१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वउपसचिवसहित ८९ जना फरार सूचीमा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न ८९ आरोपितलाई फरार सूचीमा राखेको छ। ललितानिवासको जग्गा हिनाबिलश्रसम्बन्धी अनुसन्धानमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि आयोगले पूर्व उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, व्यापारिक घराना गोयल समूहका अध्यक्ष कैलाशचन्द्र गोयल, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित ८९ आरोपीलाई फरार सूचीमा राखेको हो।

फरार सूचीमा राखिएकामध्ये ५९ आरोपितको तीनपुस्ते हुलिया र स्थायी ठेगाना नै खुलेको छैन। तीनपुस्ते हुलिया नखुलेका व्यक्तिलाई भूमाफिया र मालपोतका कर्मचारीले नक्कली मोही खडा गरेर जग्गा हडपेको अनुसन्धानमा संलग्न आयोग स्रोतले जानकारी दियो। ललितानिवासको एक सय १४ रोपनी जग्गा हिनामिनासम्बन्धी पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएपछि पूर्वउपसचिव केसीसहित भूमाफियाद्वय सुवेदी र ढकाल फरार भएका थिए।

फरार सूचीमा राखिएका व्यक्ति सात दिनभित्र उपस्थित भई आफूमाथि लागेको अभियोगमा सफाई पेश गर्न सक्नेछन्। तर उपस्थित नभए कानुनले दिएको अधिकार प्रयोग गरी सरकारी जग्गा हिनामिनासम्बन्धी प्राप्त तथ्य, प्रमाण र उपलब्ध अन्य प्रतिवादीको बयानका आधारमा विशेष अदालतमा मुद्दा दायर प्रक्रिया अघि बढाइनेछ।
आयोगले बुधबार र बिहीबार भूमाफियाद्वय सुवेदी र ढकाल, भाटभटेनीका सञ्चालक कल्याण गुरुङ, उद्योगपति गोयलसहित किर्ते कागजात बनाएर सरकारी जग्गा हिनामिना गरेका नक्कली मोही, जग्गाधनी, बिचौलिया र उपसचिव सहित ८९ जनालाई सार्वजनिक सूचनामार्फत आयोगमा उपस्थित हुन आग्रह गरेको छ।

आयोग स्रोतका अनुसार बयानका लागि बोलाइएका ढकाल र सुवेदी परिवारसहित विदेश फरार भइसकेका छन्। बयानका लागि बोलाउँदा फेला नपरेका पूर्व उपसचिव केसी, भाटभटेनीका सञ्चालक गुरुङ र व्यापारी गोयल पनि विदेश फरार भएको हुनसक्ने आयोगको आशंका छ। उनीहरूको खोजीमा आयोगले अध्यागमन विभागमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकामा पनि निगरानी गर्न निर्देशन दिइसकेको छ। ‘अनुसन्धानका अन्य विधि र प्रक्रियाबाट फेला नपरेपछि ललितानिवासको जग्गा हिनामिनाको आरोप लागेका व्यक्तिलाई सार्वजनिक सूचना मार्फत एक साताभित्र उपस्थित हुन आग्रह गरेका छौं,’ आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यदि सार्वजनिक सूचनामार्फत नाम सार्वजनिक गरिएका व्यक्ति उपस्थित नभएको खण्डमा कानुनअनुसार अनुसन्धानलाई पूर्णता दिइनेछ।’

आयोगको सम्पर्कमा भएका अन्य आरोपितमाथिको छानविन र अनुसन्धान भइरहेको छ। आयोगले ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री शमशेर र हाटक शमशेरमाथि पनि अनुसनधान गरिरहेको छ। २०४९ सालमा राणा परिवारले अधिग्रहण भइसकेको जग्गा सत्ता र शक्तिसँग नजिक भएकालाई प्रभावमा पारेर करिब एक सय १४ रोपनी फिर्ता लगेका थिए। आयोगले ललितानिवासको जग्गामा नक्कली मोही खडा गर्ने, सरकारी र सार्वजनिक जग्गा व्यक्तिलाई सट्टाभर्ना दिने, भूमिसुधार विभागबाट हुने कार्यसम्पादन बद्नियतपूर्ण रूपमा आफैं गर्नेलगायत कसुरमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुखहरू कलाधर देउजा (२०४९) टीकाराम घिमिरे (२०६२) लगायत डेढ दर्जन आरोपितसँग बयान लिइसकेको छ। बयानकै क्रममा तत्कालीन प्रमुख मालपोत अधिकृत देउजाले ललितानिवासको जग्गा व्यक्तिका नाममा लैजान प्रधानमन्त्रीदेखि खरिदारसम्मका व्यक्तिको संलग्नता रहेको स्वीकार गरेका छन्।

बालुवाटारको जग्गा व्यक्तिका नाममा जानेगरी मन्त्रिपरिषद्, मन्त्रालय, मालपोत कार्यालयलगायतबाट भएका बद्नियतपूर्ण निर्णयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमुख्यसचिवद्वय माधव घिमिरे (हाल निधन) र लिलामणि पौडेल (हाल चीनका लागि नेपाली राजदूत), पूर्वसचिवद्वय छविराज पन्त (चुनावी सरकारका मन्त्री), अख्तियारकै पूर्व प्रमुख आयुक्तसमेत रहेका पूर्वसचिव दीपबहादुर बस्न्यात, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत उच्च पदस्त कर्मचारीको संलग्नता खुलिसकेको छ।

प्रकाशित: १३ असार २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App