१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विकृतिबिरुद्ध महिला शसक्तीकरण अभियान

जुम्ला– अन्तरपार्टी महिला सञ्जाल जुम्लाले सबै प्रकारका विकृति विसंगतिबिरुद्ध जागरण अभियान थालेको छ। जिल्लाको गुठिचौर गाउँपालिकाबाट अभियानको थालनी गरेको हो। गाउँका अगुवा महिलालाई बोलाएर लागुपदार्थ दुव्र्यसनी, महिला हिंसा, बालबिवाह, बहुबिवाह लगायतका शान्ति सुरक्षा र मुलुकी ऐनका बारेमा प्रशिक्षण दिन थालेको हो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की अन्तरपार्टी महिला सञ्जालले थालेको शसक्तीकरण अभियान निकै प्रभावकारी हुने बताउँछन्। महिला शसक्तीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक हिसाबमा महिलालाई परिपक्क बनाउदै लैजानु पर्नेमा जोेड दिए। उनले भने,‘गाउँमा हरेक प्रकारका हिंसा कायमै छन्। बालबिवाह, बहुविवाह बढ्दो क्रममा छ। कानुनी ज्ञान नभएकोले सास्ती बेहोर्नु परेको छ। सरकारी कार्यालयले दिने सेवा सुविधाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको छ। यो सबै समस्या निस्तेज गर्न गरिएको यो अभियान निकै सान्दर्भिक छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडलेले शसक्ती कार्यक्रममा स्थानीय महिला संग महिलाले भोग्नु परेका समस्याका बारेमा गहिरिएर छलफल चलाइन्। जुम्लाका महिलाले भोग्नु परेका समस्या, कानुनी अल्झन् र नागरिकता लिन जादा खेप्नु परेको सास्तीका बारेमा अनुभव आदानप्रदान गरिन्। उनले भनिन्,‘यहाँको महिलाको सुखको लागि सबै प्रकारका हिंसा हट्न जरुरी छ। जसका लागि महिलाका कानुनी ज्ञान देखि हरेक प्रकारको ज्ञान प्राप्त गर्न जरुरी छ। यो कार्यक्रमबाट स्थानीय महिला सचेत हुनेछन्।

प्रुमुख जिल्ला अधिकारी बञ्जाडेसँग छलफल गर्दै स्थानीय बैशाखी परियारले बालबिवाह गर्दा निकै सास्ती खेप्नु परेको अनुभव सुनाइन्। सानै उमेरमा बिवाह गरे। पछि श्रीमानले सौता ल्याएपछि निकै सास्ती पाए। उनले प्रमुख जिल्ला अधिकारी संग भनिन्,‘नागरिकता पनि ससुरालाई रोहवरमा राखेर प्राप्त गरे। समाजमा अहिले पनि पुरुषबादी चिन्तन कायम रहेकोले महिला दमित भएर बस्नु परेको छ।’

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले नागरिकता र नागरिकता प्राप्त गर्ने आधारबारेमा सहजै रुपमा जानकारी गराइन्। सबै प्रकारका हिंसा न्युनिकरणका लागि सचेतनाका कार्यक्रम गर्दै आएकोमा जोड दिइन्। कुनै पनि लेखापडी गर्दा विश्वास लाग्ने व्यक्ति संग मात्र लेखाउने र लेखेको कुरा पढेर मात्र निचोडमा पुग्न सुझाव दिइन्। पुरुषहरु फाईदाका लागि जे सुकै गर्न तयार हुन्छन् तर आफु सचेत हुदा फाइदा हुन्छ। प्रमुख जिल्ला अधिकारी बञ्जाडेले नागरिकतामा पतिको नाम राखिने भएकोले समस्या भएको बताइन्।

प्रहरी निरिक्षक प्रकाश केसीले लागु औषध दुव्र्यसनीका कारण निम्तिनेको समस्या र मदिरा सेवनका कारण हुने हिंसाका बारेमा सहजीकरण गरे। उनले हरेक प्रकारका हिंसा न्युनिकरणमा प्रहरी तयार रहेको भन्दै सबैले साथ दिन आग्रह गरे। कानुन ब्यवसायी देबेन्द्रराज शर्माले वर्तमान कानुन र संविधानमा महिलाका हकका बिषयमा जानकारी दिए। गुठिचौर गाउँपालिकाको सहयोगमा अन्तरपार्टी महिला सञ्जालले जागरण अभियानको शुरुवात गरेको हो। जुम्लामा रहेका एक नगरपालिका सहित सात वटै गाउँपालिकामा शसक्तीकरण कार्यक्रमलाई लैजाने अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिइन्।

प्रकाशित: २६ जेष्ठ २०७६ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App