२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वीरको फार्मेसीमा आम्दानी घट्दै

काठमाडौं - वीर अस्पतालको फार्मेसीको उचित व्यवस्थापन हुन नसक्दा दैनिक औषधि बिक्रीबाट हुने ७० प्रतिशत आम्दानी घट्ने गरेको छ। फार्मेसीमा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन नहुँदा आम्दानी घटिरहेको पाइएको हो।

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ। यसको ७० प्रतिशत आम्दानी घट्दा ६ करोड ८२ लाख ७ हजार ३ सय १८ रुपैयाँ हुन्छ।

अस्पतालमा दैनिक २ हजार बिरामी उपचारका लागि पुग्छन्। सबै बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाउने वातावरण छैन। अस्पतालको फार्मेसीमा पर्याप्त जनशक्ति नहुनु, स्टोरमा पयाप्त औषधि नहुँदा अस्पतालको आम्दानी गुमेको अस्पतालका फार्मेसिस्टहरुले जनाए। फार्मेसी विभागका इन्चार्ज श्यामु मण्डलका अनुसार जनशक्ति अभावमा फार्मेसीको सबै काउन्टर सुचारु हुन नसक्दा वीरमा उपचार गराएका अत्यधिक बिरामी बाहिरका फार्मेसीमा औषधि लिन जान्छन्।

दैनिक ६ वटै काउन्टरबाट औषधि बिक्री बितरण हुन सके बाहिरिने आम्दानी अस्पतालमै आउने इन्चार्ज मण्डल बताउँछन्। हाल अस्पतालमा पहिलो सिफ्टमा दुईवटा काउन्टर र दुई बजेपछिको सत्रमा एउटा मात्र काउन्टर खुल्छ। जनशक्ति अभावकै कारण २४ सै घण्टा सञ्चालन हुनुपर्ने फार्मेसी १२ घण्टा मात्र खुल्छ। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र खुल्ने गर्छ। वार्डमा भर्ना हुने र आकस्मिक कक्षमा आउने सबै बिरामी अस्पताल बाहिरका फार्मेसीमा जान्छन्।

अस्पतालमा सिमित काउन्टरबाट औषधि बिक्रीवितरण हुँदा औषधिका लागि लामो लाइन बस्नुपर्ने हुन्छ। लाइन बस्न नचाहनेहरु पनि अस्पतालबाहिरका फार्मेसीमा जान्छन्। अस्पतालकै फार्मेसीमा पनि सबै औषधि हुँदैनन्। त्यसले गर्दा बाहिरका फार्मेसीमा महंगोमा औषधि किन्न बाध्य हुने गरेका छन्। इन्चार्ज मण्डलका अनुसार अस्पतालका चिकित्सकले जेनेरिक नाममा औषधि सिफारिस नगर्नाले ब्राण्ड नेमकै औषधि खोज्न मानिसहरु बाहिर जान्छन्। ‘जेनेरिक नामबाट औषधि सिफारिश गरिन्छ, बिरामी त्यसकै खोजीमा हुन्छन्।

नियमअनुसार जेनेरिक नामका औषधि पे्रसकिप्सन गर्नुपर्ने हो,’ इन्चार्ज मण्डलले भने। फार्मेसीले जेनेरिक नाममा औषधि दिए पनि भित्र चिकित्सकले अस्वीकार गरेपछि बिरामी समेत अन्यौलमा परेर फर्केर रिसाउने गरेको उनले सुनाए। ‘लाइन बसेर लगेको औषधि फिर्ता गर्नुपर्दा बिरामीले हामीलाई गाली गर्न आउँछन्,’ उनले भने।

पर्याप्त औषधि राख्ने स्टोरको कमीले पनि कतिपय औषधिहरु प्रक्रियाबाट आइपुग्नु अघि नै सकिन्छन्। यो कारणले पनि बिरामी बाहिर जान बाध्य हुन्छन्। ‘स्टोरमा मान्छे उभिने ठाउँ छैन। औषधी कहाँ राख्नु ?’ उनले भने। अस्पतालको फार्मेसीमा सबै औषधि नहुँदा बिरामीबाहिर मंहगो औषधि किन्न बाध्य भएको उनीहरुले बताए। अस्पतालको फार्मेसीभित्रको तुलनामा बाहिरका औषधि पसलमा धेरैजसो औषधिहरु दोब्बर/तेब्बर महंगो पर्न आउँछ।

बाहिरिएको आम्दानी अस्पतालभित्र ल्याउनको लागि मुख्य कुरा जनशक्ति व्यवस्थापन गरी सबै काउन्टर सञ्चालन गरेमा सम्भव हुने इन्चार्ज मण्डल बताउँछन्। यसका लागि हाल रहेको १२ जना जनशक्तिमा थपेर ५० जना पु¥याउनु पर्छ। यी जनशक्ति परिचालन गरेमा सबै काउन्टर चल्ने र २४ सै घण्टा फार्मेसी सञ्चालन गर्न सकिने उनले बताए। यसको साथै स्टोर कोठाको व्यवस्थापन, सबै चिकित्सकले जनेरिक नाममा औषधि लेख्नुपर्ने र पर्याप्त औषधि समयमै खरिद गरेमा अहिलेको भन्दा बढी आम्दानी हुने र बिरामीले पनि सस्तोमा औषधि पाउन सकिने उनीहरुको भनाइ छ।

यस विषयमा वीर अस्पताल खरिद इकाइले अस्पतालको फार्मेसीको लागि औषधि माग गर्ने अस्पतालमै चिकित्सकहरुको समिति छ। त्यो समितिले सिफारिस गरेको सबै औषधि खरिद इकाइले लिने गरेको छ। ‘एउटा मात्र औषधिको टेण्डर गर्न मिल्दैन। एकमुष्ट रुपमा माग भएका सबै औषधि एक महिनाभित्र जहाँबाट पनि खरिद हुन्छ,’ खरिद इकाइ विभागकी प्रमुख भगवती थपलियाले भनिन्। टेण्डर भइसकेका औषधिहरु सकिएको अवस्थामा भने एक साताभित्रै लिइसक्ने गरेको उनले बताइन्।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालको फार्मेसीमा जनशक्ति अभावले सबै काउन्टर खुल्न नसकेको र चिकित्सकले जेनेरिक नामममा औषधि सिफारिस नगरेको कुरा स्वीकार गरे। जसमा फार्मेसीमा जनशक्ति पदपूर्तिको लागि स्वास्थ्य मन्त्रालयमार्फत लोक सेवा आयोगमा निवेदन पुगिसकेको बताए।

औषधि व्यवस्था विभागले स्वीकृति दिएका सबै औषधिमाथि चिकित्सकहरु भर नपरेको कारण ब्राण्ड नामका औषधि सिफारिस गर्ने गरेको पाइएको सेन्चुरीले बताए। उनले भने, ‘बजारमा आएका सबै औषधि प्रति चिकित्सक भरोसा राख्दैनन्, आफूले उपचार गरेको बिरामीलाई गुणस्तरीय औषधि दिने उद्देश्यले ब्राण्ड नाममा सिफारिस गरेको हुुनुपर्छ।’

प्रकाशित: ९ असार २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App