१५ चैत्र २०८० बिहीबार
समाज

सोलुका ५४ गुम्बाको पुनःनिर्माण गरिने

सोलुखुम्बु– २०७२ साल बैशाख १२ को भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ५४ वटा गुम्बाको पुनःनिर्माण गरिने भएको छ। एक नगरपालिका र ७ गाउँपालिकाका ५४ वटा गुम्बाको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट स्वीकृत गरेपछि पुनःनिर्माणको काम अघि बढ्ने भएको हो।

सोलुदुधकुण्ड नगरपालिका भित्रका १६ गुम्बा पुनःनिर्माण हुने भएका छन् भने खुम्बुपासाङल्हामू गाउँपालिकाको १२, महाकुलुङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको ७–७ वटा गुम्बा पुनःनिर्माण गर्न लागिएको हो। पुनःनिर्माणको सूचीमा माप्यदुधकोशी गाउँपालिकाको ४ वटा, सोताङ गाउँपालिकाको ५ वटा, नेचासल्यान गाउँपालिकाको एक वटा र लिखुपिके गाउँपालिकाको दुई वटा गुम्बा समाबेश छन्।

गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले दुई करोड ७० लाख ४५ हजार रकम विनियोजन गरेको छ। चालु बर्षमै पुनःनिर्माण गर्नेगरी बजेट आए पनि कार्यान्वयनमा समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेले बताए। जिल्ला आयोजनाले असार १२ गतेसम्म उपभोक्ता समिति गठन गरि सम्झौताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।

जिल्लाका ५४ वटा गुम्बा क्षतिको आधारमा ५ ग्रेडमा विभाजन गरि मर्मत तथा पुनःनिर्माणका लागि प्राधिकरणमा सिफारिस गरिएको थियो। सिफारिसको आधारमा दुई चरणमा रकम भुक्तानी गर्ने गरि गुम्बा पुनःनिर्माणका लागि अनुदान रकम आएको प्रमुख लामिछानेको भनाई छ।

प्रकाशित: ७ असार २०७६ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App