२७ श्रावण २०७७ मंगलबार
समाज

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

ओखलढुंगा - सुनकोसी गाउँपालिका–१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै गर्दा भेटिइन्। शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे हुँदासम्म पुरा हुन नसकेकोप्रति उनले असन्तुष्टि जनाइन्। ‘पहिलेपहिले त हामीलाई पानीले बिरामी पाथ्र्यो,’ फिस्स हाँस्दै उनले भनिन्, ‘अब त पचिसक्यो।’ उनले थपिन्, ‘शुद्ध पानी पिउने हामी गरिबको चाहना कसले बुझ्छ ?’ माइतीले मात्र होइन, ढेबुवाको सिंगो माझी समुदायले पुस्तौंदेखि खानेपानी समस्या भौग्दै आएको छ। उनीहरू पुस्तौंदेखि सुनकोसीको पानीका भरमा जीवनयापन गरिरहेका छन्। हिउँदमा नदी सङ्लो भए पनि बर्खा लागेसँगै धमिलो पानी पिउनु उनीहरूको बाध्यता हो। ‘बर्खाको धमिलो पानी अलि बढी गनाउँछ,’ उनले बताइन्।

पुस्तौंदेखि सुनकोसी नदीकै पानी खाइरहेका ढेबुवाका माझीहरूले केही वर्ष भने मुहानबाट पाइपमा पानी ल्याएर खाने गरेको स्थानीय रहमान माझीले बताए। ‘करिब सात वर्षजति गाउँमा मुहानको पानी आयो,’ उनले भने, ‘त्यो मुहान सुकेपछि फेरि १० वर्षदेखि सोही नदीकै पानी खाइरहेका छौं।’ समयसमयमा नदीको फोहोर पानीका कारण बालबालिकालाई झाडापखाला, आउँलगायत रोगले सताउने गरेको उनको भनाइ छ। वडा कार्यालयले ढेबुवाको माझी बस्तीमा खानेपानीको योजनाको सट्टामा सिँचाइका लागि नदीको पानी तान्ने पम्पसेट निर्माण गरिदिएको छ। आर्थिक वर्ष २०७४/७५ मा पाँच लाखको लागतमा वडाले सिँचाइका लागि पम्पिङ योजना सञ्चालन गरेको हो। त्यही सिँचाइका लागि पम्पिङ प्रणालीमार्फत सीधै तानिएको नदीको पानी माझीहरूले खानेपानीका रूपमा प्रयोग गरेको रहमान माझीको भनाइ छ। सम्बन्धित निकायलाई इनार खनेर खानेपानीको व्यवस्था गर्न उनले आग्रह गरे। ‘तरकारी तथा अन्य बालीमा सिँचाइ गर्न पम्प सेट भयो, अब खानेपानीको व्यवस्था भए हुन्थ्यो।’

मुहानको खोजी गरेर ढेबुवा माझीगाउँमा आगामी आर्थिक वर्षमा खानेपानीको व्यवस्था गर्ने वडाध्यक्ष दीपहरि राईले बताए। ‘मुहानको अभाव छ। मुहान भेटियो भने पाइपको व्यवस्था गरेर आगामी आवमा खानेपानी योजना सञ्चालन हुन्छ।’ वडाध्यक्ष राईले भने, ‘यदि पानीको मुहान भेटिएन भने नदीकिनारमा इनार निर्माण गरेर भए पनि माझी बस्तीलाई शुद्ध खानेपानीको व्यवस्था गरिनेछ।’ माझी बस्तीमा खानेपानीको व्यवस्था गर्नु आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता रहेको अध्यक्ष राईले बताए। ढेबुवा माझी गाउँमा मात्र सात घर माझीको बसोबास छ। महिला–पुरुष, वृद्ध–वृद्धा, युवा र बालबालिका गरी कुल ६२ रहेको छ। कम खेतीबारीका कारण उनीहरू दैनिक ज्याला मजदुरी गर्छन्।

प्रकाशित: २७ जेष्ठ २०७६ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App