२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सडक दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडाैँ - धादिङ, बैतडी, उदयपुर र कैलालीमा आइतबार भएका सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ। धादिङ बस दुर्घटनाान नौ, बैतडी जिप दुर्घटनामा तीन, उदयपुर टिपर दुर्घटनामा दुई र कैलालीमा भएका फरकफरक दुर्घटनामा चारजनाको मृत्यु भएको हो। ती दुर्घटनामा २७ जना घाइते भएका छन्।

धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा नौजनाको मृत्यु भएको हो। दुर्घटनास्थलमा ६ जना र उपचारका क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काठमाडौं, चन्द्रागिरि नगरपालिकाका ५१ वर्षीय राजकुमार सुवेदी र ३६ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, ठेगाना खुल्न नसकेका शेखर मगर र प्रकाश श्रेष्ठ छन्। प्रहरीका अनुसार तीनजनाको सनाखत हुन सकेको छैन।

तिव्र गतिको बस त्रिशूलीमा खस्दा नौको मृत्यु
बैतडीमा तीन, उदयपुरमा दुई र कैलालीमा चारको मृत्यु

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना७ख ४३८७ नम्बरको रात्रीबस बिहान ६ बजे सडकबाट ६० मिटर तल रहेको त्रिशूली नदीमा खसेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘दुर्घटनाको खबर पाउनासाथ हाम्रो टोली घटनास्थलतर्फ उद्धारमा खटियो, उद्धारसामग्री कमीका कारण केही ढिलाइ पनि भयो’, उनले भने, ‘घाइतेका अनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको हो।’ उनका अनुसार घाइते २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

चालक परिवर्तन भएको केही मिनेटमै दुर्घटना : घाइते
दुर्घटना हुनुभन्दा केही मिनेटअघि गजुरी आसपासका पेट्रोल पम्पमा तेल हाल्न बस रोकिएको थियो। सोही ठाउँमा चालक पनि परिवर्तन भएको घाइते झापाका फडिन्द्र कार्कीले बताए। ‘तेल हालिसकेपछि बस दुई÷तीन किलोमिटर मात्रै गुडेको थियो’, कार्कीले भने, ‘निद्रा नलागे पनि आँखा चिम्म पारेको थिएँ। एक्सासी गड्याम्म आवाज आयो, यात्रु चिच्याउँदाचिच्याउँदै बस खोलामा पुगिसकेको थियो।’ होसमै भएका कारण चालकको सिटको झ्यालबाट हाम फालेर ज्यान जोगाएको उनले बताए। घाइते छट्पटाइरहेको देखेपछि उनी आफैंले पनि उद्धार गरे। पछि स्थानीय र प्रहरी घटनास्थल पुगे। कार्कीको ढाडमा समस्या देखिएको छ।

अर्का घाइते धादिङ खयरघारीका रामप्रसाद सुवेदीका अनुसार बस केही वरदेखि नै हल्लिँदै गुडिरहेको थियो। ‘पेट्रोलपम्पमा तेल हालेर चालक परिवर्तन भए, त्यसपछि बस पीङ खेलेजस्तै हल्लियो’, उनले भने, ‘म कसरी खोलामा पुगें थाहा छैन।’ चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भएको उनले बताए। त्रिशूलीमा बस खसेको देखेपछि सबैभन्दा पहिले उद्धारका लागि घटनास्थल पुगेका स्थानीय दिलीप तामाङका अनुसार पाखामा अड्किएका घाइते यात्रु चिच्चाइरहेका थिए। ‘बस त्रिशूलीमा थियो भने पाखाभरि घाइते थिए’, उनले भने, ‘गाडीभित्र च्यापिएर चिच्चाइरहेकालाई हामीले उद्धार ग¥यौं, केहीबेरमा प्रहरी आएर उद्धारमा लागे।’

यसैगरी बैतडीको देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन्। बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणि गिरीले बताए। दशरथचन्द नगरपालिका–१०, बाराकोटका ६५ वर्षीय हिराबल्लभ भट्ट, उनका भाइ ५५ वर्षीय लालमणि र सोही ठाउँका अन्दाजी ४५ वर्षीय नरुली भट्टको दुर्घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्ट, कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जिप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन्। घाइतेका अनुसार ब्रेक लगाउँदा जिप चिप्लेर दुर्घटना भएको हो। नागार्जुनस्थित देउताल मन्दिरमा पूजा गर्न गएका उनीहरु दुर्घटनामा परेका हुन्। जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये प्रकाशको अवस्था चिन्ताजनक छ। साँघुरो र कच्ची सडक भएकाले दुर्घटना भएको प्रहरी अनुमान छ।

यसैगरी उदयपुरमा पर्ने लोकमार्गअन्तर्गत कटारी–१४ को घुर्मी खण्डको घुर्मी लामीडाँडामा ना७ख ७००० नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक सिन्धुली दुधौली–११ का २० वर्षीय लिलाबहादुर सार्की र टिपरमा रहेका कटारी–५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको मृत्यु भएको हो। सहचालक सार्की चालक बाबु हर्कबादुरका छोरा भएको बताइएको छ। टिपरमा रहेका तीनजनामध्ये चालक हर्कबहादुर सकुशल रहेको प्रहरीले जनाएको छ।

कैलालीको टीकापुर नगरपालिका–६, बेलुवामा युपी ३१ एस ५१७० भारतीय नम्बरको मोटरसाइकलविपरीत दिशाबाट आइरहेको बा१६च ४७१० नम्बरको जिपमा ठोक्किँदा मोटरसाइकलचालक टीकापुर नगरपालिका–८, बटनपुरका कमल साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते साउदको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै लम्कीचुहा नगरपालिका–८, गप्कामा बसबाट ओर्लने क्रममा लडेर घाइते भएकी २७ वर्षीया रमिता न्यौपानेको मृत्यु भएको लम्कीस्थित ट्राफिक कार्यालयका इन्चार्ज सई नवराज शाहीले जानकारी दिए। जानकी गाउँपालिका–४, मुनुवास्थित झबही पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक कृष्ण बमको नेपालगन्जमा उपचार भइरहेको छ। मोटरसाइकलमा बसेका रामनारायण कठरियाको भने घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै भजनी नगरपालिका–३, कुसुमघाटमा ट्याम्पो पल्टिँदा बर्दियाको गुलरीया नगरपालिका–४, तुल्सीपुरका गेदुवा थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका सई चंखबहादुर कठायतले बताए। (सरिता श्रेष्ठ÷धादिङ, बिरा गडाल÷ बैतडी, महेश्वर चामलिङ राई÷उदयपुर, योगेश रावल÷कैलाली)

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App