२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

काभ्रेपलाञ्चोक – मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा मंगलबार कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो।

जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए।

उनले भने, “आरोपितको बयान, सबुत–प्रमाण तथा अनुसन्धान सकिएपछि परिवारका सबैविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यौँ।” उनकानुसार अभियुक्तलाई मुलुकी संहिताको कर्तव्य ज्यान मुद्दाअन्तर्गत जन्मकैदको सजाय हुने प्रावधान छ।

गएको वैशाख १३ गते बिहान १० बजे सरितालाई घरमै घाँटीमा नीलडाम भएको मृतावस्थामा प्रहरीले उनको शव फेला पारेको थियो। सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले घटनाको दिन दिउँसो नै जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीले यही आधारमा सोही दिन परिवारका अन्यलाई गिरफ्तार गरी हिरासतमा घटनाको अनुसन्धान तथा आरोपितको बयान लिएको थियो। सुदीप भने घटनापछि गाउँ छाडेर भाग्ने तरखरमा रहेको अवस्थामा र परिवारका अन्य सदस्यलाई घरबाटै प्रहरीले गिरफ्तार गरेको थियो।

सुदीपले आफूले मात्रै सरिताको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान तथा बयान लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले भने, “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिएपछि गएको साता जिल्ला सरकारी वकिलको कार्यालयमा सोसम्बन्धी अपराध घटना बुझाएका थियौँ।”रासस

प्रहरीको बयानमा सरिताका श्रीमान् सुदीपले घटना भएको दिन बिहान सरिता केही समय बाहिर निस्किएको र घर आएपछि केही विषयमा झगडा परेपछि आफूले सरितालाई कुटपिट गरेको र पछि गुलेलीको रबरले सरिताको घाँटी अठ्याउँदा बाबु पीताम्बर र दाजु केशवले दुवै गोडा समाएको बताएका थिए। घटना भइरहँदा सरिताका सासू गङ्गा र जेठानी सङ्गीता भने मुकदर्शक भएर कुनै प्रतिक्रिया नजनाएको सुदीपले बयानमा भनेको प्रहरीले जनायो।

प्रहरीका अनुसार काठमाण्डौको शिक्षण अस्पतालमा भएको शव परीक्षण रिपोर्टले पनि सरिताको हत्या कोही एकजना व्यक्तिबाट मात्रै नभएको र जोडबलले घाँटीमा कसेर मृत्यु भएको देखाएको थियो। प्रहरीको अनुसन्धानबाट दुलाल परिवारमा घरको सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा पनि समय समयमा विवाद भइरहने गरेको खुलेको छ।

सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्य–तथ्य छानबिनको माग गर्दै आएका थिए। स्थानीयका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए। सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलमा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए।

प्रकाशित: ८ जेष्ठ २०७६ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App