२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘जंगलका राजाको आशीर्वाद छ, तपाईंहरू जितेर आउनुहोला’

वीरेन्द्रनगर नगरपालिका– २ को भेरी किनारनजिकै एक मात्रै घुमन्ते समुदाय राउटे बस्ती छ। दुई दिनअघि यहाँ आइपुगेको राउटे समुदायलाई भेट्न शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्सका खेलाडी पुगे। राउटे मुखिया सूर्यनारायण शाहीसहितले क्रिकेट समूहलाई आफ्नो बस्तीमा स्वागत गरे।

तीन दिनअघि कर्णाली आउँदा राउटे मुखिया वीरबहादुर शाहीसहितले एनपिएल खेल्ने कर्णाली याक्सका खेलाडीहरूलाई सुर्खेत विमानस्थलमा स्वागत गरेको थियो। ‘अस्ती तपाईंहरू विमानस्थलमा स्वागत गर्न आउनुभयो। राउटे समुदायका बारेमा सुनेका थियौं, आज तपाईंहरूलाई प्रत्यक्ष देख्न पायौं’, समूहका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने, ‘आज हामी तपाईंहरूको बस्ती हेर्न र केही खाद्यान्न सहयोग गर्न आएका हौं।’

राउटे समुदायका ४३ घर छन्। एक सय ४२ जनसंख्या छ। भेरी किनारको चिसो भुईंमा एकसरो कपडा र त्रिपालमुनि बस्दै आएका राउटे समुदायलाई खेलाडीले न्यानो कपडा लगाउन र स्थायी घर बनाउन सुझाव दिएका थिए। जवाफमा राउटे मुखिया सूर्यनारायणले पुस्तौंदेखि यसैगरी आफूहरू बस्दै आएको बताएका थिए। ‘हिउँमा पनि नांगै खुट्टा हिँड्छौं, चिसो लाग्दैन’, मुखिया सूर्यनारायणले भने, ‘शरीर हो, जस्तो सुविधा दियो, त्यस्तै हुन्छ।’

कर्णाली याक्सले राउटे बस्ती पुगेर प्रति परिवार एक–एक बोरा चामल र तेल हस्तान्तरण ग¥यो। विमानस्थलमा स्वागत गर्न जाँदा राउटे मुखियाले बस्तीमा खाद्यान्न अभाव रहेको बताएका थिए। ‘त्यही सुनेर कर्णाली याक्सको तर्फबाट खाद्यान्न हस्तान्तरण गर्न र बस्ती अवलोकन गर्न आएका हौं’, मार्की खेलाडी सोमपाल कामीले भने, ‘कर्णालीमा मात्रै बसोवास गर्ने नेपालको एक मात्रै घुमन्ते समुदायसँग भेट्न पाउँदा खुसी लाग्यो।’

आफ्नो बस्तीमा आएका खेलाडीहरूलाई मुखिया सूर्यनारायणले जितको शुभकामना दिए। ‘जंगलका राजाको आशीर्वाद तपाईंहरूसँग छ’, मुखिया सूर्यनारायणले भने, ‘जितेर फेरि आउनु होला।’

उनले क्रिकेट खेल आफ्नो बस्तीमा पनि देखाइदिन आग्रह गरे। ‘हामी जंगलमा बस्छौं, मोबाइल हुँदैन, टिभी हुँदैन’, उनले भने, ‘हामीलाई पनि देखाइदिन पाए राम्रो हुन्थ्यो।’

उनले पछिल्लो समय काठका भाँडाकुँडा बिक्री नहुँदा खानेकुराकै समस्या हुने गरेको गुनासो पोखे। ‘पहिले–पहिले हामीले बनाएका सामग्री बिक्री हुन्थे, सबैले रुचाउँथे। अहिले त्यो अवस्था छैन’, उनले खेलाडीसँग भने, ‘हाम्रो समस्याका बारेमा पनि सबैलाई जानकारी गराइदिनुहोला।’

प्रकाशित: २ मंसिर २०८१ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App