३२ श्रावण २०७७ आइतबार
समाज

४१ वर्षदेखि चिठी बोक्दै हुलाकी बाजे

४१ वर्षदेखि चिठीपत्र आदानप्रदान गर्दै आइरहेका धादिङका यमबहादुर श्रेष्ठ। तस्बिर: सरिता/नागरिक

धादिङ - ‘ए हुलाकी दाइ, मेरो पत्र पु-याइदेऊ न है ?’ ४१ वर्षअघि गाउँका धेरैले यमबहादुर श्रेष्ठलाई यही प्रश्न गर्ने गर्थे। परदेश गएका आफन्तलाई चिठीपत्र पठाउने र आएका पत्र घरघरमा पु-याउन भ्याइनभ्याई हुन्थ्यो उनलाई। अहिले सूचना प्रविधिको विकासले उत्कर्ष प्राप्त गरेको छ तापनि त्यतिबेलाको दैनिकी समाप्त भएको छैन।

सामान्यतः लामो समयसम्म एक व्यक्तिले एउटै पदमा रहेर काम गर्ने विरलै भेटिन्छन्। एउटा व्यक्ति एउटै पदमा रहेर १०, २० वर्ष अथवा सामान्यतः निवृत्तिभरण नहुँदासम्म जागिर खाने प्रचलन पुरानै हो। तर धादिङको नीलकण्ठ नगरपालिका १४, धुवाँकोटका ७५ वर्षीय यमबहादुर श्रेष्ठले एउटै पेसामा ४१ वर्ष २ महिना बिताइसकेका छन्। उनले २०३४ फागुन १८ गते अतिरिक्त हुलाक कार्यालयमा पत्र वितरकको रूपमा काम सुरु गरेका थिए।

त्यतिबेला साविक धुवाकोट गाविसका विद्यालय, स्वास्थ्य चौकी तथा घरघरमा पत्र पु-याउन उनी जान्थे। बिहानदेखि बेलुकासम्म काम गर्दा महिनाको ६० रुपैयाँ कमाउँथे। ‘असिनपसिन गरी दुगु-यो, महिनामा ६० रुपैयाँ पाइन्थ्यो,’ श्रेष्ठले भने, ‘पहिले पहिले मोबाइल, इन्टरनेट नहुँदा चिठीपत्रको चाङ बढी हुन्थ्यो, कामको पनि चाप बढी हुन्थ्यो।’

पहिले घरबाट टाढिएका परदेशीको सूचना आदानप्रदान गर्ने माध्यम बन्थ्यो हुलाक। अनि ती चिठीपत्रको आदानप्रदान गर्ने व्यक्ति हुलाकी। त्यही हुलाकीको काम गर्दै श्रेष्ठले जीवन बिताइसकेका छन्। उनी गाउँतिर आउँदा आफ्नो चिठी आयो कि भनेर आशा गर्ने धेरै हुन्थे। धेरै परसम्म चिठी र खबर पु-याउन टाढाटाढसम्म जाने गरेको उनले बताए।

कुनै जमाना थियो, हुलाकी देख्नासाथ गाउँमा उत्साह र खुसीको रङ पोतिन्थ्यो। हुलाकीको झोलामा पत्र र ती पत्रमा परदेश पुगेका आफन्तको हालचालको खबर हुन्थ्यो। अझै पनि कतिपय सहर अनि ठाउँमा पत्रमञ्जुषा लेखिएका रातो चुच्चो आकारका भाँडा छन् जहाँ नियमित एक समयमा हुलाकीहरू आई पत्र लिएर जाने गर्दथे। विस्तारै आकाशवाणी, ट्रंकल फोन, दूरसञ्चार, मेसेन्जर, च्याटरुम, इमेल, फेसबुक, ट्वीटर हुँदै हातहातको मोबाइलले यो युगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ।

अहिले सञ्चारको सार मात्र होइन, स्वरूप नै फेरिएको छ। पहिले पत्रबाट मित्रता गाँसिन्थ्यो, अहिले फेसबुकबाट। पहिले विदेशमा पैसा पठाउन र पाउन धनादेशको विकल्प थिएन, अहिले टोलैपिच्छे मनि ट्रान्सफर कम्पनी खुलेका छन्। महTवपूर्ण कागजपत्र हुलाकबाटै पार्सल गर्नुपथ्र्यो, अहिले कुरियर कम्पनी हाजिर छन्। परदेश गएका आफन्तको सन्चो–बिसन्चो थाहा पाउन पत्र कुर्नुपथ्र्यो, अहिले हातहातमा स्मार्टफोन र इन्टरनेट छ। मोबाइलबाट भिडियो हेर्दै बात मार्न पाएपछि चिठी लेख्ने झन्झट कसले गरोस् ?

जागिर खाएको ४१ वर्षको अवधिमा उनले तलबबाहेक अन्य सुविधा पाएका छैनन्। उनले वृद्धभत्तासमेत पाएका छैनन्। ‘४१ वर्ष सेवा गरें, सरकारले स्थायी गरिदिएन पेन्सन आउने कुरा नै भएन,’ उनले भने, ‘अतिरित्त हुलाक कर्मचारीलाई पनि हुलाकका कर्मचारी (निजामती) को जस्तो सेवासुविधा दिनुपर्छ।’ जसोतसो ११ जनाको परिवार यही चिठीपत्र आदानप्रदान गरेबापत आएको रकमले धानिरहेका छन्। उनले राज्यबाट सेवासुविधा र उपचार खर्चको माग गरेका छन्।
जिल्ला हुलाक कार्यालयमा उनले पटकपटक सेवासुविधाबारे गुनासो राख्ने गरे तर कुनै सुनुवाइ भएन। सुनुवाइ नभएपछि एक महिनाअघि राजीनामा पत्र लेखेर पेस गरेका छन् तर स्वीकृत भएर आएको छैन। उनीसँगै काम गरेका सनकबहादुर श्रेष्ठ पनि चिठी बोक्ने कामलाई निरन्तरता दिइरहेका छन्। उनको पनि यमबहादुरको जस्तै सेवासुविधा पाउनुपर्ने माग छ।

प्रकाशित: २९ जेष्ठ २०७६ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App