बनेपा - जनआन्दोलन २०६२/६३ को सुरुआतदेखि नै सक्रिय सहभागी भएका पत्रकार महासंघ काभ्रेका तत्कालीन अध्यक्ष ईश्वरी ओझालाई हरेक वर्षको गणतन्त्र दिवस नजिकिँदै जाँदा जनअपेक्षाअनुसार मुलुक अघि बढ्न नसकेको विषयले बेचैन गराउँछ। ‘आन्दोलनकै बलमा लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ ग-यौं र लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो,’ उनले भने, ‘तर राजतन्त्र र गणतन्त्रबीच नेपाली जनताले खासै फरकपनको अनुभूति गर्न पाएका छैनन्।’
संविधानमा व्यवस्था गरिएका सबैखाले अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति उनको गुनासो छ। ‘संविधानअनुरूप हामीले सरकार प्राप्त ग-यौं तर सरकारबाट जुन अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन। जनहित र कल्याणभन्दा सत्तामुखी हुने प्रवृत्ति हाबी भयो,’ उनले भने, ‘शासन व्यवस्था लोकतान्त्रिक नेतृत्वको चरित्र लोकतान्त्रिक छैन।’ देशमा आमूल परिवर्तनका लागि योगदान गरेका नागरिक समाजसम्बद्ध संस्थाहरू पनि सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्नुभन्दा गुणगानमै व्यस्त देखिएको वरिष्ठ अधिवक्ता एवं महिला अधिकारकर्मी जीवना बादे श्रेष्ठको आरोप छ। ‘नागरिक समाजमा आबद्धहरू पनि नागरिक भएर नआउने भए। पार्टीकै झन्डा लिएर आउने भए,’ उनले भनिन्, ‘उनीहरू राजनीतिक दलका शुभेच्छुक संस्था भइदिँदा नागरिकहरूको आवाज दबिएको छ।’
तत्कालीन मध्यमाञ्चल क्षेत्रअन्तर्गतका काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायत जिल्लाबाट लाखौंका संख्यामा नागरिकहरू आन्दोलन सफल पार्न राजधानीका सडकमा उर्लिएका थिए। त्यसक्रममा नागरिकहरूको सहभागिता बढाउने बढी जिम्मेवारी काभ्रे जिल्ला जनआन्दोलन परिचालन समितिले पाएको थियो। राजधानीनजिकैको जिल्ला भएकाले काभ्रेले सो अवसर पाएको श्रेष्ठको भनाइ छ। ‘महिलाहरूकै नेतृत्व र सहभागितामा कैयौं दिन आन्दोलन टिकायौं। जनआन्दोलनकै प्रतिफलका रूपमा संविधान बन्यो तर कार्यान्वयन गर्नेहरूमा चासो देखिन्न,’ उनले भनिन्, ‘सरकारमा जानेले पनि गुटबाटै सरकार चलाउने प्रवृत्ति हाबी भयो।’
गणतन्त्र आएपछि सुखी र समृद्ध जीवन जिउने आशा गरेका नेपालीहरूमा झन् निराशा बढेको उनको टिप्पणी छ। ‘यतिखेर जनताले पहिलाभन्दा धेरै दुःख पाएका छन्,’ श्रेष्ठले भनिन्, ‘राजतन्त्रमा राजाको विरोध नगरेसम्म आनन्दले कमाइ गरेर खान त पाउँथे तर अहिले काम गरेर पनि आनन्दसँग खान नपाइएको अवस्था छ।’ राजनीतिक, सामाजिक, आर्थिक, पेसागत र अनेकन् क्षेत्रमा राम्रा–राम्रा युवा भए पनि उनीहरू असंगठित रहेकाले ओझेलमा परेको र राम्राले भन्दा आम्राले अवसर पाइरहेको उनको बुझाइ छ।
