तिलाठी(सप्तरी)– प्रत्येक वर्ष मनसुनका बेला सप्तरीको तिलाठीलगायत दक्षिणी भेगका दर्जन बढी गाउँ बस्ती खाँडो नदीको बाढीका कारण डुबानमा पर्ने गर्दछन्। वर्षा सुरू हुने बित्तिकै यस भेगका सर्वसाधारण बाढी र डुबानको त्रासले त्रसित बन्ने गर्दछन्। खाँडोको बाढीले यस भेगमा प्रत्येक वर्षजसो करोडौंको क्षति पु-याउने गरेको सरकारी तथ्यांकले देखाउँछ। डुबान र त्रासका बीच वर्षायाममा यस भेगका सर्वसाधारणलाई कष्टकर र जोखिमपूर्ण जनजीवन निर्वाह गर्ने बाध्यता हुने गरेको स्थानीय सर्वसाधारण बताउँछन्।
यस भेगको डुबानको समस्या सडकदेखि सदनसम्म, मिडियादेखि चुनावी एजेण्डासम्म बनिसकेको भए पनि समस्याको समाधानतर्फ खासै प्रभावकारी कदम चाल्न नसकिएको तिलाठी कोइलाडी गाउँपालिका–१ का अध्यक्ष दिनेश्वर मिश्र बताउँछन्। साविकको तिलाठी गाविसका अध्यक्षको रूपमा पछिल्लो दुई दशकभन्दा लामो समयदेखि यस समस्यालाई नजिकबाट नियाल्दै आएका मिश्र भन्छन्, ‘स्थानीयस्तरमा त्यस्तो स्रोत साधन रहेको छैन र माथिल्लो निकायले खासै गम्भीरता देखाउन नसक्दा यस समस्याको समाधान अझै हुन नसकेको हो।’
नेपालको चुरे क्षेत्र भई दशजग्गा हुँदै भारततर्फ बग्ने यस नदीको झण्डै ३ किलोमिटर बहाव क्षेत्र नदीको बालुवाले पछिल्लो ८ वर्षयता पुरिएको छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमै नदीको बहाव पुरिएपछि पानीको निकास दक्षिणतर्फ ठप्प हुँदा तटबन्ध भत्किएर बर्सेनिजसो नदीको बहाव नेपाली गाउँतर्फ पस्ने गरेको मिश्र बताउँछन्। ‘कोसीको सहायक नदी भनेर परिचित खाँडो नदी सप्तरीस्थित चुरे क्षेत्रबाट निस्किएर दशगजा हुँदै भारततर्फ बग्दै आएको थियो’, मिश्र भन्छन्, ‘यद्यपि सीमा क्षेत्रमा नदीको प्राकृतिक बहाव नै बाधित हुने गरी भारतीयहरूले बनाएको सडक, बाँध तथा कब्रिस्तानलगायतका भौतिक संरचनाका कारण दशगजा क्षेत्रमा खाँडो नदीको बहाव नै पछिल्लो ८ वर्षयता थुनिन पुगेको हो।’
दशगजा क्षेत्रमा नदीको बहाव थुनिएपछि वर्षायाममा बर्सेनिजसो सप्तरीको तिलाठीसहितका जिल्लाको दक्षिणी भेगका आधा दर्जनभन्दा बढी गाउँ बस्ती डुबानमा पर्दै आएको छ। उत्तर दक्षिण भएर बग्ने यस नदीको प्राकृतिक बहाब बाधित हुने गरी भारतीयहरूले दशगजा क्षेत्रमै पूर्व पश्चिम भएर नदी छेउमा बाँध, सडक, कब्रिस्तानलगायतका संरचनाहरू बनाएन थालेपछि नदीको बाढीसँगै आउने बालुवा पुरिएर झण्डै ४ किलोमिटर जति बहाव क्षेत्र नै पुरिएको छ।
यस भेगका बासिन्दाहरूले पुरानो बहाव क्षेत्रलाई पुनः च्यानलाइज गरी नदीलाई सहज निकास दिनुपर्ने माग दोहो-याउँदै आएका छन्। यद्यपि अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेका कारण दुई देशबीचको सहमति बेगरै उक्त कार्य गर्न सकिने अवस्था नरहेको नेपाली पक्षको भनाइ छ। नदीको बाढीले नेपाल सँगसँगै सीमा पारी भारतीय गाउँहरूसमेत डुबान हुन थालेपछि पछिल्लो दुई वर्षयता भारतीयहरूले समेत नदी खन्नुपर्ने माग भारतीय पक्षसमक्ष उठाउन थालेका छन्। तर पनि दुवैतिरका स्थानीय प्रशासन एवम् सम्बन्धित निकायको उदासीनताले अझै काम थाल्न नसकिएको यस भेगमा बसोबास गर्ने नेपाल तथा भारततिरका गाउँलेहरूको गुनासो छ।
