१८ असार २०७७ बिहीबार
समाज

खानपानकाे असन्तुलनले नसर्ने राेग बढ्दै

काठमाडौं - नेपाल डायटिसियन संघद्वारा गत साता राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा डायटिसियनहरुले रोग लाग्नु अघि र रोग लागिसकेका बिरामीलाई उचित खाना र उचित परामर्श दिन डायटिसियनको महत्वपूर्ण भूमिका हुने बताए। तर नेपालमा सबैजसो सरकारी अस्पतालमा डायटिसियनहरु नरहेको संघले औंल्याएको छ। ‘नसर्ने रोग बढ्नुको मुख्य कारण खानपानको मात्रा र तरिका नमिलेरै हो। त्यसको लागि हाम्रो भूमिका हुनुपर्छ तर त्यो कुरा सरकारले महसुस गर्न सकेको छैन,’ नेपाल डायटिसियन संघकी अध्यक्ष नानीशोभा शाक्यले भनिन्।

हाल सिमित सरकारी अस्पतालमा मात्र डायटिसियन रहेको अध्यक्ष शाक्यले बताइन्। उनका अनुसार वीर अस्पताल, धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, कान्ति, उपत्यकाबाहिर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र डायटिसियन छन् भने निजी अस्पतालहरुले पनि डायटिसियन राख्ने अभ्यास गरिरहेका छन्। स्वास्थ्य मापदण्डअनुसार प्रति २५ शड्ढया बराबर एक डायटिसियन हुनुपर्छ। एक दशकअघि राष्ट्रिय योजना आयोगले स्वास्थ्य संस्थामा डायटिसियन जनशक्ति खटाउने निर्णय गरेको तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल संरचना निर्देशिकाले पनि प्रत्येक स्वास्थ्य संस्थामा डायटिसियन राख्नुपर्ने उल्लेख गरेको छ।

नीति नियममा व्यवस्था भए पनि डायटिसियनको दरबन्दी नगर्दा बिरामी सेवाबाट वञ्चित भएको र उत्पादित जनशक्तिको भविष्य अन्यौलमा परेको संघका सदस्य मोदनाथ पौडेल बताउँछन्। ‘केही निजी अस्पतालमा र केही गैरसरकारी संस्थामा काम गरिरहेका छन्। कतिले रोगजार पाउन सकेका छैनन्,’ उनले भने, ‘पोषणविद्हरुको उचित परिचालन हुन नसक्दा नसर्ने रोगको फैलावटमा मद्दत पुगिरहेको छ।’ डायटिसियनको अभावमा क्षयरोग, क्यान्सर, मुटुरोग, मधुमेहका बिरामीले दुःख पाइरहेका छन्। ‘पोषण नमिलेर क्षयरोगका बिरामीको मृत्युसमेत भएको पाइन्छ भने रक्तअल्पता भएका महिलाको हेमोग्लोबिन बढाउन नसकिँदा समस्या थपिने गरेको देखिएको छ,’ शाक्यले भनिन्।

हाल देशभरका निजी अस्पतालमा ५० डायटिसियनले कार्यरत छन्। अन्यले भने अन्य क्षेत्रको काममा संलग्न हुनु परिरहेको छ। हाल पद्मकन्या कलेज तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहको न्युट्रिसियन एन्ड डायटिसियन विषयको अध्ययन गराइरहेका छन्। स्वास्थ्य नीतिअनुसार अस्पतालमा डायटिसियनको दरवन्दी हुनुपर्ने स्मरण गराउन संघका पदाधिकारी पटकपटक मन्त्रालय धाए पनि कार्यान्वयन प्रक्रिया अघि बढेको छैन। नेपालमै उत्पादित जनशक्तिलाई अस्पताल, सामुदाय र विद्यालयमा परिचालन गरेर जनतालाई स्वस्थ्य राख्न सकिने अध्यक्ष शाक्य बताउँछिन्। यी निकायमा डाइटिसियनको अभाव हुँदा स्कुलमा विद्यार्थीमा मोटोपना, कुपोषण, किशोरीमा रक्तअल्पता बढेको उनको भनाइ छ। ‘खाना खान नजानेर कुपोषण र रोग लाग्ने गरेको देखिन्छ,’ उनले भनिन्।

प्रकाशित: ५ असार २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App