जनआन्दोलनका क्रममा काभ्रेका दुर्गमबस्तीदेखिका कार्यकर्ता र शुभेच्छुकहरुलाई सदरमुकाम र राजधानी पु¥याउन काभ्रेमा जनआन्दोलन परिचालन समिति गठन गरिएको थियो। यसै समितिमार्फत क्रियाशील युवा एवं तत्कालीन माओवादीको जिल्ला कमिटी सदस्य मर्दनसिंह तामाङ गणतन्त्र स्थापनापछि गाउँ फर्केर चिया खेतीमा रमाइरहेका छन्। ‘आन्दोलन सफल भयो, मुलुक गणतन्त्रमय बन्यो। तर अहिलेको गणतन्त्र सीमित मान्छेले उपयोग गर्ने जस्तो भयो। पुँजीवाद नै हाबी भएजस्तो भयो,’ उनले भने, ‘अझै पनि गाउँबस्तीमा गणतन्त्रको वास्तविक अनुभूति हुन सकेको छैन।’
माओवादी द्वन्द्व, शान्ति निर्माण प्रक्रिया र जनआन्दोलनबाट आफूहरुले सोचेअनुसार परिवर्तन नभएकोमा उनले दुखेसो पोखे। ‘सबै ठाउँमा परिवर्तन चाहेका थियौं तर त्यसो हुन सकेन। तर ब्युरोक्रेसीभित्र अहिले पनि त्यही निरन्तरता छ,’ उनले भने, ‘एकातिर राजनीतिक दलहरू आन्तरिक किचलो र खिचातानीमा अल्झिरहने, अर्कातिर स्वतन्त्र र निष्पक्ष हुनैपर्ने संवैधानिक अंगहरूमा समेत भागबन्डाको राजनीतिक संस्कार देखा पर्ने। यस्तो अवस्थामा गणतन्त्र संस्थागत हुनसमेत व्यवधान आउने भएकाले चौतर्फी चिन्ता बढ्न थालेको छ।’ राज्य संयन्त्रलगायत सबै अंगमा नातावाद, कृपावाद हाबी नहोस्, योग्यताका आधारमा निष्पक्ष रूपमा सबैतिर नियुक्ति प्रक्रिया हुन थालोस् भन्ने चाहना व्यवहारमा नदेखिएको अधिकारकर्मी भोजराज तिमल्सिनाले बताए।
१९ दिने जनआन्दोलनका क्रममा काभ्रेका भीमसेन दाहाल, शिवहरि कुँवर, अनिलकुमार लामा र सगुन ताम्राकार गरी चारजना सहिद भए। आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर घाइते भएका बनेपाका मुकेश कायस्थ अझैसम्म अर्धचेत अवस्थामा छन्। काभ्रेका ८२ जना जनआन्दोलनका क्रममा घाइते भएका थिए। ‘घाइतेमध्ये पनि कतिपयले पटक–पटक सुविधा पाए। कतिपय अझै पनि त्यतिबेलाको पीडा सहँदै मजदुरी गर्न बाध्य छन्,’ तिमल्सिनाले भने, ‘ज्याम्दीका घाइते नवराज पराजुली यतिखेर एउटा गोडा खोच्याउँदै इँटा बालुवा बोकेर दैनिकी चलाउँदै छन्। यस्ता अनेकन् दृष्टान्त छन्।’
पछिल्ला वर्षहरूमा जनआन्दोलनका घाइतेहरू पनि रोजगारीका लागि बिदेसिने क्रम जारी रहेकोतर्फ इंगित गर्दै उनले भने, ‘नागरिकहरूको जीवनशैलीमा खासै फरक आएको छैन। जीउधनको सुरक्षाको खासै ग्यारेन्टी देखिन्न। यथास्थितिवादी प्रवृत्ति र प्रणाली हट्नुपर्छ भनेर नेपाली नागरिकहरू सडकमा ओर्लिएका थिए। तर नागरिकहरूको अपेक्षाअनुसार न त सरकार, न त राजनीतिक दलहरूले काम गर्नेमा जाँगर चलाए।’
पनौती नगरपालिका–८ मल्पीस्थित सहिद पार्कमा चार सहिदसँगै जनआन्दोलन २०६२/६३ मा सहिद भएका पनौती निवासी सगुन ताम्राकारको सालिक हेरेर भावविह्वल भएका उनका पिता गोविन्द ताम्राकार।
प्रकाशित: १७ जेष्ठ २०७६ ०१:५९ शुक्रबार