१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मानविकी र शिक्षाशास्त्र समयसापेक्ष हुन सकेन’

काठमाडौं - विश्वविद्यालय अनुदान आयोगले हालै प्रकाशित गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार नेपालका विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका कार्यक्रमहरुमध्ये मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण निकै नै कम रहेको उल्लेख छ। आयोगले प्रकाशित गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार विषयगत रुपमा विद्यार्थी भर्ना सबभन्दा बढी व्यवस्थापन संकायमा रहेको छन् भने आयुर्वेद विषयमा कम रहेका छन्।

व्यवस्थापनमा करिब ४२.२%, शिक्षा २४.८% र मानविकीमा १०.७% विद्यार्थी भर्ना दर रहेको छ। त्यसैगरी विज्ञान तथा प्रविधिमा ९.९%, मेडिसिन ५.३% र इन्जिनियरिङमा ४.७ % रहेको छ। अन्य विषय (संस्कृत, कृषि तथा वन, आर्युवेद, बुद्धिजम् र कानुन आदि) मा करिब २.४% मात्र विद्यार्थी भर्ना रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष परासर कोइरालाका अनुसार सानो कक्षादेखि नै विद्यार्थीलाई मानविकी र शिक्षाशास्त्र विषयबारे सही सूचना उपलब्ध गराउन नसक्नाले नै विद्यार्थीले कक्षा १० पछि कक्षा ११ मा मानविकी र शिक्षाशास्त्रमा रुचि देखाउँदैनन्। उनले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा मानविकीका विषयहरु नै चलन चल्तीमा रहेको र विद्यार्थीहरु पनि स्कुल शिक्षादेखि नै शिक्षक बन्ने, समाजशास्त्री, संस्कृतविद्, गैरसरकारी संस्थामा काम गर्ने इच्छुक भएर स्कुल शिक्षा प्राप्त गर्ने गरेको बताए।

‘स्कुलका शिक्षकहरुले मानविकी, शिक्षा, कानुनलगायतका अन्य विषयबस्तुबारे विद्यार्थीलाई बुझाउन सकेका छैनन्,’ कोइरालाले नागरिकसँग भने, ‘विश्वप्रसिद्ध विश्वविद्यालय क्याम्ब्रिज, अक्सफोर्ड, हार्वर्डलगायतका विश्वविद्यालयमा विज्ञान र व्यवस्थापनभन्दा पनि मानविकी र शिक्षाशास्त्रकै विषय चल्तीमा छन्।’ उनले थपे, ‘हामी कहाँ भने विज्ञान पढ्नासाथ डाक्टर र इन्जिनियर बन्न पाइने गलत व्याख्या गरिएको छ भने व्यवस्थापनलाई रोजागारीमुखी मात्र बताइएको छ। मानविकीको अध्ययनबिना उच्चशिक्षा पूरा नै हुँदैन। त्यही भएर विद्यार्थीलाई स्कुलदेखि नै यसबारे सही सूचना उपलब्ध गराउनुपर्ने शिक्षाको दायित्व हो।’ कोइरालाले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरु प्राज्ञिक उन्नयनभन्दा पनि दलको झण्डा बोक्ने र नयाँ अनुसन्धान हुन नसकेका कारण धेरै विषय ओझेलमा पर्दै गएको हो।

नेपालमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुमा उस्तै कार्यक्रम सञ्चालन हुनु र मानविकी तथा शिक्षाशास्त्र संकायका कार्यक्रमहरु समयसापेक्ष र अन्तराष्ट्रिय स्तरका हुन नसक्दा मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण कम हुँदै गएको छ।

नेपालमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुमा उस्तै कार्यक्रम सञ्चालन हुनु र मानविकी तथा शिक्षाशास्त्र संकायका कार्यक्रमहरु समयसापेक्ष र अन्तर्राष्ट्रिय स्तरका हुन नसक्दा मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण कम हुँदै गएको सरोकारवालाहरु बताउँछन्। नेपाल सरकारले अवलम्बन गरेको बहुविश्वविद्यालयको अवधारणाअनुसार हाल नेपालमा ११ वटा विश्वविद्यालय सञ्चालनमा छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सूदुर पश्चिमाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र राजर्शी जनक विश्वविद्यालय। यसैगरी चार वटा मानित विश्वविद्यालय सरहका प्रतिष्ठान सञ्चालित छन्।

जसमा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। हालै मात्र नेपाल सरकारले ऐनमार्फत राजर्शी जनक विश्वविद्यालय स्थापना गरेको छ। सो विश्वविद्यालयका पदाधिकारी नियुक्त तथा शैक्षिक कार्यक्रम सुरु भइसकेका छन्। नेपाल खुला विश्वविद्यालयले यसै आर्थिक वर्षबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिसकेको छ।

