५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ढल्किँदो उमेरमा कखरा सिक्दै आमाहरू

ढल्किँदो उमेरमा कखरा सिक्दै छायानाथ रारा नगरपालिका ३ तिरुवाडाका आमाहरू।

मुगु - बिहान ८ बजे घरको काम धन्दा सकेर गाउँमा सञ्चालित निरन्तर शिक्षा कक्षामा आउनु  र कखरा सिक्नु छायानाथ रारा नगरपालिका वडा नम्बर २ तलि तुमकी ५५ वर्र्षीया अजकति तिरुवाको दैनिकी बनेको छ।

अजकति मात्रै हैनन् उनी जस्तै २० जनाभन्दा बढी वृद्धवृद्धा हिजोआज गाउँमा सञ्चालित ‘निरन्तर शिक्षा कार्यक्रम’अन्तर्गत अनौपचारिक शिक्षाको कक्षामा पढ्न आउछन्। नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा शाखाअन्तर्गत नगरपालिकाको वडा नम्बर २ को तलितुमस्थित तिरुवामा श्रीनगर सामुदायिक सिकाइ अध्ययन केन्द्र चलिरहेको छ।

१८ देखि ६० वर्षसम्मका निरक्षर महिला पुरुष तथा विद्यालय भर्ना भएका छन्। यस कार्यक्रमअन्तर्गत गत शैक्षिक सत्रमा यस गाउँका  १५ जना पूर्ण साक्षर बनेका थिए। उमेरले ६० नाघेकी होइजु तिरुवा पनि निरन्तर पढ्न आउँछिन्। उनीजस्ता २० भन्दा बढी त्यहाँ कखरा सिकिरहेका छन्। ‘पहिले बा आमाले गाईबस्तु, घाँसपातमा पठाए, छोरीले पढ्नु हुन्न घरधन्दा गर्नुपर्छ भने, पढ्न पाएनौं,’ तिरुवाले भनिन्, ‘पहिले पढ्न नपाए पनि बुढेसकालमा आफनो नाम लेख्नेसम्म भएका छौं, खुसी लागेको छ।

‘विद्यालय जाने उमेरमा गोडमेल गर्न गयौं, घरमा आमाबुबाले छोरीले कामकाज सिक्ने हो, छोराले पढ्ने हो भने अहिले यो उमेरमा कख... सिक्नुपरेको छ’, २९ वर्षीया नानकली तिरुवाले भनिन्।

साविकको श्रीनगर गाविस हालको छायानाथ रारा नगरपालिका १,२, र ३ मा कुल जनसंख्या ३ हजार ३ सय ९२ छ। जसमध्ये निरक्षर जनसंख्या ५ सय ७५ छ। गएको वर्ष तीन वटै वडामा ९ वटा कक्षा सञ्चालन गरी ९० जनालाई साक्षर बनाइएकोमा यो वर्ष १३ वटा कक्षा सञ्चालन गरी १ सय ३० जनालाई साक्षर बनाउने लक्ष्य राखिएको श्रीनगर सामुदायिक सिकाइ अध्ययन केन्द्रका अध्यक्ष नवराज चौलागाईले जानकारी दिए।

विद्यालय जाने उमेर समूहका बालबालिका, ६० वर्ष उमेर ननाघेका निरक्षर व्यक्तिलाई साक्षर बनाउने सरकारको लक्ष्यअनुसार निरन्तर कक्षा सञ्चालन भई रहेको उनले बताए।

 

प्रकाशित: २० वैशाख २०७६ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App