२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ।

मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई भ्रष्टाचार गरेको पाइएको छ।

गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता आयोगले आरोप लगाएको छ।

उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: २३ जेष्ठ २०७६ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App