२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अनसनरत दुई नर्सलाई संक्रमण

काठमाडौं–६ दिनदेखि अनशनरत नर्सहरु डिक्की शेर्पा र जीता बरालको अवस्था गम्भीर बन्दै गएको छ। स्वास्थ्यमा समस्या बढ्दै गएपछि गएपछि उनीहरुको उपचार भइरहेको छ।

उनीहरु धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नर्स तथा अन्य कर्मचारीमाथि प्रक्रिया विपरित निर्णय भएको र कर्मचारीमाथि शोषण भएको भन्दै विरोधमा उत्रिएका हुन्।

नर्सहरुले केन्द्रका पुराना कर्मचारीलाई स्वतः स्थायी गर्नु पर्ने,काम र अनुभव हेरेर बढुवा गर्नु पर्ने,काम गर्दै आएकालाई प्रोत्साहन गर्नु पर्ने,जोखिम भत्ता दिनु पर्ने लगायतका मागहरु अघि सारेका छन्। आफ्नो माग जायज भएको र माग पुरा नभएसम्म अनशन नतोड्ने अडान अनशनरत नर्सहरुले लिएका छन्।

उनीहरु सुरुमा आफ्नो माग लिएर स्वास्थ्य मन्त्रालय तथा नेपाल नर्सिङ संघमा पुगेका थिए। यी दुवै निकायमा सुनुवाइ नभएपछि उनीहरु गत शुक्रवारदेखि आमरण अनशन सुरु गरेका हुन्।

नर्स बराल पोखरा स्थित फिस्टल अस्पतालकी पुर्व नर्स हुन् भने विक्की शेर्पा केन्द्रकी नर्स हुन्। विरामी परेपछि मंगलवार  नर्स बराललाई विपी स्मृति प्रतिष्ठानमा पु-याइएको छ। बराललाई  रुघाखोकी तथा निमोनियाको संक्रमण भएको अस्पतालले जनाएको छ।

छ दिनदेखि खाने कुरा नखाएपछि नर्स शेर्पाको हात–खुट्टाका नसा खुम्चिएर स्लाइन लगाउन नमिलेपछि उनलाई घाँटीमा प्वाल पारी सलाइन लगाउने व्यवस्था गरिएको छ। त्यसै गरी शेर्पालाई पनि संक्रमण,शरिरमा ग्लुकोजको मात्रा घटबढ हुने,रक्तचाप घटबढ हुने जस्ता समस्या देखिएका छन्। नर्स शेर्पा घरमा दुई वटा साना बालबच्चाहरु छोडेर अनशनमा बसेकी हुन्।

नर्सहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्दोलनमा उत्रिएका नर्सहरु नेपाल नर्सिङ सघं र अस्पताल प्रशासनसित आक्रोसित बनेका छन्।

बुधबार नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेललाई लिएर मन्त्रालय पुगेका थिए। मन्त्रालयमै नर्सहरुको माग प्रति उल्टै अध्यक्ष आक्रोसित बनेर फर्केको गुनासो नर्सहरुको छ। ‘हाम्रो समस्या सुनाउने आमा भनेको नेपाल नर्सिङ संघ हो,संघको अध्यक्ष नै  गम्भीर हुनु भएन,हामी कता जाऔं ?’आन्दोलनरत नर्सहरुले नागरिकसँग भने। समाधानको लागि मन्त्रालयसम्म पुगेकी अध्यक्ष पोख्रेलले चित्तबुझ्दो समाधान दिन नसकेको बताए।

 नर्सहरुका अनुसार पोख्रेलले कुल दरवन्दी मध्येमा २० प्रतिशत मात्र अस्पतालले आन्तरिक रुपमा लिने,लिखित परीक्षा लिंदा ७ वर्ष सेवा अवधि पुगेकालाई ७.६ नम्वर बढी दिने विकल्प अघि सारेको बताए। यो निर्णयले लामो समय काम गरेका धेरै नर्स बाहिरिने स्थिति रहेको बताए। नर्स बाहेक अन्य कर्मचारीको लागि दरवन्दी नखुलाउनाले आफन्त नाता–गोता कर्मचारीलाई भने यथावत काममा राख्ने स्थिति देखिएको उनीहरुले गुनासो गरे। पीडित नर्ससित उल्टै रिसाएर अध्यक्ष पोख्रेल भागेको उनीहरुको गुनासो छ। यस बिषयमा संघकी अध्यक्ष पोख्रेलसित पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित: २ जेष्ठ २०७६ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App