coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टुल्के एक्लैले ठड्याए घर

सिन्धुपाल्चोक - भुइँचालोले भत्काएको घर श्रमिक लगाएर बनाउने धेरै छन्। तर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेका ४० वर्षीय टुल्के श्रेष्ठ भने अपवाद बनेका छन्। न परिवारको बलियो साथ न आर्थिक सबलता, चतुरे टोलका टुल्केले हिम्मत जुटाएर एक्लैले घर ठड्याए। ‘आँट र इच्छाशक्ति हुने हो भने नसकिने केही छैन,’ पुनर्निर्मित घरको छाना छाउँदै गर्दा भेटिएका उनले खुसी हुँदै बताए। टुल्केले तीन महिना लगाएर फराकिला दुई कोठासहितको घर ठड्याएका हुन्।

जगदेखि धुरीसम्म, माटो मुछ्नेदेखि गारो लगाउनेसम्म सबै काम उनी एक्लैले गरे। ढुंगाको सुर काट्नेदेखि झ्यालढोका बनाउने काम पनि आफैंले सिध्याए। ‘एउटा घर बनाउन चाहिने सबै सीप जानेको थिएँ,’ उनले सुनाए, ‘एक्लै खटिएँ, घर ठड्याएँ।’ केही साथीभाइको सहयोग लिएर सुबिस्ताले घर ठड्याउन उनले नचाहेका होइनन्। त्यसका लागि पैसा चाहिन्थ्यो। सरकारी तीन लाख रुपैयाँ अनुदानले घर बनाउन पुग्ने हो कि होइन भन्ने चिन्तामा डुबेका टुल्केले कामदारलाई दिने ज्याला कहाँबाट जुटाउनु ?

मान्छेको जीवन यात्राको कुनै भरोसा छैन। सोच्दै नसोचेको भोग्नुपर्ने। यही तीतो सत्य भोगे टुल्केले पनि। भूकम्पदेखिका चार वर्ष टुल्केको जीवनमा धेरै भुइँचालो निम्तिए। तैपनि सम्हालिनुको विकल्प थिएन। उनले त्यसै गरे।

‘काम थालेपछि जे त होला भनेर एक्लै कस्सिएँ,’ घर ठडिएपछि दंग टुल्केले भने, ‘गर्दै जाँदा हेर्दाहेर्दै घर ठडियो।’ ढुंगा कुँदेर, चार कुना मिलाएर, माटो प्रयोगमा ध्यान दिएर चिटिक्क ‘फिनिसिङ’ निकालिएको टुल्केको घर ढुंगामाटोकै भए पनि आकर्षक छ। एक्लै कसरी घर बनाउन सकें भनेर अहिले टुल्के आफैं चकित छन्।
मान्छेको जीवनयात्राको कुनै भरोसा छैन। सोच्दै नसोचेको भोग्नुपर्ने। यही तीतो सत्य भोगे टुल्केले पनि। भूकम्पदेखिका चार वर्ष टुल्केको जीवनमा धेरै भुइँचालो निम्तिए। तैपनि सम्हालिनुको विकल्प थिएन। उनले त्यसै गरे। भूकम्पअघि उनी फर्निचर उद्योग चलाउँथे। पत्नीले पसल चलाएकी थिइन्। दुईजनाको कमाइले सात सदस्यीय परिवारको पालन पोषण र घरखर्च पुगेकै थियो।