खाँडो नदीमा बाह्रै महिना पानीको बहाव रहँदैन। चुरे क्षेत्रबाट निस्किने यो खहरे खोला हो। वर्षायाममा मात्रै यस नदीमा बाढी आउने गर्दछ। वर्षायाम प्रारम्भ भएपछि नदीको बाढीले यसभेगका गाउँ बस्तीलाई डुबान गर्न थालेपछि सर्वसाधारणको आक्रोश न्यूनीकरण गर्न वर्षैपिच्छे नेपाल र भारतको ज्वाइन्ट टोलीहरू यस भेगमा सर्भे गर्न आउने गरेको स्थानीय नागरिक अगुवा कृपानन्द झा बताउँछन्।
झाकाअनुसार एक महिनाअघि पनि नेपाल र भारतको संयुक्त प्राविधिक टोली यस भेगको अनुगमन गरेर फर्केका हुन्। यसअघि गत वर्ष असारको दोस्रो सातातिर पनि नेपाल र भारतका जल स्रोतका विभागका ठूला अधिकारीहरूको संयुक्त टोली यस भेगको अनुगमन गरेर फर्केका थिए। त्यतिबेला उनीहरूले आगामी वर्ष जसरी भए पनि यस समस्याको समाधान हुने प्रतिबद्धता गाउँलेसमक्ष जाहेर गरेका थिए। यद्यपि यस वर्ष हालसम्म कुनै पनि काम नथालिएकोमा यस भेगका सर्वसाधारण बाढीको भयले चिन्तित रहेको झा बताउँछन्।
सन् २०१४ यता दुई देशका विज्ञहरूको टोलीले यस क्षेत्रको संयुक्त अवलोकन गरेको यो तेस्रो पटक थियो। यसअघि सन् २०१४ र २०१६ मा पनि दुवै देशका संयुक्त प्राविधिकहरूको टोलीले उक्त विवादित क्षेत्रको अनुगमन गरेको थियो। यद्यपि हालसम्म पनि समस्या समाधानतर्फ दुवैतिरका जिम्मेवार निकाय मौन रहेको स्थानीयको आरोप छ।
सीमा क्षेत्रमा भारतीयहरूले बनाएको बाँधको कारण खाँडो नदीको निकास थुनिएपछि उक्त क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको समस्या झेल्न बाध्य भएका छन्। भारतीय पक्षको उदासीनताका कारण खाँडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकिरहेको छैन। खाँडो नदी नियन्त्रण आयोजनामार्फत नेपाली पक्षले खाँडो नियन्त्रणका लागि जतिसुकै लगानी गरे पनि दशगजा क्षेत्रमा थुनिएको खाँडो नदीको बहावलाई निकास दिन नसक्दा यस वर्ष पनि जिल्लाको दक्षिणी भेग डुबानमै रहने निश्चित छ।
०७४ असार तथा साउनको अन्तिम सातातिर खाँडो नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकालाई हदैसम्म प्रभावित पारेको थियो। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार तिलाठीसहित उक्त गाउँपालिकामा उक्त बाढीका कारण १४ करोड ६४ लाखभन्दा बढीको व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भएको थियो। बाढीकै कारण तिलाठी कोइलाडी–४ का १ जना बालकको मृत्युसमेत भएको थियो भने ३ हजार ९ सय ९७ वटा घर बाढीले क्षतिग्रस्त पारेको थियो। त्यस्तै सदरमुकाम राजविराज नगरपालिकामा भने खाँडो नदीकै बाढीका कारण २ जनाको मृत्यु भएको थियो भने २८ करोड २७ लाख ५९ हजारको धनमालको क्षति भएको थियो। यहाँका ८ हजारभन्दा बढी घरलाई बाढीले क्षति पु¥याएको थियो।
