१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु, प्रहरीसहित ८ घाइते

रौतहट– रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा दुई जना थुनुवाको ज्यान गएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउँसो क्राउन र एक्सल भाचिएर दुर्घटना हुँदा लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नगरपालिका ४ का २० वर्षिय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका आरोपि सुनसरी जिल्ला इनर्वा १ बस्ने वर्ष ४० का रमेशकुमार चौधरीको ज्यान गएको हो।

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गतको बालचनपुर नजिक मंगलवार दिउँसो ३.१० बजेको समयमा क्राउन र एक्सल एकै पटक भाच्चिएर दुर्घटना भएका छन्।

नेत्र विक्रम चन्द विप्लव समुहले आहवान गरेको बन्दको कारण इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट छ जना प्रहरीसहित विभिन्न मुद्दाका चारजना आरोपि प्रहरी भ्यानमा राखेर चालकसहित १० जना सवार थिए। दुर्घटनामा गाडीमा सवार सवै घाइते भएका छन्।  घाइते सबैलाई उद्धार गरी उपचारको लागि बीरगंजतर्फ लैजाँदै गर्दा साह र चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादवलाई थप उपचारको लागि विरगंज लगिएको छ। नम्वर प्लेट खुल्न नसकेको प्रहरी भ्यानका चालकसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की घाइते भएका छन्। 

भ्यानमै सवार अभद्र व्यवहार मुद्दाका आरोपित कुमार गेलाल र टेकबहादुर तामाँग घाईते भएका छन्।  थुनुवा गेलाल र तामाँगको अवस्था समान्य रहेकोले उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले बताएका छन्। 

घटनाबारे जानकारी पाएलगतै घटनास्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको  छ। घटना किन भएको हो बारेमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको एसपी खत्रीले बताए। गत साता एक पटक म्याद थप गरिएको समय सकिन लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थप गर्न ल्याउने क्रममा उक्त दुर्घटना भएको बताए। 

प्रकाशित: १० असार २०७६ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App