२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

फेवातालमा मध्याह्नपछि डुंगा सयर जोखिमपूर्ण

पोखरा - पोखरामा सोमबार दिउँसो कालो बादल मडारिएर हावाहुरीसहित असिनापानी प¥यो। एकाएक हुरीसहितको असिनापानीले फेवातालमा छाल उठ्यो। त्यही छालमा परेर डुंगा सवार सातजना तालमा खसे। लाइफ ज्याकेट लगाएकाले तालमा खसे पनि उनीहरु सबैजना तैरिए। तत्कालै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार ग¥यो।

पोखरा विमानस्थलले सोमबार पोखरामा ६४ नटिकल माइल (११८ किलोमिटर) प्रतिघन्टाका दरले हावा चलेको जनाएको थियो। विमानस्थलका अनुसार यो गतिको हावामा जहाज उडान र अवतरणसमेत सम्भव हुँदैन।

फेवातालमा छाल आउने र डुंगा घोप्टिने घटना पछिल्लो समय दिनहुँजसो भइरहेका छन्। दिनहुँजसो तालमा छालले डुंगा घोप्ट्याए पनि अप्रिय घटना भने भएको छैन। तर, दैनिकजसो डुबानका घटना दोहोरिन थालेपछि मध्याह्नपछि फेवातालमा डुंगा सवार गर्नु जोखिमपूर्ण बन्दै गएको डुंगा चालकहरुले बताएका छन्। बेलैमा होस नपु¥याउने हो भने ज्यानै जानेसम्मका घटना हुनसक्ने उनीहरुको चिन्ता छ।

फेवाताल किनारमा सशस्त्र प्रहरीको उद्धार टिम खटिएको छ। असईको नेतृत्वमा खटिएको यो उद्धार टिममा सातजना छन्। उनीहरु तालमा गर्नुपर्ने कुनै पनि उद्धारमा खटिँदै आएका छन्। ‘दिउँसै अँध्यारो हुनेगरी हुरीसहित असिनापानी पर्न थालेको छ। दैनिकजसो तालमा खसेका मान्छेलाई उद्धार गरिरहेका छौ,’ रेस्क्यू टावरको नेतृत्व गरेका असई दीपक सिग्देलले भने, ‘तीनबजेपछि हाम्रो टिम तयारी अवस्थामा रहिरहन्छ। हावाहुरी नआए पनि हामी तयार भएर बस्छौ। कुनै पनि बेला जे पनि हुन सक्छ।’

सिग्देलका अनुसार वैशाख र जेठमा गरी ६ दिन आपत्तकालीन रुपमा तालबाट सर्वसाधारणको उद्धार गरिसकिएको छ। जसमध्ये सबैभन्दा बढी चुनौतीपूर्ण उद्धार सोमबारको थियो। ‘हावाहुन्डरीको मारमा परेर तालको बीचमा पुगेका डुंगामा फसेका सातजना मान्छे एकाएक पानीमा खसे, डुंगैसहित घोप्टिएका उनीहरुलाई तत्कालै उद्धार ग¥यौ,’ उनले भने, ‘ती पाहुनाले लाइफ ज्याकेट लगाएकाले पानीमा तैरिए। हामीले तत्कालै उद्धार गर्दा मानवीय क्षति हुन पाएन।’

उद्धारमा खटिएका सहायक हबल्दार रवीन्द्र थापाका अनुसार सोमबारको घटना निकै नै चुनौतीपूर्ण थियो। तालमा उठेको छालले उद्धारकर्ताको डुंगा नै जोखिममा पारेको थियो। सशस्त्र प्रहरी बलको यो टिम बिहान १० बजेपछि तयारी अवस्थामा रहन्छ, तर, ताल किनारमा भने बिहानै ६ बजे खटिन्छ। ‘बिहानै खटिए पनि दिउँसो त झनै सचेत बन्छौ,’ उनले भने, ‘दिउँसो भएपछि हामी तालको बीच भागमा पुगेरै अनुगमन गर्छाै।’ उनले असिना, चट्याङ, हावाहुरी र भीषण पानी परे पनि तालमा खसेकाको उद्धार गर्दै आएको बताए।

