले त्यो ताकत घट्दै गएको छ। यसको कारण भनको प्रविधिले गर्दा केटाकेटी अल्छि भएको जस्तो देखिन्छ। शिक्षकले पढाएको कुरा नोटमा लेख्नुको साटो फोटो खिचिदिन्छ र भिडियो बनाएर राख्छ। उसलाई चाहिएको बखत हेर्छ। अब उसले लेख्नुको साटो कम्प्युटरले लेख्छ। यसले गर्दा प्रविधिले उसलाई भिन्न र लेखन शैलीमा अल्छि बनायो। पहिलेका केटाकेटीहरुमा जे खोजिएको थियो त्यो हुन्थ्यो भने अहिलेका केटाकेटीहरुमा जे खोजेको हुन्छ त्यो पुगेको छैन्।

अन्त्यमा जे जस्तो ग्रेड वा नम्बर आउँछ केटाकेटी र अभिभावकले त्यसलाई स्विकार्नु पर्छ। स्विकारेपछि आफुले अब के पढ्न पाउँछु र के पढ्न सक्छु भन्ने कुरा अभिभावकसंग सल्लाह गर्नु पर्छ। कसैको अभिभावकले पैसा तिर्छन् भने कोही आफै कमाएर पढ्छन्। ती विद्यार्थीले विकल्प खोज्नु पर्छ। अहिले स्थानीय तहले पनि छात्रवृति दिइरहेको छ। पढाईसंगै आफ्नो क्षमतालाई पनि बढाउने र योजना बद्ध ढंगले अगाडी बढ्नु पर्छ। जुन विषय पढे पनि त्यो उपयोगीताको रुपमा हुनुपर्छ।  

 

   

प्रकाशित: १३ असार २०७६ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App