२०७२ वैशाख १२ गतेको भूकम्प टुल्केको जीवनमा दुर्गति बनेर आयो। घर ढाल्यो, व्यवसाय चौपट भयो। भूकम्पमा १३ वर्षका जेठा छोरा गुमाए। अस्थायी टहरोमा बाँकी चार बालबालिकासहित शोकलाई शक्तिमा बदलेर भूकम्पको घाउ भुल्दै थिए उनी। अनुदान सम्झौता गरेर घर बनाउन पहिलो किस्ताको पर्खाइमा थिए। उनले सोचेका थिए, ‘अब राम्रो हुँदै जाला।’
२०७३ कात्तिकमा टुल्केको जीवनमा अर्को भुइँचालो गयो। मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक पार्टीमा लागेर हतियारको राजनीति गरेको आरोपमा उनी पक्राउ परे। संगठित अपराध, राज्यविरुद्धको अपराधलगायत एकैपटक पाँच मुद्दा लगाएर उनलाई डिल्लीबजार कारागार राखियो। दुई महिना प्रहरी हिरासतमा बिताएका उनी थप २५ महिना पुर्पक्षमा कारागार बसे। २७ महिना जेलजीवन बिताइसकेपछि अदालतले उनलाई निर्दोष साबित गर्दै सफाइ दियो। ‘दिन र कानुन एकैपटक लाग्यो,’ भावुक हुँदै टुल्केले विगत सम्झिए, ‘त्यो पार्टीको नाम सुनेको पनि थिइनँ, केको संलग्न हुनु ?’ दिन लागेपछि यस्तै हो भनेर उनले चित्त बुझाए। जेलको दुःखलाई अदालतको फैसलाले ओझेलमा पारिदियो। बिग्रिएको व्यवहार सम्हाल्दै घर बनाउने अठोटका साथ मुहारमा चमक फर्काउँदै गाउँ आइपुग्दा टुल्केको जीवनको घर नै भत्किसकेछ।

२०७५ को कात्तिकमा घर आइपुग्दा उनले अर्को अप्रिय खबर थाहा पाए। तीन महिना अघि नै अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर उनकी पत्नी अर्कैसँग बिहे गरेर अन्यत्रै हिँडिसकिछन्। ‘छाँगाबाट खसेर पातल पुगेझैं भयो,’ उनको गला अवरुद्ध भयो। लगातार विपद् आए, गए पनि। चार छोराछोरी टहरामै थिए। उनीहरूलाई त्यहाँबाट निकालेर पक्की घरमा प्रवेश गराउनु टुल्केको पहिलो चुनौती थियो। उनले त्यसै गरे।
उनीसँग एक पैसा थिएन। सीप भएकाले घर बनाउन उनी एक्लै कस्सिए। भत्केको घर पन्छाए। जमिन खारेर जग खने। तर डिपिसी (भुइँ तहको संरचना) हाल्न सकेनन्। डिपिसी गर्न छड, सिमेन्ट र बालुवा चाहिन्थ्यो। त्यो किन्न उनीसँग पैसा थिएन। डिपिसी नगरी दोस्रो किस्ता आउँदैनथ्यो। टुल्केजस्तैका लागि सघाउन गाउँमा इको र युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत पुनर्निर्माण कार्यक्रम चलिरहेको थियो। संस्थाले एकल, अशक्त, विपन्न र समस्यामा परेका भूकम्प पीडितलाई छड, सिमेन्ट, बालुवालगायत सामग्री किन्न ५० हजार रुपैयाँ अनुदान सहयोग गर्दै आएको थियो। ‘यति पाएपछि मलाई अब घर बनाउन केहीले रोक्ने नै थिएन,’ फिस्स हाँस्दै टुल्के सुनाउँछन्, ‘ढुंगा थोरै मात्र पुग्दैनथ्यो। माटो किन्नुपर्दैनथ्यो। बाँकी काम गर्न मसँग सीप थियो।’

बिहान माटो मुछ्ने उनी दिउँसो गारो लगाउँथे। डिपिसी गरेपछि दोस्रो किस्ताबापत प्राप्त डेढ लाखले उनले अहिलेसम्मको काम गरे। झन्डै सय कामदार लाग्ने काम आफू एक्लैले गरेको उनले बताए। तेस्रो किस्ताको एक लाख माग गर्दै उनले फाराम भरेका छन्। छिट्टै आउने तेस्रो किस्ताले घर प्लास्टर र झ्याल, ढोकाको काम गर्ने उनको योजना छ। बत्ती, पानी र रंगरोगन गर्न मात्र अनुदानले नपुग्ने उनको अनुमान छ। यी सबै काम छिट्टै सक्न उनी हतारिएका छन्। हतारिनुको कारण खुलाउँदै टुल्के भन्छन्, ‘बिनाकारण २७ महिना जेल परें। यस्तोमा क्षतिपूर्ति पाइन्छ भन्ने सुनेको छु। यसका लागि कानुनी प्रक्रियामा निस्कँदै छु।’
भूकम्पले भत्काएको घर ठड्याएपछि छाना छाउँदै टुल्के श्रेष्ठ।
तस्बिर ः ध्रुव÷नागरिक

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App