७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोइराला निवासको सुरक्षाः केन्द्रीय सरकारले हटायो, महानगरले खटायो

कोइराला निवासमा खटिएको सुरक्षाकर्मीहरू । तस्बिर: नागरिक

विराटनगर– विराटनगरस्थित कोइराला निवासको सुरक्षाका लागि विराटनगर महानगरपालिकाले सुरक्षाकर्मी खटाएको छ। निवासको सुरक्षाका लागि दुई दशक देखि सुरक्षा दिंदै आएको सशस्त्रको टुकडीलाई संघीय सरकारले हटाएपछि निवासको सुरक्षामा महानगरले नगरप्रहरी खटाएको छ।

मंगलबारदेखि तीन जना नगरप्रहरी निवासको सुरक्षाका लागि खटाइएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए। उनका अनुसार हाल तीन जना सुरक्षाकर्मी खटाइएको र आवश्यक परे थप सुरक्षाकर्मी पनि खटाउन सकिने बताए। पराजुलीले भने ‘नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनको शुत्रपात भएको ऐतिहाँसिक स्थलको सुरक्षा आवश्यक रहेकाले महानगरले सुरक्षाकर्मी खटाएको हो।’ पूर्व उच्च पदस्थहरूको निवासमा खटिएका सुरक्षाकर्मीहरू हटाउने सरकारको नीति अनुरुप विराटनगरस्थित कोइराला निवासका सुरक्षाकर्मी पनि संघीय सरकारले हटाएको थियो। गत बिहीबारदेखि निवासमा खटिएका सुरक्षाकर्मीहरू सरकारले हटाएको थियो। निवासको सुरक्षाका लागि सशस्त्रका असईको नेतृत्वमा १४ जना सुरक्षाकर्मी खटाइएको थियो।

निवासबाट सुरक्षाकर्मी हटाएकोमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्। कोइराला निवास कृष्णप्रसाद कोइरालाले निर्माण गरेका हुन्। उनका तीन भाई छोराहरू मात्रिकाप्रसाद कोइराला, विशेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भइसकेका छन्। यस्तै पूर्व प्रधानमन्त्री सुशिल कोइराला पनि यहि निवासमा जन्मिएका थिए। कोइराला परिवारको भागवण्डा पछि निवास नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको भागमा परेको छ। पछिल्लो समय डा शेखर कोइराला विराटनगर आउँदा निवासमा बस्दै आएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७६ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App