नेपाल भारतबीच रहेको कोसी सम्झौताअनुरूप कोसीका सहायक नदीहरूको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको हो। चुरेबाट निस्किएर कोसीमा समाहित हुने नदीहरूलाई कोसीको सहायक नदी भनेर परिभाषित गरिएको छ। जस अनुरूप खाँडो नदीको जिम्मेवारी पनि भारतीय पक्षकै हो। यसबाहेक पछिल्लो सम्झौताअनुसार पनि कोसीका अतिरिक्त कमला, बागमती, लालबकैया र खाँडो नदी नियन्त्रणको जिम्मेवारी भारत सरकारको हो। यसका लागि योजना र बजेट भारतीय पक्षले उपलब्ध गराउनुपर्ने हो। यद्यपि योजना र बजेट परैजाओस् भारतीय पक्षले दशगजा क्षेत्रमा काम गर्न सहज माहौलसम्म बनाउन नसकेको नेपाली पक्षले आरोप लगाउँदै आएका छन्।
विवादित भारतीय बाँधकै कारण १४ साउन २०७३ मा तिलाठीस्थित दशगजा क्षेत्रमा नेपाल र भारततर्फका स्थानीयहरू बीच झडपसमेत भएको थियो। बाढीले भत्काएको विवादित बाँध भारतीयले पुनर्निर्माण गर्न खोजेपछि तिलाठीका स्थानीयले प्रतिवाद गर्दा झडप भएको थियो।
कुनौली बोर्डरस्थित कोसीको पश्चिमी तटबन्धदेखि सप्तरीको तिलाठी गाविसस्थित खाँडो नदीसम्मको झण्डै तीन किलो मिटर भू–भागमा भारतीयहरूले सन् १९७४ देखि नै निर्माण गर्न थालेको स्थानीयको भनाइ छ। त्यतिबेला उनीहरूकै बाँधका कारण उत्तर दक्षिण भएर नेपालबाट भारततर्फ बग्ने तीन वटा नदीहरू खाँडो, महुली र जिता नदी आफ्नो प्राकृतिक बहाव परिवर्तन गरी पूर्व पश्चिम हुँदै पूर्ण रूपमा नेपालतर्फ बग्न लागेको स्थानीय अञ्जनीकुमार दास बताउँछन्।
के गर्दैछ स्थानीय सरकार ?
बर्सेनि डुबानका कारण समस्या झेल्दै आएका स्थानीयको समस्या समाधानका लागि के गर्दै छ त स्थानीय सरकार भनी सोधिएको जिज्ञासामा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिशकुमार सिंहले खाँडो नदीका कारण आफूहरू पनि चिन्तित रहेको बताए। नदीको बाढीले एकातिर सर्वसाधारणलाई समस्या भोग्न बाध्य पारेको छ भनेको अर्कोतिर गाउँपालिकाको सडक, सिँचाइ, बाँधलगायतका पूर्वाधारलाई पनि नष्ट पार्ने गरेको समस्या सुनाउँदै गाउँपालिका अध्यक्ष सिंहले भने, ‘नदीमा हुने दीर्घकालीन र ठूलो लगानीको जिम्मेवारी अन्य निकायहरूलाई भए पनि गाउँपालिकाको स्तरबाट समेत पछिल्लो दुई वर्षयता खाँडोमा थुप्रै काम गरिएको छ, तटबन्ध मजबुत पार्ने, पुनर्निर्माण गर्ने र बाढी पूर्वतयारीलगायतका काम तदारुकतापूर्वक भइरहेको छ।’ यद्यपि आफूहरूले गर्ने लगानीको उपलब्धि पनि नदीको दक्षिणी भेगमा थुनिएको बहावलाई निकास नदिएसम्म सम्भव नहुने उनको भनाइ छ। यता खाँडो नदीको बाढीबाट जोगिन रूपनी गाउँपालिका तथा राजविराज नगरपालिकासँगको सहकार्यमा नदीमा बाढी पूर्वसूचना प्रणालीसमेत जडान गरिएको अध्यक्ष सिंहले जानकारी गराए।
प्रकाशित: ७ असार २०७६ ०६:२५ शनिबार