१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गर्मीसँगै बढ्यो सर्पदंश

रौतहट - गर्मी अत्यधिक बढेसँगै रौतहटमा सर्पदंशको घटना पनि बढेको छ। दुई महिनामा पाँच सयजनाभन्दा बढीले जिल्ला अस्पताल गौरमा सर्पदंशको उपचार गराएका छन्। अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढेको हो। सर्पदंशपीडितमध्ये मुख्य गरी विषालु गोमन र करेत सर्पले डसेका बिरामीको संख्या अत्यधिक भएको तथा अन्य किसिमका सर्पको आक्रमण परेका बिरामीको संख्या उल्लेख्य रहेको अस्पताल स्रोतले जनाएको छ। गौर अस्पतालका जनस्वास्थ्य प्रमुख प्रमोद राय यादवका अनुसार वैशाखमा दुई सयभन्दा बढी र जेठमा तीन सय जनाभन्दा बढी मानिस सर्पले टोकेर उपचारका लागि आएका छन्।

सर्पदंशका बिरामी एक्कासी बढे पनि जिल्ला अस्पतालमा एन्टी–स्नेक भेनम औषधिका मात्रामा पर्याप्त रहेको हुँदा उपचारमा कुनै अप्ठेरो नभएको तथा विषालु सर्प गोमन र करेतले टोके पनि समयमै अस्पताल आएकाले हालसम्म कुनै मानविय क्षति नभएको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत यादवले बताए। सर्पले टोकेपछि अस्पताल पु¥याउनुपर्छ भन्ने चेतना बढेको कारण पनि सर्वसाधारण सीधै अस्पताल आउने बानीको विकास भएकाले मानवीय क्षति हुनबाट जोगाउन सकिएको यादवको भनाइ छ।

घरबाहिर दिसा–पिसाब गर्न जाने, खेतमा काम गर्न तथा वस्तुभाउका लागि घाँस लिन जाने मानिसलाई सर्पले टोकेको पाइएको छ भने घरभित्रै पनि सर्पले टोक्ने गरेको छ। अँध्यारो तथा सफाइ नभएको ठाउँमा सर्प लुकेर बस्ने गरेको अवस्थामा टोक्ने गरेको पाइएको जानकारहरू बताउँछन्। राति हिँड्नु पर्दा टर्च लाइट बालेर हिँड्नु उपयुक्त हुने र फोहोर तथा घाँसपात बढी भएको ठाउँमा सचेतनापूर्वक हिँड्नुपर्ने जनस्वास्थ्य प्रमुख यादवको सुझाव छ।

उपचारका लागि गौर अस्पताल आएका सर्पदंशका बिरामीहरूमा धेरै स्थानीय छन् भने भारतका सीमावर्ती क्षेत्रबाट पनि केही बिरामी उपचारका लागि गौर छन्। अधिकृत यादवकाअनुसार सीमावर्ती भारतीय क्षेत्रमा सर्पदंशको उपचारको राम्रो व्यवस्थापन नहुँदा मानवीय दृष्टिकोणबाट यहाँ आएपछि उनीहरूको समेत उपचार गरी पठाउने गरिएको छ।

प्रकाशित: २ असार २०७६ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App