१६ चैत्र २०८० शुक्रबार
समाज

भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम

खोटाङ – भूकम्प प्रतिरोधी आवास निर्माणका लागि खोटाङमा एक सय २० जना डकर्मी उत्पादन गरिएको छ। हेल्भेटास नेपाल र मल्टी स्किल तथा इनभायरोमेन्ट डेभलपमेन्ट प्रालि काठमाडौंको साझेदारीमा सञ्चालित पुनर्निर्माणका लागि सीप कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङ नगरपालिकामा ७० जना र रावाबेंसी गाउँपालिकामा ५० जनालाई डकर्मी तालिम दिइएको हो।

भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम (मयांखु), हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (कात्तिके), हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले (महादेवबेंसी), हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा १०÷१० जना सहभागी गराएर ५० दिनको तालिम सञ्चालन गरिएको हो। यस्तै, रावाबेंसी गाउँपालिका–१ कुभिन्डेको हरमटार र दम्कु, रावाबेंसी गाउँपालिका–२ खार्पा, रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानी (भोर्लेनी) र रावाबेंसी गाउँपालिका–६ हौंचुरमा डकर्मी तालिम सञ्चालन गरिएको मल्टी स्किल तथा इनभायरोमेन्ट डेभलपमेन्ट प्रालिका खोटाङ कोअर्डिनेटर केशव पन्थीले बताए।

भूकम्प प्रतिरोधी घर बनाउने लहर चलिरहेका बेला सञ्चालन गरिएको ५०÷५० दिने डकर्मी तालिममा महिलालाई समेत सहभागी गराइएको थियो। हलेसी तुवाचुङ नगरपालिकाको राजापानी र रावाबेंसीको दम्कुमा सञ्चालित डकर्मी तालिम भने हाल जारी रहेको प्रालिले जनाएको छ। भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि दक्ष जनशक्तिको माग बढेकाले डकर्मी तालिम आयोजना गरिएको कोअर्डिनेटर पन्थीले बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App