सिग्देलका अनुसार यो टिम बिहान ६ देखि बेलुकी ६ बजेसम्म ताल नियालेर बसिरहन्छ। टावरमा खटिएका प्रहरीले पालैपालो बाइनाकुलरबाट ताल आसपासका दृष्य नियालिरहेका हुन्छन। त्यही आधारमा कतै दुर्घटना भए तुरुन्तै उद्धारमा टिम खटिन्छ। यो टिमसँग अहिले एउटा मोटरबोट, उद्धारका सामाग्री, लाइफज्याकेटलगायत सामान छन्। ‘पाँचमिनेटमा तालको कुनै पनि कुनामा पुगेर उद्धार गर्न सक्छौ),’ सिग्देलले भने, ‘त्यही कारणले मानवीय क्षति हुन पाएको छैन।’ उद्धारमा खटिने यो टिमले पछिल्लो समय मोटरबोट तयारी अवस्थामा राख्ने गरेको छ। ‘घटना भएपछि तयारी गर्ने होइन, हामी मोटरबोटलाई पहिल्यै तयारी अवस्थामा राख्छौं,’ उनले भने।

उनका अनुसार पछिल्लो दुईवर्षदेखि तालमा यो सिजनमा अहिले बढी छाल उठेको छ। ‘चर्काे घाम लागेका दिन हामी झनै बढी सचेत हुन्छौ। चर्काे घाम लागेको दिन दिउँसै अँध्यारो हुनेगरी बादल मडारिएर आउँछ,’ उनले भने। पोखराको मौसमले गर्दा तालको यात्रा जोखिमपूर्ण बनेको उद्धारकर्मीको भनाइ छ। त्यसलाई कम गर्न दिउँसो तीनबजेपछि तालमा डुंगा सयर गर्न रोक लगाउनुपर्ने उनीहरुको सुझाव छ।

फेवा डुंगा व्यावसायी समितिका सहसचिव रुद्र भुजेल वैशाख लागेपछि आफैंले डुंगा चलाएर लैजान नपाउने गरी रोक लगाएको बताउँछन्। ‘कुनै पनि बेला हावाहुरी आउनसक्ने र त्यसले छाल निम्त्याएर दुर्घटना बढाउन सक्छ,’ भुजेलले भने, ‘चालकबिना डुंगा सयर गर्दा बढी जोखिम हुन्छ। पोखरा घुम्न आउनेलाई यहाँको मौसमी जानकारि पनि हुँदैन। त्यही भएर चालकबिना डुंगा लिएर जान दिएका छैनांै।’ उनले दिउँसोको समयमा तालमा डुंगा सयर गर्दा हेलचक्रयाँइ गर्न नहुने, लाइफज्याकेट अनिवार्य लगाउनुपर्ने, मौसम खराब देख्नासाथ सुरक्षित स्थानमा फर्किनुपर्ने भए पनि कतिपयले बेवास्ता गर्ने बताए।

‘अब त हामीले २ बजेपछि डुंगा लिएर टाढासम्म जानै नदिने गरी कडाइ गर्दैछौं,’ उनले भने। उनका अनुसार बाराहीघाटबाट तालको माथिल्लो सिरानसम्म डुंगा खियाएर पुग्दा झन्डै ४० मिनेट लाग्छ। कुनै अप्ठेरो परेमा त्यो ठाँउसम्म पुग्न पनि कठिन हुन्छ। त्यही भएर टाढासम्म जाने गरी पाहुनालाई डुंगा चलाउन रोक लगाएको उनले बताए। तालको बीचमा रहेको बाराही मन्दिरसम्म मात्र आउजाउ गर्न दिने उनले बताए। ‘यो पटक अचम्मै डरलाग्दो तरिकाले छाल उठेको छ। यसले तालमा जोखिम निम्त्याएको छ,’ भुजेलले भने, ‘यसमा पाहुना मात्र नभई सबै सचेत हुनुपर्छ।’

होटेल व्यावसायीले पनि पाहुनालाई दिउँसो २ बजेपछि तालमा डुंगा सयर नगर्न सुझाएका छन्। डालिया होटलका म्यानेजर तुलसी लामिछाने भन्छन, ‘पाहुनालाई पोखराको बदलिँदो मौसमबारे जानकारी नहुन सक्छ। त्यो बेला हामीले नै सचेत गराउने हो,’ उनले भने, ‘हामीले मध्याह्नपछि तालमा सयर नगर्न पाहुनालाई सचेत गराउँदै आएका छौ।’

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App