१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संसद् भवन निर्माण प्रक्रिया सुरु

काठमाडौं - दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो।

संसद्भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ। सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ। भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ। ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ। ठेकेदार कम्पनी छनोट भएपछि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’, सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने।

नयाँ भवन तीन वर्षमा निर्माण भए भाडामा बस्न थालेको १३ वर्षपछि संसद्बैठक आफ्नै भवनमा बस्नेछ।

संघीय संसद्भवन परिसरमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, साझा कक्ष, अतिविशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस÷छपाइ भवन, सुरक्षाकर्मी भवन र संसद् सचिवालयको प्रशासनिक भवन रहनेछन्। यस्तै सात सय सवारीसाधन पार्किङ गर्न सकिनेछ।

२०६२/६३ को जनआन्दोलनपछि नै नयाँ संसद्भवन आवश्यक देखिएको छ। त्यसअघि सिंहदरबारको ग्यालरी भवनमा संसद्बैठक बस्दै आएको थियो। संविधानसभाको निर्वाचनसँगै २०६५ सालदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभा/संसद् बैठक बस्ने व्यवस्था मिलाइयो। अहिलेसम्म पनि सम्मेलन केन्द्रमै संसद् बैठक बस्दै आएको छ। नयाँ भवन तीन वर्षमा निर्माण भए भाडामा बस्न थालेको १३ वर्षपछि संसद्बैठक आफ्नै भवनमा बस्नेछ।

भवन निर्माण स्थललाई चार क्षेत्रमा विभाजन गरी गुरुयोजना बनाइएको छ। चार क्षेत्रमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत, खुला हरियाली क्षेत्रले ४५ प्रतिशत र बाँकी क्षेत्रफल सडक पूर्वाधार तथा ‘वाटर वडी’ ले ओगट्ने सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ इन्जिनियर प्रकीर्ण तुलाधरले बताए। सहरी विकास मन्त्रालयले संसद् सचिवालय र नेपाली सेनाका अधिकारीसँग बसेर भवनको प्रारुप तयार गरेको थियो। त्यसपछि सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसँग पुस २२ मा छलफलपछि प्रारुपलाई अन्तिम रुप दिइएको हो।

उक्त प्रारुपअनुसार मूल ढोका दक्षिण (अर्थ मन्त्रालय) तर्फ रहनेछ भने सांसद प्रवेशका लागि उत्तर (सिंहदरबार बैद्यखाना) तर्फ नयाँ गेट राखिनेछ। दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशको लागि गेट रहनेछ। अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरेर मात्र यहाँभित्र प्रवेश गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। काठमाडौंको स्थानीय वास्तुकला झल्कनेगरी भवन निर्माण हुनेछ। संसदीय दल, संसदीय समिति र संसद् सचिवालय प्रशासनिक भवन पाँच तलाका हुनेछन् भने अरु सबै भवन तीन तलाको हुने तुलाधरले बताए। दक्षिणी प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठककक्ष र दायाँतर्फ राष्ट्रियसभाको बैठककक्ष हुनेछन्।

प्रतिनिधिसभा बैठक कक्षको भुइँतलामा चार सयजना अट्न हल हुनेछ। यस्तै सभामुखको कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, भिआइपी कक्ष, कमिटी हल पनि रहनेछन्। यस्तै २ सय जना मर्यादापालक सहितका सुरक्षाकर्मी अट्ने ‘सेक्युरिटी रुम’ रहनेछ। राष्ट्रियसभा भवनमा सयजना अट्ने बैठक हल रहनेछ भने विभिन्न प्राविधिक कक्षका साथै राष्ट्रियसभा अध्यक्षको कार्यकक्ष पनि रहनेछ। मुख्य संसद् भवनको दायाँतिर ३ तलाको संसदीय समिति भवन रहनेछ। यस भवनमा संसदीय समितिका विभिन्न कार्यकक्ष, बैठक हल, तालिम हल रहनेछन्। राष्ट्रियसभा भवनको उत्तरतिर विशिष्ट व्यक्तिहरूको कार्यालय भवन राखिएको छ। संसद्भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ३८ करोड रुपैयाँ छुट्याइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App