क्याम्पसहरुको संख्यामा वृद्धि भई हाल विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या ९८ पुगेको छ भने सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसको संख्या पाँच सय ३२ र निजी क्याम्पसको संख्या सात सय ७७ गरी जम्मा क्याम्पसको संख्या १ हजार चार सय सात पुगेको छ। गत वर्षको क्याम्पसहरुको वृद्धि दर करिब २.७% रहेको छ। त्रिभुवन विश्वविद्यालयमा कुल तीन लाख ९२ हजार ४ सय विद्यार्थी छन्। जसमध्ये सबैभन्दा बढी व्यवस्थापन संकायमै रहेको विश्वविद्यालय योजना निर्देशनालयका कार्यकारी निर्देशक ऋदिशकुमार पोखरेलले बताए।

‘त्रिविमा भर्ना भएका विद्यार्थीमध्ये ४५ प्रतिशत व्यवस्थापनमा, २० प्रतिशत मानविकी र १९ प्रतिशत शिक्षाशास्त्र संकायमा भर्ना भएका छन्,’ कार्यकारी निर्देशक पोखरेलले नागरिकसँग भने, ‘प्राविधिक विषयतर्फ कोटा सिस्टम छ। त्यो भएर त्यो फुल नै हुन्छ।’ उनले थपे, ‘मानविकीमा चार सय कार्यक्रम त्रिविले सञ्चालन गर्छ। तर केही बाहेक धेरै विषय समयसापेक्ष कोर्स परिमार्जन हुन सकेको छैन।’ विद्यार्थीले चार वर्षे समय खर्चेर अध्ययन गरेपछि अन्तमा बजारमा खाली हात हुनुपर्ने बाध्यताका कारण मानविकी र शिक्षा संकायमा मा विद्यार्थी आकर्षण कम भएको छ।

पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले वर्षेनी एसइईको नतिजा प्रकाशन हुने गरेको र त्यहाँबाट निस्कने ९० प्रतिशत विद्यार्थी विज्ञान र व्यस्थापन पहिलो रोजाइ गर्ने गरेको जनाए। ‘यसको एउटै कारण छ मानविकी र शिक्षाका विषयहरुका कार्यक्रमलाई परिमार्जन गरेर विश्वस्तरमा जोड्न नसक्नु हो,’ उपकुलपति शर्माले भने, ‘नेपाली विश्वविद्यालयका प्राज्ञिकहरुको मानविकी र शिक्षाशास्त्रका विषयहरुमा नयाँ अनुसन्धान नै गर्न सकेका छैनन्। दायरा फराकिलो भए पनि नेपालमा मानविकी भन्नासाथ समाजशास्त्र, पोलिटिकल साइन्स, इतिहास, भूगोलबाहेक अरु बनाउनै सकिएन।’ उनले थपे, ‘नेपाली समाजमा समयानुसार देखापरेका नयाँ विषयबस्तु बञ्जी जम्प, र्याफटिङ, होम स्टे, पाराग्लाइडिङबारे खोइ खोज अनुसन्धान तथा पठनपाठन भएको ?’

उनले अब कक्षा १० पास गरी आउने विद्यार्थीहरुलाई विज्ञान व्यवस्थापनबाहेक अन्य विषयहरु बारे बुझउनु पर्ने आवश्यक छ। ‘काम नपाएर मात्र मानविकी र शिक्षा संकायमा अध्ययनका लागि भर्ना हुने गलत सोचाइलाई बदल्न सक्नुपर्छ,’ उनले सुझाए, ‘हाल देश संघीयतामा गएको छ। कानुन, समाजशास्त्र, मानवशास्त्र, इतिहास, भूगोललगायत सबै विषयको आवश्यकता शिक्षकले नै विद्यार्थीलाई बुझाउनु पर्छ।’ विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको मात्र पढाई हुने उच्च शैक्षिक संस्था ८२% छन् भने स्नाकोत्तर तह सम्मको पढाइ १८ % क्याम्पसमा हुने गरेको छ। विश्वविद्यालयले बिनानक्सांकन सम्बन्धन प्रक्रिया व्यवस्थित पार्न नसक्दा हाल प्रदेश ३ मा सबैभन्दा बढी ४३.५ % उच्च शैक्षिक संस्था रहेका छन् भने सबैभन्दा कम ४ % प्रदेश ६ मा रहेका छन्।

निजी क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरु करिब ३५.६% छन् भने सामुदायिक र आंगिक क्याम्पसहरुमा क्रमशः ३०.७% र ३३.७% रहेका छन्। विगतका वर्षको तुलनामा निजी क्याम्पस र सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ। तथापि सामुदायिक क्याम्पसहरुमा विद्यार्थीहरुको वितरणमा ठूलो असमानता रहेको पाइएको छ।

प्रकाशित: २ असार २०७६ ०२:१६ सोमबार

त्रिवि मानविकी शिक्षाशास्त्र